यति ब्रुअरीले ६ महिनामा गऱ्यो सवा ४ अर्बको व्यापार, अर्नाको हिस्सा ३६ प्रतिशत

133
Shares

काठमाडौं । यति ब्रुअरीले ६ महिनामा करिब सवा ४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालुआर्थिक वर्षको ६ महिनाको अवधिमा ४ अर्ब २० करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गत आवमा ७ अर्ब ८७ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ६ अर्ब ७१ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ६७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको गत आवमा १७ प्रतिशत व्यापार बढेको थियो । कम्पनीका अनुसार गत आवमा व्यापार गरेकोमा ‘अर्ना ८’ बाट मात्रै ६३ प्रतिशत व्यापार भएको उल्लेख छ । जसमा उक्त ‘अर्ना ८’ २५ प्रतिशतले बढी परिमाणमा बिक्री भएको थियो । त्यस्तै, चालुआवको ६ महिनाको अवधिमा पनि गत आवअनुसार नै व्यापार भइरहेको जनाएको छ ।

कम्पनीले चालुआवको ६ महिनाको अवधिमा ५.८३ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीले गत आवमा ३.९९ प्रतिशत खुद नाफा कमाएको थियो । साथै, सन् २०२४ मा १.५९ प्रतिशत खुद नाफा कमाएको थियो । कम्पनीको कुल नगद सञ्चय ४७ करोड रुपैयाँ पुगेको छ ।

विशाल ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले अर्ना, यति, शिखर, वाइबी र किङफिसरजस्ता ब्रान्डका मदिरा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको मदिरा नेपालमा मात्रै नभएर भारत, जापान, अष्ट्रेलिया र अमेरिकामा पनि निर्यात गर्दै आएको छ । सन् २०१३ मा स्थापना भएको बियर कम्पनीले सन् २०१७ देखि व्यावसायिक कारोबार सुरु गरेको थियो ।

कम्पनी सन् २०२२ को मेमा पब्लिक कम्पनीको रूपमा परिणत भएको थियो । कम्पनीले सुरुमा वार्षिक १ करोड ३० लाख लिटर मदिरा उत्पादन क्षमतामा उद्योग सञ्चालनमा ल्याएको थियो । जुन अहिले क्षमता विस्तार गरी वार्षिक ४ करोड ३० लाख लिटर उत्पादन क्षमता पुगेको छ ।

सञ्जीव सराफको ३३.३३ प्रतिशत, जयजीव सराफको ११.६६ प्रतिशत र विशाल अग्रवालको ६.८६ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १९ करोड ४४ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ९५ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको हो ।

Skip This