
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताएका छन् । नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले हाल बैंकहरूसँग करिब ७७ खर्ब रुपैयाँ निक्षेप संकलन गरी ५८ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको बताए ।
पछिल्लो समय कर्जा प्रवाहको वृद्धिदर बढ्न नसकेको उनले बताए । बैंकिङ क्षेत्रका लागि चुनौतीपूर्ण समय रहेको उनले बताए । कर्जा असुलीका लागि जाने क्रममा बैंकका कर्मचारीहरूले विभिन्न धम्की र दबाब सामना गर्नुपरेको अध्यक्ष कोइरालाले बताए ।
‘बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरु पनि छन् । ऋण उठाउन जाने क्रममा धेरै प्रकारका जोखिमहरु छन्,’ उनले भने, ‘कुनै भीडले बैंकको पैसा तिर्नु पदैन भन्ने कुरा आयो भने यसले समग्र अर्थतन्त्रलाई असर पार्छ । पैसा तिर्नुपर्दैन भनेर भाष्य बन्ने र कर्मचारीलाई विभिन्न प्रकारका जोखिमहरु कालोमोसो दल्ने, जुत्ता माला लगाउने जस्ता गतिविधि देखेका छौं । यस्ता गतिविधिले भविष्यमा हाम्रो अर्थतन्त्रलाई राम्रो गर्दैन ।’
ऋण तिर्नु पर्दैन जस्ता भाष्य बनाउन खोजिएको बताउँदै यस्ता गतिविधि र गलत सन्देश फैलिन थालेमा भविष्यमा नेपालको अर्थतन्त्रका लागि राम्रो संकेत नहुने उनले बताए ।







प्रतिक्रिया