जेनजी आन्दोलनका क्रममा हायात होटल तोडफोड र क्यासिनोमा लुटपाटमा संलग्न २ जना पक्राउ


काठमाडौं । बौद्धस्थित हायात होटल तोडफोड गरी होटलभित्र रहेको प्राइड क्यासिनोमा लुटपाट तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २४ गते काठमाडौं महानगरपालिका–६ बौद्धस्थित हायात होटल तोडफोड गरी होटलभित्र रहेको प्राइड क्यासिनोमा लुटपाट तथा आगजनी गरिएको घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय कुलछन लामा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय ‘कोरियन’ भनिने रोकेश लामा रहेका छन् ।

प्रहरीका अनुसार कुलछन लामाविरुद्ध यसअघि विभिन्न मितिमा सार्वजनिक अपराध तथा ज्यान मार्ने उद्योगसम्बन्धी ५ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै ‘कोरियन’ भनिने रोकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक तथा अभद्र व्यवहारसम्बन्धी ७ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।