दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ, मिति छिट्टै तोकिनेछ: खेलकुद मन्त्री पोखरेल


काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशमा निर्माणाधीन प्रदेश रङ्गशालाको स्थलगत अनुगमन गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको अवस्था बुझ्न मन्त्री पोखरेल सुर्खेत पुगेका हुन् ।

अनुगमनका क्रममा मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रतियोगिताको औपचारिक मिति सरकारले छिट्टै घोषणा गर्ने योजना बनाएको समेत जानकारी दिए ।

निरीक्षणका क्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले मन्त्री पोखरेललाई रङ्गशाला निर्माणको हालको प्रगति, भौतिक पूर्वाधारको अवस्था र तयारीका क्रममा देखिएका चुनौतीहरूका बारेमा विस्तृत जानकारी गराएका थिए । रङ्गशालाको अवलोकनपछि बोल्दै मन्त्री पोखरेलले कर्णाली प्रदेशमा खेलकुदका भौतिक संरचनाको अभाव रहेको स्वीकार गरे । उनले भने, ‘कर्णालीको खेलकुद विकासमा भौतिक पूर्वाधारको केही कमी देखिएको छ, यसलाई पूर्णता दिन र सुदृढ बनाउन सरकारले विशेष प्राथमिकता र ध्यान दिनेछ ।’

कर्णालीले पहिलो पटक राष्ट्रिय खेलकुद जस्तो गरिमामय प्रतियोगिता आयोजना गर्ने अवसर पाएकाले यसलाई सफल बनाउन केन्द्र र प्रदेश सरकारबीच समन्वयकारी भूमिका रहने मन्त्री पोखरेलको भनाइ थियो ।