क्षमता विस्तार गर्दै नक्सालको होलिडे इन एक्स्प्रेस, ६ महिनामा साढे ९ करोड रुपैयाँको व्यापार

126
Shares

काठमाडौं । नक्सालमा अवस्थित होलिडे इन एक्स्प्रेसले ६ महिनामा साढे ९ करोड रुपैयाँको व्यापार गरेको छ । स्वर्णीम बुटिक होटल लिमिटेडका यो होटलको व्यापार केही कम भएको हो ।

होटलले सन् २०२५ मा २३ करोड २० लाख रुपैयाँ र सन् २०२४ मा ८ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनाको व्यापार ९ करोड ६० लाख रुपैयाँका आधारमा वार्षिक व्यापार गत आवको भन्दा केही कम हुने देखिन्छ । स्वर्णीम बुटिक होटल आईपीओ निष्काशनको क्रममा छ । सन् २०१२ मा स्थापना भएको स्वर्णीम बुटिक होटल सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले होटल चलाउन इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईजीएच)सँग व्यवस्थापन सम्झौता गरेको छ । हाल होटल ‘होटल होलिडे इन एक्सप्रेस’को नाममा सञ्चालित छ ।

कम्पनीले होटलको क्षमता विस्तार गर्ने तयारी गरेको छ । कम्पनीले ६८ करोड रुपैयाँ लगानीमा होटलको प्रोपर्टी बढाउने भएको हो । हाल क्षमता विस्तारको कार्य पहिलो चरणमा रहेको जनाएको छ । होटलमा एक सय वटा कोठाको सुविधा छ । जसमा ९९ वटा डिलक्स कोठा र एक सुइट कोठा छन् । नक्सालमा रहेको होटलले सन् २०२३ को अन्त्यबाट व्यवसायिक कारोबार सुरु गरेको थियो ।

होटलको गत आवमा औसत ६९ प्रतिशत अकुपेन्सी थियो । चालु आवको मंसिरसम्ममा अकुपेन्सी ६३ प्रतिशतमा झरेको छ । कम्पनीमा सात जना बोर्ड सदस्य छन् । जसको नेतृत्व नरेशलाल श्रेष्ठले गरिरहेका छन् । कम्पनीमा नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको २०.५२ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको मुख्य सेयरधनी नेपाल लाइफ इन्भेस्टमेन्ट नै हो ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ९९ करोड २६ लाख रुपैयाँको रेटिङ गराएको छ । सन् २०२४ मा ५३ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेकोमा गत आवमा १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।