
काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर विसर्जन पुनः अवरुद्ध भएको छ ।
बञ्चरेडाँडा आसपासका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिएको बताएका छन् ।
स्थानीयका अनुसार, पुराना सहमति कार्यान्वयन नभएसम्म फोहर विसर्जन गर्न नदिने अडान लिँदै काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको हो। स्थानीय निरञ्जन सञ्जेलले पटक–पटक भएको सहमति कार्यान्वयन नभएकाले आफूहरू समस्यामा परेको बताए ।
‘बारम्बार उधारो सहमति मात्रै हुने गरेको छ। हाम्रा माग पूरा नभएसम्म अवरोध जारी रहन्छ,’ उनले भने ।
यसअघि गत कात्तिक १६ गते कुलमान घिसिङ सहरी विकासमन्त्री हुँदा विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि केही समयका लागि फोहर विसर्जनको अवरोध हटेको थियो ।
हाल नुवाकोटको ककनी गाउँपालिकाका वडा १, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिकाका वडा १, ३ र ४ का प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यतर्फ जान दिएका छैनन्।
ककनी, बेलकोटगढी नगरपालिका र धुनीबेँसीका स्थानीय जनप्रतिनिधि तथा दलका नेताहरूले पनि आन्दोलनरत स्थानीयलाई साथ दिएका छन् ।







प्रतिक्रिया