
इलाम । प्रतिनिधिसभा निर्वाचन–२०८२ मा इलाम क्षेत्र नं. २ बाट निर्वाचित नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतदाताहरूको विश्वासलाई ‘ऋण’ को रूपमा स्वीकार गर्दै त्यसलाई विकास र समृद्धिमार्फत चुक्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन परिणाम घोषणा भएलगत्तै एक सन्देश जारी गर्दै उनले आफ्नो जितलाई इलामेली जनताको साझा जितको रूपमा व्याख्या गरेका हुन् ।
नेम्वाङले इलामेलीले देखाएको अगाध माया र अटुट भरोसालाई मतमा परिणत गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले भनेका छन्, ‘तपाईंहरूले दिनुभएको यो अमूल्य मत इलामको समृद्धि र भावी सन्ततिका लागि गरिएको महान् लगानी हो । म पूर्ण इमान र निष्ठाका साथ अहोरात्र तपाईंहरूकै सेवामा समर्पित भइरहनेछु । मेरो कुनै पनि कार्यले मतदाताको शिर झुक्न दिने छैन ।’
पुर्खा र पिताको विरासतको सम्मान
नेम्वाङले पञ्चायती व्यवस्थाविरुद्ध लड्ने शहीदहरू रत्नकुमार वान्तवा र बमप्रसाद वान्तवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्ना पिता एवं संविधानसभाका अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको योगदानलाई स्मरण गरेका छन् । उनले आफ्ना अग्रजहरूले देखाएको बाटो र उज्यालोमा हिँड्ने प्रण समेत गरेका छन् ।
प्रतिस्पर्धीका एजेन्डालाई साझा संकल्प बनाउने घोषणा
लोकतान्त्रिक अभ्यासमा आफूसँगै प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूलाई सुखद राजनीतिक भविष्यको शुभकामना दिँदै नेम्वाङले एउटा उच्च राजनीतिक संस्कार प्रस्तुत गरेका छन् । चुनावी मैदानमा अन्य दलका उम्मेदवारहरूले राखेका प्रतिबद्धता र मुद्दाहरूलाई अब आफूले साझा संकल्पको रूपमा संसद र सिंहदरबारमा बुलन्द गर्ने उनले बताए ।
देशभरको चुनावी परिणाम र पार्टीमाथि उठिरहेका प्रश्नहरूप्रति सचेत रहँदै नेम्वाङले एमालेका कार्यकर्ताहरूलाई विचलित नहुन आग्रह गरेका छन् । नयाँ पुस्ताले खोजिरहेको परिवर्तन र रूपान्तरणलाई आफूले नजिकबाट बुझेको उल्लेख गर्दै उनले भनेका छन्, ‘हाम्रा नीति, संगठन र कार्यशैलीमा रहेका त्रुटिहरूलाई परिमार्जन गर्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउनुको विकल्प छैन । हामी फेरि उठ्नेछौं ।’
निर्वाचन सफल पार्न खटिने कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी र प्रवासमा रहेर सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि उनले आभार प्रकट गरेका छन् । फाकफोकथुमदेखि चुलाचुलीसम्मका मतदाताको स्नेहले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै उनले विश्राम नगरी जनसेवामा लाग्ने वाचा गरेका छन् ।








प्रतिक्रिया