सम्पूर्ण अपडेट

१२ पल्ट मन्त्री बनेका गच्छदारविरूद्ध रास्वपाका चौधरी भारी मतान्तरले विजयी

140
Shares

विराटनगर । १२ पटक मन्त्री बनेका नेपाली कांग्रेसका विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं. ३ मा रास्वपाका अशोक चौधरीसँग भारी मतान्तरले पराजित भएका छन् । उनी रास्वपाका चौधरीसँग २६ हजार ९२० मतले पछि परे ।

चौधरीले ४७ हजार ४२१ मत ल्याउँदा गच्छदार २० हजार ५०१ मतमा रोकिए । यहाँ निवर्तमान सांसद एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत ल्याइन् ।

२०४८ यता १२ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्री बनेका कांग्रेसका गच्छदार २०४८ सालदेखि २०७९ बाहेकका सबै निर्वाचनमा जित निकाल्दै आएका चतुर राजनीतिक खेलाडी हुन् । यसपालिको चुनावी प्रतिस्पर्धालाई उनले आफ्नो अन्तिम भनेका थिए ।

२०७९ मा भने गच्छदार एमालेकी भगवती चौधरीसँग ५ हजार १८८ मतान्तरले पराजित भएका थिए । त्यसबेला चौधरीले ४० हजार ७८८ मत ल्याउँदा गच्छदारले ३५ हजार ६०० मत पाएका थिए । उक्त निर्वाचनमा रास्वपाका कमलबाबु मैनालीले ६ हजार ४५३ मत पाएका थिए ।