सम्पूर्ण अपडेट

समानुपातिकमा रास्वपालाई ५७% मत, ६१ हजार गन्दा पायो ३५ हजार भोट

392
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमा निकै ठूलो अग्रता लिएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको पछिल्लो एकीकृत विवरण अनुसार रास्वपा अन्य स्थापित दलहरूभन्दा निकै अगाडि देखिएको छ ।

हालसम्म कूल ६१ हजार ३१९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार ०९१ मत प्राप्त गरेको छ । रास्वपाको मत कुल मतको ५७.२३ प्रतिशत हो । सहरी र युवा मतदाताको आकर्षणले गर्दा रास्वपाले समानुपातिकमा सानदार सुरुवात गरेको देखिएको छ । हाल बागमती प्रदेशमा समानुपातिक मत गणना भइरहेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० हजार ५२७ मत प्राप्त गरेको छ । यस्तै, तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ५ हजार १९१ मत पाएको छ । एमाले र कांग्रेसको मत जोड्दा पनि रास्वपाको मतभन्दा निकै कम रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४ हजार ५२५ मतका साथ चौथो स्थानमा रहेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (तारा चिन्ह) ले १ हजार ९११ मत प्राप्त गरेको छ ।

श्रम संस्कृति पार्टीले पनि समानुपातिकमा आफ्नो उपस्थिति देखाएको छ । उसले हालसम्म १ हजार ४०१ मत प्राप्त गरेको छ ।

यो विवरण देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्ट गरिएको प्रारम्भिक नतिजा हो । सुरुवाती रुझानले समानुपातिकमा रास्वपा निकै बलियो शक्तिका रूपमा उदय हुने संकेत गरेको छ ।