सम्पूर्ण अपडेट

गुल्मी–१ मा हार स्वीकार्दै प्रदीपले दिए सागरलाई बधाई, भने- अप्ठ्यारा दिनहरू पनि बितेर जानेछन्

700
Shares

गुल्मी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी–१ को मतगणना अन्तिम चरणतिर पुग्दा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले पराजय स्वीकार गर्दै प्रतिस्पर्धी रास्वपा उम्मेदवार सागर ढकाललाई बधाई दिएका छन् ।

ज्ञवालीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विजयोन्मुख ढकाल र राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रिम बधाई दिएका हुन्।

उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेलेको भन्दै मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा कर्मचारीलाई धन्यवाद पनि दिएका छन्। साथै निर्वाचनमा अहोरात्र खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति माया र सम्मान व्यक्त गरेका छन्।

ज्ञवालीले आफूले यस्तो परिणामको अपेक्षा नगरेको उल्लेख गर्दै लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुने भएकाले जनादेशलाई सम्मान गर्ने बताएका छन् ।

उनले गुल्मीको विकास र जिल्लावासीको सुखदुःखमा आफू सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै ‘यी अप्ठ्यारा दिनहरू पनि बितेर जानेछन्’ भनेका छन्।

सन्देशको अन्त्यमा उनले ‘भवतु सब्ब मङ्गलम्’ भन्दै सबैका लागि शुभकामना व्यक्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार रास्वपा उम्मेदवार सागर ढकालले २० हजार ८६० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार प्रदीप ज्ञवालीले ११ हजार ६४६ मत पाएका छन् ।