सम्पूर्ण अपडेट

रञ्जु दर्शनाले जितेको काठमाडौं १ मा एमाले उम्मेदवारसहित २६ जनाको जमानत जफत

735
Shares

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम परिणाम अनुसार काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने भारी मतान्तरले विजयी भएकी छन् । चुनावी नतिजा सार्वजनिक भएसँगै यस क्षेत्रमा प्रतिस्पर्धा गर्ने अधिकांश उम्मेदवारहरूको जमानत जफत भएको छ।

कूल २९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको यस क्षेत्रमा विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् । बाँकी २६ जना उम्मेदवारले कानुनी प्रावधान अनुसारको न्यूनतम मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको हो ।

निर्वाचन ऐनअनुसार, ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीमा कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। यस क्षेत्रमा कूल २९ हजार ८२ सदर मत खसेको थियो। जसअनुसार धरौटी जोगाउन कम्तीमा २ हजार ९०८ मत ल्याउनु पर्ने हुन्थ्यो ।

को-को सफल, को-को असफल?
धरौटी जोगाउन सफल हुने तीन उम्मेदवारहरू:
१. रञ्जु न्यौपाने (रास्वपा): १५,४५५ मत (विजयी)
२. प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस): ६,३६४ मत
३. रवीन्द्र मिश्र (राप्रपा): ३,९७२ मत

एमालेको जमानत जफत

यस निर्वाचनमा नेकपा (एमाले) जस्तो ठूलो दलका उम्मेदवार मोहन राज रेग्मीको समेत जमानत जफत हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले जम्मा १,६१८ मत मात्र प्राप्त गरे । ऐतिहासिक रूपमा जननेता मदन भण्डारी र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधित्व गरेको यस क्षेत्रमा एमालेले आफ्नो जमानत समेत जोगाउन सकेन ।

त्यस्तै, उज्यालो नेपाल पार्टीका मंग लाल श्रेष्ठ (४६६ मत), श्रम संस्कृति पार्टीका समिर लामा तामाङ (४२६ मत) र नेपाली कम्युनिष्ट पार्टीकी मेनुका भण्डारी (३४५ मत) सहित अन्य दलीय उम्मेदवारहरू पनि ‘थ्रेसहोल्ड’ कटाउन असफल भए।

नतिजा अनुसार १४ जना स्वतन्त्र उम्मेदवारहरूको पनि जमानत जफत भएको छ। कतिपय उम्मेदवारको अवस्था त निकै कमजोर देखियो। नेपाल जनसेवा पार्टीका अर्जुन बहादुर शाहीले शून्य मत प्राप्त गरे भने अन्य केही उम्मेदवारले १ र २ मत मात्र प्राप्त गरी आफ्नो धरौटी गुमाएका छन्।

निर्वाचन कार्यालयका अनुसार जमानत जफत भएका २६ जना उम्मेदवारले मनोनयनका क्रममा दाखिल गरेको धरौटी रकम अब राज्यकोषमा दाखिल हुनेछ।