सवारी असुविधाले चुनावको दिन आन्तिरक उडान ठप्प हुँदै

खाडीको एयर स्पेस बन्दले अन्तर्राष्ट्रियको चाप समेत कम हुने

126
Shares

काठमाडौं । सवारी साधानको असुविधाका कारण चुनावको दिन (विहीबार) आन्तरिक हवाई उडान नहुने भएको छ । निर्वाचन आयोगले आन्तरिक वायुसेवालाई उडान गर्न अनुमति दिएको भएपनि यात्रुलाई विमानस्थल जान आउन सवारी साधानको असुविधा हुने भएकोले उक्त दिन उडान नगर्ने निर्णय आन्तरिक वायुसेवा कम्पनीहरुले गरेका छन् ।

आन्तरिक उडानको वायुसेवा कम्पनी यती एयरलाइन्सले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनका हुने भएकोले सो दिनका लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।

यतीले सूचना जारी गरेरै चुनावका दिन उडान नहुने जानकारी दिएको हो । निर्वाचन आयोगले भने यसपटक आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ ।

आयोगले उडान गर्न दिने भनेपनि सो दिन यात्रुलाई विमानस्थल पुग्न र विमानस्थलबाट फर्कन सवारी साधानको समस्या हुने हुँदा उडान गर्दा यात्रुलाई दुःखमात्रै हुने भन्दै बुध्द एयरले सो दिन सेवा बन्न गर्ने भएको छ ।

बुध्दले पनि सार्वजनिक सूचना जारी गरेर चुनावको दिन उडान नगर्ने गरी तयारी गरेको छ । बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार चुनावको दिन निजीदेखि सार्वजनिक सवारी चल्दैनन् । सवारी साधान नचल्ने हुँदा सो दिन यात्रु भएपनि उडान गर्न असहज हुने निष्कर्ष निकालिएको छ ।

विगतका चुनावका दिनमा पनि अन्तर्राष्ट्रिय उडान हुने र त्यसमा आउने जाने यात्रुलाई नेपाल पर्यटन बोर्डले सटल बसमार्फत सेवा दिने गरेको थियो । यसपटक पनि अन्तर्राष्ट्रिय उडानका यात्रुलाई भने पर्यटन बोर्डले सटल बस चलाउने भएको छ । विगतमा जस्तै यसपटक पनि अन्तर्राष्ट्रिय उडान हुने भएपनि आन्तरिक भने ठप्प हुने छ ।

आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सका अनुसार चुनावको दिन उडान खुला गर्दा व्यवहारिक समस्या हुनुका साथै जहाजमा यात्रुको चाप पनि न्यून हुने भएकोले सो दिन उडान गर्न नसकिने बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार निर्वाचन आयोगले यसपटक हवाई उडान गर्न दिएकोले आन्तरिक विमानस्थल भने यो चुनावको दिन खुला हुन्छ ।

उनले भने ‘उडान गर्न चाहने वायुसेवालाई सुविधा दिन्छौ । अन्तर्राष्ट्रिय उडान भने यो पटक मध्यपूर्वी क्षेत्र अर्थात खाडीको एयर स्पेस बन्द भएको छ ।’ पछिल्लो तीन दिनदेखिको प्रभावित भइरहेको उडानका कारण दुई दिनपछिको चुनावमा पनि अन्तर्राष्ट्रियतर्फको चाप भने कम हुने पनि बस्नेतले जानकारी दिए ।