
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन दिन नेपाल पर्यटकका लागि सुरक्षित, खुला र स्वागतयोग्य रहने नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जानकारी दिएको छ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटक, टुर अपरेटर, एयरलाइन्स, होटल तथा ट्राभल ट्रेडसँग आबद्ध सबै सरोकारवालालाई लक्षित गर्दै निर्वाचन अवधिमा लागू हुने यात्रा व्यवस्था (ट्राभल एडभाइजरी) सार्वजनिक गरेको छ।
बोर्डका अनुसार निर्वाचनका बेला नेपाल सुरक्षित र व्यवस्थित रहोस् भन्ने उद्देश्यले सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको छ।
बोर्डका अनुसार निर्वाचन अवधिभर अन्तर्राष्ट्रिय उडानहरू नियमित रूपमा सञ्चालन हुनेछन्। तर, निर्वाचन हुने दिन मार्च ५ मा भने देशभित्रका आन्तरिक उडान एक दिनका लागि बन्द रहनेछन । चुनावको भोलिपल्टबाट पुनः आन्तरिक उडान सञ्चालन हुने छ। सरकारी निर्णयअनुसार निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सबै स्थल सीमा नाका बन्द रहने पनि जानकारी दिइएको छ।
निर्वाचनकै दिन अन्तर्राष्ट्रिय पर्यटकलाई सहज आवागमन गराउन काठमाडौं उपत्यकामा नेपाल पर्यटन बोर्डले शटल सेवा सञ्चालन गर्ने जनाएको छ। दर्ता भएका पर्यटक सवारी साधनलाई यात्रा अनुमति दिन जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरण गरिनेछ।
देशभरका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा प्रमुख ऐतिहासिक तथा पर्यटकीय स्थलहरू नियमित रूपमा खुला रहने बोर्डले स्पष्ट पारेको छ।
पर्यटकहरूलाई निर्वाचन आसपासको समयमा विशेषगरी आन्तरिक उडान प्रयोग गर्ने भए समयमै यात्रा योजना बनाउन, होटल, एयरलाइन्स तथा टुर अपरेटरसँग नियमित सम्पर्कमा रहन बोर्डले आग्रह गरेको छ। यात्रा गर्दा पहिचानपत्र र हवाई टिकट साथमा राख्न तथा आवश्यक परेमा पर्यटन प्रहरीसँग तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
पर्यटकलाइई कुनै असहजता परेमा पर्यटन प्रहरीसँगको ह्वाट्सएपमार्फत +९७७ ९८५१२८९४४५ तथा [email protected] मा सम्पर्क गर्न सकिनेछ। पछिल्लो यात्रा सूचना र अपडेटका लागि nepalnow.travel वेबसाइट हेर्न बोर्डले आग्रह गरेको छ।








प्रतिक्रिया