सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा विशेष छुट, सेवा अन्य ६ सहरमा पनि विस्तार

70
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुडगाउँस्थित मेदान्त–द मेडिसिटी अस्पतालबीच बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा सहुलियत दिने सम्बन्धी समझदारीपत्रमा नवीकरण तथा सेवा विस्तार भएको छ ।

नयाँ समझदारी अनुसार अब सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले मेदान्त अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यसअघि यो सुविधा मेदान्तको गुडगाउँस्थित अस्पतालमा मात्र उपलब्ध रहेकोमा, अब यो दायरा फराकिलो बनाइएको छ ।

बैंक र अस्पतालबीच भएको नयाँ सम्झौतासँगै अब गुडगाउँका साथै भारतका अन्य विभिन्न सहरमा रहेका मेदान्तका शाखाहरूबाट पनि नेपाली ग्राहकले छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार मेदान्त नोएडा, मेदान्त सुपर स्पेशलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्त सुपर स्पेशलिटी अस्पताल, पटना, मेदान्त सुपर स्पेशलिटी अस्पताल, इन्दौर, मेदान्त अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची, मेदान्त अस्पताल, राँचीका साथै ५ वटा मेदान्त मेडिक्लिनिकहरूमा यो सुविधा पाइनेछ ।

उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरे । यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने नेपाली नागरिकहरूलाई सरल र सुलभ तरिकाले उपचार प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधिबाट सम्मानित सिटिजन्स बैंकले पछिल्लो समय प्रविधिमैत्री र आधुनिक बैंकिङ सेवामा आफूलाई अब्बल सावित गर्दै आएको छ । बैंकले हालै नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल कार्ड) सञ्चालनमा ल्याएको छ ।

त्यस्तै, युवाहरूका लागि ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ र एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालन गरिरहेको छ । मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधाका साथै अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको काउन्टरबाट क्यूआर स्क्यान गरी नगद झिक्न मिल्ने ‘क्रस बैंक टेलर’ सुविधासमेत बैंकले प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकले हाल देशैभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।