
आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा उनको व्यक्तिगत सम्पत्ति सुरक्षित रहे पनि समग्र बजार र आपूर्ति शृंखलामा परेको धक्काले व्यवसायिक आत्मविश्वासलाई नराम्ररी खस्किएको बताउँछन् । सोक्रममा भौतिक क्षतिभन्दा पनि उद्यमीहरूले भोगेको ‘मनोवैज्ञानिक क्षति’ भयावह रहेको उनको बझाइ छ । निजी क्षेत्रलाई हेर्ने समाजको नकारात्मक दृष्टिकोण र प्रदर्शनका नाममा हुने तोडफोडले लगानीकर्तालाई विक्षिप्त बनाएको हो । सरकार निर्वाचनको तयारीमा केन्द्रित हुँदा सुरक्षा र राहतका काम प्रभावकारी हुन नसकेको बताउँदै उनले अब सञ्चारमाध्यम र सरकारले निजी क्षेत्रप्रतिको धारणा बदल्न सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?
सातवटा प्रदेशमध्ये पाँचवटा प्रदेशमा मेरो व्यापार व्यवसाय चलिरहेको छ । आईएमएस ग्रुप प्रालिको व्यापार देशभरि फैलिएको छ । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा धेरै उद्योग तथा व्यवसायमा आक्रमण भयो । सो क्रममा ठूलो धनजनको क्षति पनि भयो । प्रदर्शनमा मेरो निजी सम्पत्तिमा क्षति पुगेको थिएन । तर, प्रदर्शनले बजार प्रभावित हुँदा व्यापारमा धक्का पुगेको छ ।
प्रदर्शनले बजार प्रभावित भई आपूर्ति शृंखलामा पनि असर पुग्यो । यसले आगामी दिनमा पनि प्रभाव पार्ने देखिन्छ । भोतिक रूपमा क्षति नभए पनि व्यापारभन्दा ठूलो मनोवैज्ञानिक क्षति भएको छ ।
जेनजी आन्दोलनका कारण लगानीको वातावरण कमजोर भएको जस्तो लाग्छ ?
जेनजी प्रदर्शनले मेरो मात्रै नभएर अधिकांश व्यवसायी तथा उद्योगीको मनोबलमा ठूलो असर पुगेको छ । प्रदर्शनले ठूलो क्षति बेहोरेको उद्योगी तथा व्यवसायीमा लगानीको वातावरण अत्यधिक कमजोर भएको छ । सरकार स्थिर हुन सक्ने अवस्था छैन ।
अबका दिनमा व्यवसायीहरूले लगानी गर्न पनि धेरै विचार गर्ने अवस्था सिर्जना भएको छ । लगानी गर्ने योजनामा रहेका व्यक्तिहरू पनि प्रदर्शनका कारण लगानी गर्नेबाट पछि हटेका छन् ।
जेनजी आन्दोलनपछि राहत, क्षति मूल्यांकन, आत्मविश्वास पुनःस्थापना लगायत कार्यमा सरकारको कदमप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्नुपर्ने बाध्यता छ । अहिले सबैजना निर्वाचनमा केन्द्रित छन् । छोटो समयमा सबै काम गर्न सकिँदैन ।
आन्दोलनपछि राहत, क्षति मूल्यांकन, आत्मविश्वास पुनःस्थापना लगायत कार्यमा सरकारको कदमप्रति तटस्थ छु । सबैलाई यस विषयमा थाहा नै छ । यसमा बोल्नेभन्दा नबोलेको नै ठीक होला । आजको अवस्थामा म कुनै हालतमा पनि थप लगानी वा व्यवसाय बढाउदिनँ ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्यो ?
जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रमा ठूलो क्षति भएको थियो । निजी सम्पत्ति, घर, व्यावसायिक संस्था, कारखाना र कार्यालयहरूमा तोडफोड भएको थियो । तोडफोडका कारण निजी क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ । त्यससँगै व्यावसायिक सञ्चालनमा अवरोध, आर्थिक क्षति र आत्मविश्वासमा कमी आएको छ । जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले सुदृढ हुँदै गरेको लगानी वातावरणमा गम्भीर धक्का पुगेको छ ।
प्रदर्शनकारीले उद्योगी तथा व्यवसायीलाई निशाना बनाएर घर जलाउने, तोडफोड गर्ने तथा चोरीजस्ता क्रियाकलाप भयो । उक्त क्रियाकलापले उद्योगी तथा व्यवसायीलाई विक्षिप्त बनाएको छ । आर्थिक तथा भौतिक क्षतिभन्दा पनि मनौवैज्ञानिक क्षति धेरै भएकाले व्यवसायीहरू पुनःस्थापना हुन समय लाग्नेछ ।
तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको पोस्ट जेनजी स्ट्रेस के–के छन् ?
जेनजी प्रदर्शनले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यवासायिक जगतमा डर, सुरक्षा, अनिश्चितताजन्य तनाव गरी तीनवटै समस्या महसुस भइरहेको छ ।
जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?
जेनजी प्रदर्शनले उद्योग तथा व्यवसायमा उच्च असर पुगेको छ । सरकारले व्यावसायिक क्षेत्रको गुनासो तथा असन्तुष्टि सुनिरहेको छ । तर, कारवाही गर्न असफल भइरहेको छ । साथै, सरकार निर्वाचन गराउन व्यस्त छ ।
सरकारले आफ्नो कार्यसँगै जनताको विश्वास पुनः प्राप्त गर्न कानुनी व्यवस्थालाई बलियो बनाउनुपर्छ ।
भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकरात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?
भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, सरकारी कर्मचारी, सञ्चारमाध्यम र जनतालगायत सम्पूर्ण समुदायले निजी क्षेत्रप्रतिको नकारात्मक धारणालाई परिवर्तन गर्न आवश्यक छ । नकारात्मक धारणालाई सकारात्मकतामा परिवर्तन गरी मिलेर काम गर्न जरुरी छ ।
जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रमा तोडफोड तथा आगजनी हुनुमा समुदायभित्र लामो समयदेखि रहेको नकारात्मक मानसिकताका कारण भएको हो । त्यसैले, अब मिडिया र सामाजिक सञ्जालले सार्वजनिक धारणालाई सकारात्मक बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।
अन्त्यमा, नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
नेपालमा लगानीमैत्री वातावरण बनाउन सबैभन्दा पहिले सरकारले अनुकूलता सिर्जना गर्नुपर्छ । लगानीको लागि कानूनी व्यवस्था सुनिश्चित गर्न एकद्वार नीति अपनाउनुपर्छ । साथै, सञ्चारमाध्यमले निजी क्षेत्रलाई सहयोग गर्नुपर्छ ।
(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा एमएस ग्रुपका अध्यक्ष मल्होत्राले दिएको जवाफका आधारमा तयार पारिएको हो ।)








प्रतिक्रिया