
काठमाडौं । काठमाडौं २ मा २०७९ सालको प्रतिनिधि सभा चुनाव राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले जितेकी थिइन् ।
नेकपा एमालेका मणिराम फुयाँल र नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धनबाट पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै रास्वपपाकी सोबिता निर्वाचित भएकी थिइन् ।
यो क्षेत्रबाट सोबिताले १५ हजार २३८ भोट ल्याउँदा एमालेका मणिराम फुयाँलल ११ हजार ५६६ मतसहित दोस्रो बनेका थिए ।
राप्रपाकी कुन्ती देवी पोखरेलले ११ हजार २४ मतसहित तेस्रो बनेकी थिइन् ।
कुल ८८ हजार ७०८ मतदाता रहेको काठमाडौं–२ मा १८ देखि ४० वर्ष उमेर समूहका ३७ प्रतिशत मतदाता रहेका छन् ।
गत निर्वाचनमा समानुपातिकतर्फ यो क्षेत्रमा रास्वपाले सर्वाधिक १३ हजार ८७९ मत ल्याउँदा दोस्रो बनेको राप्रपाले ११ हजार ८१६ मत पाएको थियो । एमाले ९ हजार ५१४ भोट ल्याँदै तेस्रो बनेको थियो । कांग्रेसले ७ हजार १६७ मत ल्याएको थियो ।
यसपटकको निर्वाचनमा एमाले र राप्रपाले पुरानै अनुहारलाई उठाएको छ । एमालेले मणिराम र राप्रपाले कुन्तीलाई उम्मेदवार बनाएको हो ।
अघिल्लो चुनाव जितेको रास्वपाले भने राप्रपाबाट प्रदेशसभा जितेका सुनिल केसीलाई राजीनामा गराएर उमेदवार बनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले नितेश पौडेललाई उम्मेदवार बनाएको छ ।
काठमाडौं क्षेत्र नम्बर २ यस्तो क्षेत्र हो जहाँ लगातार कुनै उम्मेदवार र पार्टीले पछिल्लो समय जित निकाल्न सकेका छैनन् । यसअघि रास्वपाले जितेको यो क्षेत्रमा यसपटक पनि रास्वपा, एमाले, राप्रपा र कांग्रेसबीच त्रिपक्षीय भीडन्त हुने निश्चित छ ।
काठमाडौंको पेप्सीकोला, कागेश्वरी मनोहरा, शंकरापुर लगायतका क्षेत्र रहेको यो निर्वाचन क्षेत्रमा शहरी र काठ क्षेत्रका मतदाता छन्।








प्रतिक्रिया