निजी क्षेत्रलाई आपत पर्दा गरिने हरेक फोन कलको तुरुन्तै रेस्पोन्स हुनुपर्छ

7
Shares

अश्लेषा कार्की होटल मेची क्राउन प्लाजाका डेपुटी म्यानेजिङ डाइरेक्टर हुन् । भदौ २३ र २४ गते भएको जेनजीप्रदर्शनका क्रममा देशभरका व्यावसायिक प्रतिष्ठानहरू तोडफोड र लुटपाटको निसानामा परे । सो क्रममा झापाको होटल मेची क्राउन प्लाजाले पनि क्षति भोग्नुपर्‍यो । प्रस्तुत अन्तर्वार्ता जेनजी प्रदर्शनका क्रममा भौतिक क्षति, पर्यटकीय गतिविधिमा आएको गिरावट र लगानीकर्तामा छाएको निराशाका विषयमा केन्द्रित छ । कार्कीले आन्दोलनले निम्त्याएको मनोवैज्ञानिक त्रास, बिमा दाबीमा देखिएका व्यावहारिक जटिलता र राज्यको फितलो सुरक्षा नीतिका बारेमा प्रष्ट पारेकी छन् ।

जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?

आन्दोलनको लहड देशैभरि फैलँदा लुटपाट र तोडफोडका कारण हाम्रो होटल मेची क्राउनमा पनि आंशिक रूपमा क्षति हुन पुगेको थियो । होटलमा १० करोड रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति भएको छ । आन्दोलन उग्र भएर भौतिक आक्रमणको चरणमा गएको भए पनि संयोग नै भन्नुपर्छ यस होटल नजिक रहेका घर, गाडी लगायत निजी सम्पत्तिमा भने ठूलो क्षति हुन पाएन ।

होटल व्यावसायिक क्षेत्र भएको र धेरैको निशानामा परेको भने चाहिँ देखियो । आन्दोलनका कारण सेवा बन्द भयो । होटलले दिने सेवा दिन नपाउँदा त्यसको क्षति भयो भने त्यसको प्रभाव आपूर्ति शृंखलामा पनि पर्‍यो । साथै, यसको असर मनोवैज्ञानिक ढंगमा बढी पर्‍यो ।

जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्‍यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?

देशैभरि चर्किएको आन्दोलन र हिंसात्मक गतिविधिले पक्कै पनि मनोबलमा नकारात्मक असर त पार्ने नै भयो । देशै आक्रान्त भएकाले मनोबलमा सामान्य रूपमा असर परेको थियो । तथापि, आन्दोलन लगत्तै सेवा र सुविधामा कुनै सम्झौता नगरी काम गर्न सकेका छौं । यसलाई भने सकारात्मक रूपमा लिनुपर्छ ।

जेनजी प्रदर्शनका कारण लगानीको वातावरणमा कतिको धक्का पुगेको छ ?

आन्दोलनले विदेशी पर्यटकलाई तत्कालै आकर्षित गर्न नसकिने अवस्था बन्यो भने बल्लबल्ल वृद्धि हुँदै गरेको पर्यटक आगमनमा प्रभाव पार्‍यो ।

केही ठूला विदेशी चेनका होटलमा भएको आगजनी र त्यसले पुगेको क्षति सम्झँदा त अब लगानीको वातावरण सहज बन्दैन भन्नेसम्मको स्थितिमा पुगियो । जताततै आगजनी, तोडफोड र अराजक गतिविधि हुँदा लगानीको वातारण निकै कमजोर भएको छ ।

जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिका कस्तो छ ?

जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल बढाउन सरकारले गरेको प्रयासलाई सकारात्मक रूपमा लिएको छु । सरकारले आफ्नो तर्फबाट जे जति प्रयास गरेको छ, त्यो अझै पुगेको भने छैन भन्ने लाग्छ ।

जेनजी आन्दोलनपछि नेपालको निजी क्षेत्रले व्यावसायिक वातावरण बनाउनुपर्ने अपेक्षा गरेका थिए । जेनजी आन्दोलनले लगानीको वातावरणमा गम्भीर धक्का लागेकाले सकारात्मक भूमिका निर्वाह गर्दै जानुपर्ने अवस्था छ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्‍यो ?

जेनजी आन्दोलनले सरकारी र निजी क्षेत्रमा ठूलो क्षति पुगेको पक्कै हो । भौतिक क्षति, आर्थिक क्षति, सुरक्षा चुनौती, ज्यानको असुरक्षा, निराशा, अनिश्चितता र त्रास भएको अवस्था छ । यही मेची क्राउनले क्षति बेहोरेको छ । जेनजी आन्दोलनपछिको घटनाका कारण भएको त्यो क्षति ठूलो हो । भौतिक तथा व्यवस्थापकीय क्षति बेहोर्नुपरेको थियो ।

यसले कर्मचारीहरूमा गहिरो मानसिक तनाव सिर्जना गरेको छ । कर्मचारीको कार्यक्षमता र मनोबलमा नकारात्मक असर परेको छ । जेनजी आन्दोलनकै कारण पर्यटन व्यवसायमा क्षति पुग्यो । यसकारण पिक सिजनको महत्त्वपूर्ण समयमा आयोजना हुनुपर्ने धेरै विवाहका कार्यक्रमहरू रद्द हुन पुगेका छन् । यसले संस्थाको आम्दानी, प्रतिष्ठा र समग्र व्यावसायिक गतिविधिमा गम्भीर प्रभाव पुगेको छ ।

जेनजी आन्दोलनमा जुन किसिमका गतिविधि भए, त्यसले भय र चिन्ता उत्पन्न भएको छ । यद्यपि, यसलाई भने वातावरणको सहजतासँगै बिस्तारै सबैले अनुकूल बनाउँदै लगाएका छन् । यस्तो प्रतिकूलतामा पनि अनुकूलता खोज्ने काम भएको छ ।

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?

जेनजी आन्दोलपछि व्यावसायिक वातावरण बनाउन गरिएको सरकारी प्रयास पर्याप्त छैन । तर केही न केही रूपमा भने भएको छ जुन हामीले महसुस गर्न भने सकेका छैनौं । हामीकहाँ कुरा धेरै भए तर काम हुन सकेनन् । भएका प्रयास पनि सीमित देखिन्छन् । हामीले भोगेकै विषयसँग जोडेर भन्नुपर्दा क्षतिको बिमा दाबी पाउन कठिनाइ भइरहेको छ ।

हामीले पाउनुपर्ने बिमा दाबीको पैसा चुक्ता भएको छ कि छैन भनेर हेर्ने पनि कोही छैन । धेरैजसोले सबै कुरा कटौती गरेका पनि छन् । हामीले भने यो होटलको खर्च बेहोर्न सकेका छौं । उदाहरणका लागि, प्रदर्शनका क्रममा हाम्रो होटलका केही टिभीहरू फुटेका छन् । यसका लागि हामीले एक थान टिभीको लागि मुश्किलले २ देखि ५ हजार रुपैयाँ मात्र पाइरहेका छौं ।

तर, अहिले किन्नुपर्दा त्यही टीभीको ६०–८० हजार रुपैयाँ पर्छ । यो फरक पर्न आएको पैसा बेहोर्ने ? हामीले ५ लाख रुपैयाँ बराबरको मदिरा पनि आन्दोलनकै कारण गुमाएका छौं । त्यसलाई बिमाले कभर गर्दैन भनिएको छ । अब यसको क्षति कसले बेहोर्छ ?

व्यवसायीको मनोबल बढाउन सरकारलाई तपाईंका सुझाव केके छन् ?

सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने आवश्यकता छ । व्यवसायीलाई सुरक्षा प्रदान गर्न जरुरी छ । उनीहरूले गर्ने ठूलो लगानी देशका लागि महत्त्वपूर्ण हुन्छ । निजी क्षेत्रको आवश्यकता र महत्त्व जनमानसले थाहा पाउनुपर्छ । यो काम राज्यले गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?

निजी क्षेत्रलाई सकारात्मक रूपमा हेरिनुपर्छ । सरकारले उद्योगी व्यवसायीलाई प्राथमिकताका आधारमा सुरक्षा दिन सक्नुपर्छ । त्यसको आवश्यकता पनि देखिएको छ । हामीले गर्ने एउटा फोन कललाई पनि आपतकालीन अलर्टका रूपमा लिइनुपर्छ । यसबाट कुनै पनि आपत आइपर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सेना लगायत हामीलाई तत्कालै आएर सहयोग गर्न सक्छन् । उनीहरूकै सहयोगले हाम्रो सम्पत्तिको सुरक्षा सुनिश्चित हुन्छ ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

नेपालमा लगानीमैत्री वातावरण बनाउन जिम्मेवारी अनुसार हरेकले आफ्नो काम गर्नुपर्छ । निजी क्षेत्रले थप लगानी गर्ने र नयाँलाई भित्र्याउनेमा बढी ध्यान दिनुपर्छ ।

सार्वजनिक क्षेत्रले रोजगारी र पारदर्शितामा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । अनावश्यक कागजी प्रक्रिया र झन्झट हटेमा लगानीकर्तालाई सहज हुन्छ । यसरी अघि बढेमा लगानीमैत्री वातावरणसँगै सेवाग्राहीले सहजै सेवा पाउनसक्छन् ।

 (प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा होटल मेची क्राउन प्लाजाका डेपुटी म्यानेजिङ डाइरेक्टर कार्कीले दिएको जवाफका आधारमा तयार पारिएको हो।)