
म आफैं उद्योग तथा व्यापार व्यवसायमा होमिएको तीन दशकभन्दा बढी भइसकेको छ । विभिन्न समयमा आन्दोलन तथा प्रदर्शन भए । उक्त प्रदर्शनमा मानवीय क्षति देखिएको भए पनि उद्योग तथा व्यवसायमा प्रत्यक्ष आक्रमण भएको थिएन । तर, गत भदौ २३ र २४ गतेको जस्तो विध्वंसकारी प्रदर्शन अहिलेसम्म देखिएको थिएन । प्रदर्शनमा विगतका दिनमा नभएकासबै कार्य भए ।
प्रदर्शनले मानवीय, भौतिक र आर्थिक सबै सूचकहरूमा क्षति पुर्यायो । त्यसमा राज्य मात्रै नभएर उद्योग तथा व्यवसाय पनि निशानामा परे । प्रदर्शनकारीले राजनीतिक रिसइबी साँधेर राजनीतिक नेतृत्व लगायत उद्योग व्यवसायमा पनि ठूलो क्षति हुने गरी आक्रमण गरे । आक्रमणमा क्रममा उद्योगी व्यवसायीहरूले इतिहासमै नभोगेको क्षति बेहोर्न बाध्य भयो।
सातै प्रदेशमा मेरो व्यापार व्यवसाय फैलिएको छ । गत भदौमा भएको प्रदर्शनमा मेरो व्यवसायमा पनि क्षति पुग्यो । प्रदर्शनकारीले घर, गाडीलगायत निजी सम्पत्तिमा तोडफोड गर्दा करिब एक करोड रुपैयाँको हाराहारीमा क्षति पुगेको थियो । प्रदर्शनकारीले निजी सम्पत्ति तोडफोडका साथै आगजनी र लुटपाट हुँदा प्रत्यक्ष निशानामा परें ।
आन्दोलनका क्रममा क्षति बेहोर्न बाध्य भएँ । त्यसपछि पनि उत्पादन तथा सेवा बन्द हुँदा अझ बढी क्षति बेहोनुपर्ने स्थिति आयो । प्रदर्शनपछि उत्पादन वा सेवा बन्द हुँदा आंशिक क्षति बेहोर्नुका साथै आपूर्ति शृंखलामा पनि असर पर्यो । प्रदर्शनमा भएको आर्थिक वा भौतिक क्षति समयसँगै पुरिँदै जान्छ । तर, मनौवैज्ञानिक क्षतिलाई कसरी परिपूर्ति गर्ने विषय ठूलो बनेको छ । प्रदर्शनले अहिले मात्रै नभएर आगामी दिनमा पनि ठूलो प्रभाव पार्ने देखिन्छ ।
अहिले बैंकिङ र बिमा क्षेत्रमा क्षमता भएका ऋणीले पनि आलटाल गरिरहेका छन् । कर्जाको माग घटेको छ । बिमालेख बिक्री घटेको छ भने दाबी भुक्तानी बढेको छ । जेनजी आन्दोलनले मेरो मात्रै नभएर अधिकांश व्यवसायीको मनोबलमा ठूलो असर पारेको छ । साथै, जेनजी आन्दोलनका कारण लगानीको वातावरण अत्यधिक कमजोर भएको छ ।
व्यवसायीहरूको मनोबल कमजोर भएको अवस्थामा सरकारले प्रोत्साहनका लागि कुनै कदम चालेको देखिँदैन । जेनजी आन्दोलनपछि राहत, क्षति मूल्यांकन, आत्मविश्वास पुनःस्थापना लगायत कार्यमा सरकारको कदमप्रति व्यवसायीहरू निकै असन्तुष्ट छन् । अधिकांश व्यवसाय र उद्योगीको घर गाडीहरूमा तोडफोड भयो । नेपालमै काम गर्ने सोच भएका व्यक्तिलाई निराश बनाउने काम भयो ।
धेरै ठूला रोजगारमूलक, उत्पादनमूलक काममा हामी लाग्न खोजेका थियौं । तर, त्यस अवस्थालाई जेनजी प्रदर्शनले कठिन परिस्थितिमा परिणत गरेको छ । अहिलेको अवस्थामा थप लगानी वा व्यवसाय विस्तार ‘पर्ख र हेर’ को अवस्थामा पुगेको छ ।
जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले सुदृढ हुँदै गरेको लगानी वातावरणमा गम्भीर धक्का पुगेको छ । युवाहरू असन्तुष्ट छन् । युवा पुस्ताहरूमा निराशा छ । जागिर नपाउने, पढेर पनि काम नलाग्ने, देशमा उद्योग, व्यवसाय, व्यापार नहुने अवस्था छ । सरकारले वार्षिक ७ लाखलाई रोजगार प्रदान गर्ने भनेको छ । तर, बजारमा ५० हजार रुपैयाँको पनि जागिर दिन नसक्ने अवस्थाले यो समस्या निम्तिएको हो ।
यसबाट मानिसमा एकदमै नैराश्य बढेको छ । जेनजीले ठीक विषयमा आवाज उठाएका हुन् । भ्रष्टाचार धेरै बढेको बेलामा जेनजीले परिवर्तन खोजेका थिए जुन कुरामा मेरो समर्थन छ ।
व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यवसायिक जगतले महसुस गरेको पोस्ट जेन्जी स्ट्रेस (डर, असुरक्षा, अनिश्चिताताजन्य तनाव) ले विधिको शासनमा प्रश्न उठेको छ । असुरक्षा महसुस भएको छ । आन्दोलनका क्रममा सम्पत्तिको रक्षा हुन सकेन । मानिसमा लुटपाट गर्ने र चोर्ने मानसिकता बढेको छ । जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले खास किसिमका प्रयत्न भने गर्न सकेको छैन ।
अहिले आम मानिसमा नैराश्यको अवस्था छ । सरकारको प्रयास अपर्याप्त भए पनि सरकारले विधिको शासन कायम गर्नुपर्ने बाटोमा अघि बढ्नुको विकल्प छैन । घुसपैठमा संलग्न व्यक्तिहरूलाई कारबाही गरेर सजायको भागिदार बनाउनुपर्छ । दण्डहीनता अपनाउनेलाई कानुनी दायरमा ल्याएर व्यवसायीको आत्मबल बढाउनुपर्ने आवश्यकता छ ।
जेनजी आन्दोलनले वास्तविक मर्कामा परेकाहरूलाई सरकारले सहयोग गर्नुपर्छ । व्यवसायमा क्षति पुगेका उद्योगी व्यवसायीहरूलाई बिमाको दाबी भुक्तानी छिटो हुनुपर्छ । साथै, विश्वासको वातावरण बनाउनुपर्छ । बैंकको ब्याजदर कम भएको बेलामा पनि कर्जा लिन चाहने वातावरण बनाउनुपर्छ ।
भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाबाट पहलको आवश्यकता छ । निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति भएकाले त्यसलाई बदल्न आवश्यक छ । निजी क्षेत्र भन्नेबित्तिकै ‘यो पैसा कमाउने चोर, डाका, फटाहा भन्दै’ ईर्ष्याले हेर्ने चलन छ । यो मानसिकता परिवर्तन हुन जरुरी छ ।
जो मान्छे मेहनत गर्छ, परिश्रम गर्छ, त्यसले पैसा कमाउँछ । उसको इज्जत र सम्मान गर्नुपर्छ । ट्याक्सपेयरहरूको सम्मान र इज्जत नगरी हुँदैन । उनीहरूलाई सामाजिक सम्मान गर्नुपर्छ । जसले रोजगारी धेरै दिन्छ, त्यस्तो लगानीकर्तालाई रेड कार्पेट बिछ्याएर स्वागत गर्नुपर्छ, रातो पासपोर्ट दिनुपर्छ । मुलुकमा व्यावसायिक क्षेत्रमा राम्रो काम गर्ने व्यक्तिहरूका लागि विशेष व्यवस्था र सहुलियत दिनुपर्छ ।
यसो गरेमा नेपालमा रोजगार सिर्जना गर्ने वा युवाहरूलाई नेपालमा राख्न सक्ने अवस्था बन्छ । यस्ता किसिमको व्यक्तिहरूलाई विशेष सम्मान दिएर हौसला प्रदान गर्दा राम्रो हुनेछ । यसले सर्वसाधारणमा नकारात्मक मनोवृत्ति बदल्न सक्छ ।
यद्यपि, सबैभन्दा ठूलो कुरा सरकारले लगानीको वातावरणका लागि नीति परिवर्तन गर्न आवश्यक छ । पुरानो नीतिसँगै कर्मचारीको मानसिकतामा पनि परिवर्तन गराउन सक्नुपर्छ । कर्मचारीमाथि कामै नगर्ने, घूस धेरै खाने, काम रोक्ने, अप्ठ्यारोमा पार्ने भएको आरोप छ । यस्ता कामलाई रोक्नुपर्छ ।
लगानीमैत्री वातावरण बनाउन एकद्वार प्रणाली बनाएर राज्य अगाडि जानुपर्छ । यसो गर्दा नेपालको अर्थतन्त्र अहिले भन्दा १० गुणा ठूलो बन्ने सम्भावना हुन्छ । कुन कुन क्षेत्रमा लगानी गर्ने हो, त्यसलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ ।
(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा व्यवसायी श्रेष्ठले दिएको जवाफका आधारमा तयार पारिएको हो।)








प्रतिक्रिया