
काठमाडौं । झापा जिल्लामा रहेको होटल मेची क्राउन होटलको व्यापार ५२ प्रतिशतले बढेको छ ।
भेगास सिटी इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालित यस होटलको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ५२ प्रतिशतले बढेको हो ।
सन् २०२४ मा २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको होटलले सन् २०२५ मा ४४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । त्यसैगरी, होटलले सन् २०२३ मा २७ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा १८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१४ मा स्थापना भएको यस कम्पनीले पाँचतारे होटल, क्यासिनो र रिसोर्ट ‘होटल मेची क्राउन’ ब्रान्डमा सञ्चालन गर्दै आएको छ ।
भारतीय सीमा नजिक रहेको यो होटल पूर्वी नेपालकै पहिलो पाँचतारे होटल हो । ५४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस होटलमा २०५ वटा कोठाको सुविधा छ ।
कम्पनीले होटलको प्रतिकोठा निर्माणमा औसत १ करोड ५ लाख रुपैयाँ खर्च भएको रेटिङ विवरणमा उल्लेख गरेको छ ।
क्यासिनो सञ्चालनका लागि भने होटल मेची क्राउनले ‘भेगास रिक्रियसन नेपाल’लाई अनुमति दिएको छ । होटलको परिसरमा तेस्रो पक्षले क्यासिनो सञ्चालन गरिरहेकाले त्यसबापत कम्पनीले मासिक रूपमा भाडा प्राप्त गर्दै आएको छ । क्यासिनो व्यवस्थापनमा कम्पनीको प्रत्यक्ष संलग्नता नरहेको रेटिङमा उल्लेख छ ।
बलराम सापकोटाको ४० प्रतिशत, पवित्रकुमारी कार्कीको ३० प्रतिशत र सिर्जना कक्षपतिको ११ प्रतिशत स्वामित्व रहेको यस कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ ।








प्रतिक्रिया