झापा–५ मा बालेनको चुनावी प्रतिवद्धता: दमकलाई ‘आइटी हब’ बनाउने देखि ३०० शय्याको अस्पतालसम्म

0
Shares

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले आफ्नो चुनावी ‘वाचा पत्र’ सार्वजनिक गर्दै क्षेत्रको चौतर्फी विकासका लागि विभिन्न योजनाहरू अघि सारेका छन् ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता’ र ‘सुशासन’ लाई मुख्य मन्त्र बनाएका शाहले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकतामा राखेका छन् ।

शाहले आफ्नो वाचा पत्रमा राजनीतिलाई पेसा नभई सेवाको रूपमा स्थापित गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिने, सार्वजनिक सेवालाई चुस्त बनाउन डिजिटल ‘ड्यास बोर्ड’ मार्फत प्रगति विवरण सार्वजनिक गर्ने र अनलाइन माध्यमबाट जनताको गुनासो सुन्ने प्रणाली विकास गर्ने उल्लेख गरेका छन् ।

शिक्षा क्षेत्रमा उनले काठमाडौं महानगरमा सफल मानिएको ‘शिक्षामा सीप कार्यक्रम’ लाई झापा ५ मा पनि लागू गर्ने योजना अघि सारेका छन् । जसअन्तर्गत विद्यार्थीहरूलाई विद्यालय तहमै व्यावहारिक सीप सिकाएर विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने उनको लक्ष्य छ । साथै, सामुदायिक विद्यालयमा ‘स्मार्ट क्लास’ र ई–पुस्तकालय स्थापना गर्ने, “स्कुल रिटेन्सन प्रोग्राम” मार्फत विद्यालय छोड्ने दर शून्यमा झार्ने र स्थानीय भाषालाई पाठ्यक्रममा समावेश गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा दमक अस्पताललाई ३०० शय्याको क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने शाहको मुख्य योजना छ । उनले अस्पतालहरूमा १० प्रतिशत शय्या विपन्न र बेवारिसे बिरामीका लागि निःशुल्क गर्ने, ज्येष्ठ नागरिकका लागि घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने र २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्ने बताएका छन्। यस्तै, कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने योजना पनि उनले अघि सारेका छन् ।

पूर्वाधार र ‘आइटी हब’

भौतिक पूर्वाधारतर्फ शाहले दमकलाई पूर्वी नेपालको ‘आइटी हब’ का रूपमा विकास गर्ने महत्वकांक्षी योजना अघि सारेका छन्। दमक–रवि–चिसापानी सडक खण्डको निर्माण समयमै सम्पन्न गर्ने, आदिवासी जनजाति रङ्गशाला निर्माण गर्ने र रतुवा तथा मावा खोलाको तटबन्ध निर्माण गरी कटान नियन्त्रण गर्ने कुरालाई उनले प्राथमिकता दिएका छन् ।

कृषि प्रधान क्षेत्र भएकाले उनले हरेक पालिकामा ‘श्रम बैंक’ को अवधारणा ल्याउने, कृषि उत्पादनको समर्थन मूल्य तोक्ने र चिस्यान केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । भूमिहीन र सुकुम्वासी समस्या समाधानका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’ को नीति अवलम्बन गर्ने र ‘ल्याण्ड बैंक’ मार्फत जग्गाको चक्लाबन्दी गर्ने उनको योजना छ।

गौरीगन्ज भन्सारलाई व्यवस्थित गर्ने, दमकलाई पर्यटकीय ‘ट्रान्जिट हब’ बनाउने र आदिवासी जनजातिको कला–संस्कृति संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्ने शाहको वाचा पत्रमा उल्लेख छ।

आफ्नो वाचा पत्रको अन्त्यमा शाहले ‘जनअपेक्षा अनुरूपको काम गर्न आएको’ बताउँदै फागुन २१ गते हुने निर्वाचनमा आफूलाई मतदान गरी काम गर्ने अवसर दिन मतदातासँग आग्रह गरेका छन्।