
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटलको व्यापार धक्का पुगेको छ ।
होटलको व्यापारमा विगतका वर्षहरुको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम कारोबार भएको हो।
होटलले चालु आवको ६ महिनाको अवधिमा ८ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । चालु आवमा अकुपेन्सी रेट घटेको छ । कारोबारको मुख्य सिजनमा जेनजी प्रदर्शनका कारण पर्यटकको आगमनमा कमी आउँदा व्यापारमा असर पुगेको होटलले जनाएको छ । साथै, पर्यटकहरुले आगमनको लागि गरिएको बुकिङ रद्द हुँदा कम्पनीको कारोबारमा धक्का पुगेको हो।
होटलले गत आर्थिक वर्षमा साढे २२ करोड रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२४ मा २२ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
होटलको व्यापार गत आवमा २ प्रतिशतले बढेको छ । होटलकाअनुसार गत आवमा पर्यटकको आगमन बढ्दा व्यापार बढ्न गएको उल्लेख छ । होटलको गत आवमा अकुपेन्सी रेट ४५ प्रतिशत थियो । सन् २०२३ मा ३० प्रतिशत मात्रै थियो।
सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको होटलले धुम्बाराहीमा पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । होटल १.१३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । होटलमा १ सय ८ वटा कोठाको सुविधा छ । होटल रामडा बाई वाइन्दम काठमाडौं धुम्बाराही ब्रान्डमा व्यवसायिक कारोबार गर्दै आएको छ ।
होटलले दीर्घकालीन कर्जाका लागि १ अर्ब १० करोड ५२ लाख रुपैयाँको रेटिङ गराएको छ । सानिमा ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित होटलको अध्यक्ष विनयकुमार श्रेष्ठ हुन् ।








प्रतिक्रिया