उम्मेदवार छान्दा आर्थिक चलखेल भएको भन्दै रास्वपा बागमतीका उपसभापतिले छाडे पार्टी

434
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टीको जिम्मेवारी र साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन् ।

बिहीबार महामन्त्रीसमक्ष राजीनामा बुझाउँदै उनले पार्टीभित्र मौलाउँदै गएको विकृति र नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट १० हजार ५७३ मत प्राप्त गरेका हुमागाईँले रास्वपा परित्याग गर्नुका ७ बुँदे कारण खुलाएका छन् । उनले पार्टीभित्र संरचनागत विकृति मौलाएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता बढेको र नेतृत्व तहमा नैतिक विचलन देखिएको आरोप लगाएका छन् ।

हुमागाईँले राजीनामा पत्रमा पार्टीको ‘जान्नेलाई छान्ने’ नारा व्यवहारमा लागू नभएको उल्लेख गरेका छन् ।

वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई किनारा लगाएर अन्य दलबाट आएका व्यक्तिहरू र नेतृत्वको चाकडी गर्ने ‘गणेश प्रवृत्ति’ भएकाहरूलाई प्राथमिकता दिइएको उनको आरोप छ ।

विशेष गरी उम्मेदवार छनोट प्रक्रियामाथि प्रश्न उठाउँदै उनले भनेका छन्, ‘हिजोसम्म मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ताको मुकुण्डो लगाएका ‘चटकदार’ व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइयो । यसले भोलिको संसदलाई अवसरवादीहरूको थलो बनाउने संकेत गरेको छ ।’

आर्थिक अपारदर्शिताको प्रश्न
हुमागाईँले पार्टीको आर्थिक व्यवस्थापनमा पनि गम्भीर प्रश्न उठाएका छन् । सदस्यता शुल्क र उम्मेदवार आवेदनका नाममा ठुलो रकम सङ्कलन गरिए पनि त्यसको पारदर्शी लेखाजोखा नभएको उनले बताएका छन् ।

प्रदेश र पालिका तहमा बाँडफाँड गरिने भनिएको रकममा स्पष्टता नभएको र केन्द्रीय संरचना विस्तारमा समेत आर्थिक चलखेल हुने गरेको उनको दाबी छ ।

पार्टी विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको उल्लेख गर्दै उनले अब रास्वपामा बस्नुको औचित्य नरहेको स्पष्ट पारेका छन् ।

रास्वपामा पछिल्लो समय आन्तरिक असन्तुष्टि चुलिँदै गएको छ । हुमागाईँको राजीनामा आउनुअघि मात्रै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी परित्याग गरेका थिए । पुराना र जग बसाल्ने नेताहरूले धमाधम पार्टी छाड्नुले रास्वपाभित्रको आन्तरिक कलह सतहमा आएको देखिएको छ ।