
जनकपुर । नेपाली कांग्रेसले मुलुकमा सुशासन, समुन्नति र विधिको शासन कायम गर्ने उद्देश्यसहित आफ्नो १० बुँदे विस्तृत भिजन ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ ।
बुधबार जनकपुरमा आयोजित एक विशेष समारोहका बीच ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ कांग्रेसले आगामी पाँच वर्षका लागि आफ्नो मार्गचित्र प्रस्तुत गरेको हो ।
‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ सार्वजनिक गरिएको उक्त दस्तावेजमा नागरिकको जीवनस्तर उकास्ने र राज्यका संयन्त्रहरूमा आमूल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रको मुख्य बुँदा मध्ये एक राज्यका संस्थाहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनु रहेको छ । अदालत, संवैधानिक निकाय, नेपाल प्रहरी र विश्वविद्यालय जस्ता संवेदनशील संस्थाहरूमा हुने दलीयकरणको अन्त्य गरिने कांग्रेसले जनाएको छ ।
प्रतिज्ञापत्रमा भनिएको छ, ‘निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत योग्य एवं संविधानप्रति वफादार नागरिकहरू मात्र नियुक्त हुने वातावरण बनाइनेछ ।’
कांग्रेसले अब सरकारी सेवाका ढोका सबैका लागि समान हुने र कानुनको नजरमा सत्ताको ओहदामा रहेका र सर्वसाधारण नागरिक बराबरी हुने उल्लेख गरेको छ ।
प्रशासनिक क्षेत्रमा हुने ढिलासुस्ती र भ्रष्टाचार रोक्न कांग्रेसले ‘डिजिटल नेपाल’को अवधारणालाई अघि सारेको छ । प्रविधिको उच्चतम प्रयोग गरी नागरिकले घरमै बसेर सरकारी सेवा पाउने प्रबन्ध मिलाइने महामन्त्री गगन थापाले दाबी गरे ।
नागरिकले निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरणको सुनिश्चितता गर्ने प्रतिज्ञा पनि गरिएको छ ।
आर्थिक विकासका लागि कांग्रेसले निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति लिएको छ । स्वदेशमै पर्याप्त रोजगारीको अवसर सिर्जना गरी युवाहरूको वैदेशिक पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ ।
यस्तै, कृषिलाई मर्यादित पेसा बनाउँदै प्रविधि र बजारको उचित व्यवस्थापनमार्फत ‘किसानको नेपाल’ निर्माण गर्ने लक्ष्य राखिएको छ ।
‘ओखती र ओत दिने नेपाल’ को परिकल्पना गर्दै कांग्रेसले स्वास्थ्य र शिक्षामा राज्यको दायित्व बढाउने प्रतिबद्धता जनाएको छ । उपचारका कारण कोही पनि नागरिक गरिब हुनु नपर्ने गरी गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने र छोराछोरी पढाउन अभिभावकले आर्थिक भार खेप्नु नपर्ने गरी शिक्षामा सुधार गर्ने योजना सार्वजनिक गरिएको छ ।
जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने सबै प्रकारका विभेद अन्त्य गरी हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने कांग्रेसको संकल्प छ ।
साथै, नेपालको मौलिक पहिचान र संस्कृतिको संरक्षण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गरिने भिजनमा उल्लेख छ ।
कांग्रेसले यस १० बुँदे भिजनमार्फत पार्टीको आन्तरिक रुपान्तरणसँगै मुलुकको समग्र विकास र सुशासनका लागि आफूलाई समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।








प्रतिक्रिया