थप लगानी गर्ने विषयमा निजी क्षेत्र पर्ख र हेरको अवस्थामा छ

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी नेपाल इकरात इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक हुन् । व्यवसायिक क्षेत्रमा उनको ३ दशक लामो अनुभव छ । उनी भदौ २३ र २४ को जेनजी विद्रोहका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले समग्र निजी क्षेत्रको आत्मविश्वासमा ठूलो धक्का पुर्‍याएको बताउँछन् । जेनजी विद्रोहका कारण व्यवसायीले भोग्नुपरेको आर्थिक तथा भौतिक क्षति र लगानीको खस्कँदो वातावरणबारे जोशीको अनुभव र विश्लेषण यहाँ प्रस्तुत गरिएको छ ।

जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?

पछिल्लो तीन दशकदेखि म नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रमा सक्रिय छु । नेपाल इकरात इन्जिनियरिङ कम्पनी लिमिटेडमार्फत उत्पादन हुने नीक ब्राण्डको बिजुली ट्रान्सफर्मर नेपालसहित विभिन्न मुलुकमा लोकप्रिय बन्दै गएको छ।

करिब ५ अर्ब रुपैयाँ लगानी रहेको उद्योग व्यवसायबाट हाल ५०० जनाले रोजगारी प्राप्त गरेका छन् । यही क्रममा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रको व्यापारिक प्रतिष्ठान र भौतिक सम्पत्तिमाथि आक्रमण हुन पुग्यो ।

तथापि, जेनजी प्रदर्शनको क्रममा मेरो व्यापारिक प्रतिष्ठान र भौतिक सम्पत्तिमाथि भने कुनै पनि प्रकारको क्षति भएन । यद्यपि, त्यसको अप्रत्यक्ष असर भने समग्र क्षेत्रमा नै परेको विषयमा हामी सबै जानकार नै छौं ।

जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?

जेनजी प्रदर्शनका कारण व्यक्तिगत रूपमा मलाई मनोवैज्ञानिक असर बढी पर्‍यो । कर्मचारी तथा अन्य व्यवस्थापकका कुरा जोड्ने हो भने पनि समग्र व्यापारिक प्रतिष्ठानमा नै उक्त आन्दोलनले ठूलो असर पुर्‍याएको छ ।

लगानीकर्ताले थप लगानी गर्ने वातावरण बिथोलिएको छ । आँखा अगाडि नै निजी व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी हुँदा लगानीको वातावरण कमजोर हुनु स्वाभाविक नै हो ।

आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्ति निशानामा बनाइएपछि लगानीको वातावरणमा ठूलो असर पुगेको छ अहिले लगानी गर्ने वातावरण कमजोर हुँदा थप लगानी गर्ने विषयमा पर्ख र हेरको अवस्थामा छौं ।

जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिकालाई कसरी हेर्नुभएको छ ?

जेनजी प्रदर्शनपछि गठन भएको अन्तरिम सरकारले निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सन्तोषजनक भूमिका निर्वाह गर्न सकेको छैन ।

निजी क्षेत्रका उद्योग, कलकारखानामा तोडफोड, लुटपाट र आगजनी गर्नेलाई हालसम्म पनि सरकारले कानुन दायरामा ल्याउन सकेको छैन । यी विषयलाई हेर्दा सरकारले निजी क्षेत्रको आत्मविश्वास बढाउने ढंगमा काम गरेको देखिँदैन ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुप¥यो ?

जेनजी प्रदर्शनबाट सबैभन्दा ठूलो भौतिक र आर्थिक क्षति निजी क्षेत्रले बेहोरेको छ । स्वदेशदेखि विदेशसम्ममा ख्यातिप्राप्त उद्योग कलकारखाना, व्यापारिक प्रतिष्ठान, निजी निवासका साथै सवारी साधनसम्ममा भएको तोडफोड र आगजनीले अर्बौंको नोक्सानी भएको छ ।

भोलिका दिनमा पनि यस्तो किसिमको आक्रमण हुने त्रास कायम रहँदा  क्षति बेहोरेका उद्योगी व्यवसायीले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोच र आत्मविश्वास डगमगाएको छ ।

सुदृढ हुँदै गरेको लगानीको वातावरणमा जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले धक्का पुर्‍याएको हो ?

कोरोना महामारी, भूकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्र थलिएको थियो । उक्त स्थितिबाट नेपाली अर्थतन्त्र तंग्रिन नपाउँदै जेनजी प्रदर्शनले फेरि उक्सिन कठिन हुने स्थितिमा पुर्‍याएको छ ।

आन्दोलनका कारण औद्योगिक र व्यापारिक क्षेत्रमा असुरक्षाका साथै अनिश्चितता सम्बन्धी तनावको वातावरण छाएको छ ।

व्यक्तिगत रूपमा म आफैं पनि अनिश्चितताको स्थितिबाट नै गुज्रिरहेको छु । यस्तो अवस्थामा सरकारले निजी क्षेत्रको विश्वास जगाउन अति आवश्यक देखिन्छ ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ?

निजी क्षेत्रले जिम्मेवार व्यावसायिक अभ्यास अपनाएर आफ्नो छवि मजबुत बनाउन आवश्यक छ । सामाजिक न्यायलाई आत्मसात गर्दै देशको सशक्त अर्थतन्त्र र समृद्धि निर्माण गर्न सक्ने प्रमुख आधार निजी क्षेत्र हो ।

निजी क्षेत्रसँग सम्बन्धित केही सीमित घटनाका आधारमा नकारात्मक कथानक निर्माण गरेर समग्र निजी क्षेत्रमाथि नकारात्मक धारणा बनाउन मिल्दैन । व्यावसायिक अभ्यासको पक्षमा सञ्चारमाध्यम क्षेत्रबाट पनि वकालत हुन आवश्यक छ ।

केही राजनीतिकर्मी, कर्मचारीतन्त्र र बिचौलियाहरू भ्रष्टाचार र सेटिङबाट बनेको प्रणालीको अभिन्न हिस्सा बनेको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ । यो स्थितिबाट सुधार भएर सुशासन र जिम्मेवार व्यावसायिक अभ्यास तयार गर्ने ढंगमा हामी सबै अगाडि बढ्नुपर्छ ।

तपाईंको विचारमा नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

देशको आर्थिक विकास, रोजगारी सिर्जना, लगानी विस्तार, प्रविधि हस्तान्तरण र मुलुकको समृद्धिमा निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ ।

त्यसैले निजी क्षेत्रले मुनाफामुखी सोच मात्रै भन्दा माथि उठेर नागरिकप्रति सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने आवश्यकता छ । यसो भएमा अर्थतन्त्र मजबुत बन्ने आधार तयार हुनेछ ।

(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले दिएको जवाफका आधारमा तयार पारिएको हो।)