निजी क्षेत्रको बजार विस्तार कार्यमा सरकारको सहयोग अपरिहार्य

28
Shares

उद्योग व्यवसायमा लागेर करिब तीन दशकभन्दा बढी समय यही क्षेत्रमा बिताइसकेको छु । व्यावसायिक क्षेत्रमा लागेपछि अनेकौं बाधा, अवरोध र क्षति बेहोरेका मिठा–नमिठा अनुभवहरू मसँग छन् । तर, गएको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन भने करिब तीन दशकमा भोगेका आरोहअवरोह भन्दा निकै फरक रह्यो ।

विगतका आन्दोलनमा सामान्य आर्थिक र भौतिक क्षतिको सामना गरेको मैले जेनजी आन्दोलनका क्रममा पनि ठूलो क्षति भोग्नुपरेन । तर, आन्दोलनमा जुन किसिमको प्रवृत्ति देखियो त्यसले गरेको मनोवैज्ञानिक क्षति भने निकै फरक किसिमको थियो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, तत्कालीन माओवादी सशस्त्र द्वन्द्व, २०६२–६३ को जनआन्दोलन र मधेश आन्दोलनमा उद्योग व्यवसायमा नोक्सानी पुगे पनि थप लगानी गर्ने मनोबल हालको जसरी टुटेको थिएन ।

अहिले पनि हाम्रो व्यवसायबाट एक हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । जेनजी प्रदर्शनपछि ती काम गर्ने कर्मचारीको मनमा आजका दिनसम्म पनि एक किसिमको त्रास देखिएको छ । सबै क्षेत्रको मनोबल कमजोर बनेको स्थितिमा म आफैं पनि अहिले थप लगानीका लागि पर्ख र हेरको अवस्थामा छु ।

आर्थिक र भौतिक नोक्सानी भन्दा पनि निजी क्षेत्रमा ठूलो मनोवैज्ञानिक क्षति पुगेको अवस्था मैले पाएको छु । व्यावसायिक क्षतिलाई छोटो समयमा ठीक अवस्थामा फर्काउन सकिए पनि त्यसले कमजोर तुल्याएको मनोबल तत्काल बढ्ने स्थितिमा छैन किनभने जेनजी प्रदर्शनका नाममा व्यापारिक प्रतिष्ठानमा मात्र नभई व्यक्तिको घरमा समेत आगजनी र तोडफोड भएको थियो ।

हुन त अहिले निजी क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा एक किसिमको अनिश्चितता र त्रासको स्थिति छ । यस्तो अवस्थामा वर्तमान सरकारले निजी क्षेत्रको मनोबल उठाउने ढंगमा प्रभावकारी काम गर्न सकेको छैन । उद्योगी व्यवसायीलाई सरकारले घटना भएर क्षति पुगेपछि मात्र नभएर नियमित रूपमा साथ दिनुपर्छ भन्ने मेरो मान्यता छ ।

आफ्ना माग र स्वार्थ पूरा गर्नका लागि आन्दोलनका नाममा निजी क्षेत्रलाई निशाना बनाउने काम बन्द गर्नुपर्छ । सरकारले यस किसिमको प्रवृत्ति अन्त्य नगराएसम्म निजी क्षेत्रले लगानी र व्यापार व्यवसायको लागि सुरक्षाको अनुभूति गर्न सक्दैन ।

जेनजी आन्दोलनलाई नै हेर्ने हो भने पनि पहिला आन्दोलनकारीलाई दबाउन गोली चलाउने काम भएको देखिन्छ । यसबाट दर्जनौं आन्दोलनकारीकोे मृत्यु भएपछि अर्को दिन आक्रोशित भीडलाई नियन्त्रण गर्नुको साटो एकैपटक सुरक्षा निकायले हात झिक्दा त्यस किसिमको अवस्था निम्तिएको हो । नेपाली सेनाले २४ गते राति १० बजेदेखि सुरक्षाको जिम्मेवारी आफ्नो हातमा नलिएको भए अझै के हुन्थ्यो र कति लुटपाट हुन्थ्यो भन्ने विषय हामी सहजै अनुमान लगाउन सक्छौं ।

यद्यपि, सरकारले आन्दोलनकारीका नाममा वितण्डा मच्चाउनेहरूलाई कानुनी दायरामा ल्याउने केही प्रयत्न गरेका कारण त्यसमा केही सन्तुष्ट हुने ठाउँ भने मिलेको छ । वर्तमान सरकार संवेदनशील भएर सन्तुलित पाइलाहरू चालिरहेको आभास पनि केही मात्रामा नभएको होइन । विगतलाई फर्केर हेर्दा निजी क्षेत्रलाई पनि सुरक्षाका लागि निजी सुरक्षाबल वा सामाजिक स्वयंसेवक आवश्यक पर्ने देखिन्छ ।

यति भइरहँदा पनि निजी क्षेत्रमाथि सर्वसाधारणको ठूलो नकारात्मक मनोवृत्ति छ जस्तो लाग्दैन । हाम्रो भ्रष्ट कर्मचारीतन्त्र र सरकारी संयन्त्रले गलत ढंगमा लाभ उठाउने प्रवृत्तिको कारण निजी क्षेत्र केही हदसम्म समस्यामा परेको देखिन्छ । नेपालको समग्र व्यवस्थाबाट भ्रष्टाचारजन्य आपराधिक गतिविधि नहटे भोलिका दिनमा यही स्थिति नआउला भन्न सकिँदैन ।

त्यसैले नेपालको नीतिनिर्माण तहले यो कुरालाई विचार गरेर अगाडि बढ्न आवश्यक देखिन्छ । नेपालमा लगानीमैत्री वातावरण बनाउन नेपालको उत्पादनलाई विश्व बजारसँग जोड्न आवश्यक छ । नेपालमा उत्पादन सस्तो र गुणस्तरीय भए मात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने विषयमा सबैको ध्यान पुग्न आवश्यक छ ।

आज भारत र चीनले आर्थिक विकासको क्षेत्रमा निरन्तर उल्लेखनीय प्रगति गरिरहेका छन् । यी राष्ट्र र त्यहाँका विभिन्न प्रान्तहरूमा लगानी भित्र्याउनका लागि छुट र सहुलियत दिएका उदाहरण छन् । यसर्थ, कर छुट र अन्य सुविधा प्रदान गरेर बाह्य लगानी भित्र्याउन सकिन्छ । विदेशी पुँजी नेपाल ल्याउन केन्द्रीय सरकारले मात्रै नभएर नेपाल राष्ट्र बैंकले सहज नीति बनाउनुपर्ने ठाउँहरू पनि धेरै छन् ।

यसका अलावा, निजी क्षेत्र बजार विस्तारमा जाँदा सरकारको सहयोग पनि अपरिहार्य छ । छिमेकी मुलुक तथा विदेशी राष्ट्रलाई हेरेर हामीले उचित नीति नियम बनाउने, कर संरचना निर्माण गर्ने र उदास अर्थतन्त्रलाई उदार अर्थतन्त्रमा रूपान्तरण गर्ने गरी काम गर्न सक्नुपर्छ । यसो भएमा नेपालीमा छाएको असन्तुष्टि कम हुने र प्रगतिको बाटो खुल्दै जाने कुरामा आशावादी हुन सकिन्छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा एशियन थाई फुड्सका प्रबन्ध निर्देशक जाजूले दिएको जवाफका आधारमा तयार पारिएको हो।)

जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा उत्तरदाताले दिएको प्रश्नहरूको आधारमा तयार गरिएको सामग्री अध्ययनका लागि यहाँ क्लिक गर्नुहोस् ।