एजेन्सी । म्याक्सिमलाई आफ्नो वीर्यको बारेमा छलफल गर्न कुनै संकोच छैन ।
वास्तवमा युक्रेनी सेनाका थप सदस्यहरूले आफ्नो प्रजनन क्षमताको बारेमा कुरा गरून् वा कम्तीमा यसबारे सोचून् भन्ने उनी चाहन्छन् ।
‘हाम्रा मानिसहरू मरिरहेका छन् । युक्रेनी जीन पूल (वंशानुगत गुण) समाप्त हुँदैछ । यो हाम्रो राष्ट्रको अस्तित्वको कुरा हो,’ पूर्वी अग्रपंक्ति (फ्रन्टलाइन) नजिकैको कुनै स्थानबाट फोनमा कुरा गर्दै ती सिपाहीले बीबीसीलाई बताए ।
३५ वर्षीय म्याक्सिम युक्रेनको नेशनल गार्डमा कार्यरत छन् । हालै बिदामा घर फर्कँदा उनकी श्रीमतीले उनलाई किभको एउटा क्लिनिकमा गएर वीर्यको नमूना छोड्नका लागि फकाइन् ।
सेवारत सैनिकहरूलाई सहयोग गर्ने एक कार्यक्रम अन्तर्गत उनको नमूना निःशुल्क फ्रिज (जमाएर सुरक्षित) गरिएको थियो ।
म्याक्सिम युद्धमा मारिए भने उनकी श्रीमतीले उनीहरूले चाहेको सन्तान जन्माउन सो नमूना प्रयोग गर्न सक्नेछिन् ।
तर, जस्तोसुकै अवस्थामा पनि परिवार सुरु गर्न उनको फ्रिज गरिएको वीर्य महत्त्वपूर्ण हुन सक्ने उनी बताउँछन् ।
‘तपाईं फ्रन्टलाइनको मुख्य विन्दु जिरो प्वाइन्टमा हुनुहोस्, वा ३० वा ८० किलोमिटर पछाडि, तपाईं सुरक्षित हुनुहुन्छ भन्ने कुनै ग्यारेन्टी छैन,’ आकाशमा उडिरहेका रूसी ड्रोनहरू सधैं खतराको रूपमा रहेको बताउँदै उनले भने ।
‘यसको अर्थ तनाव हो र यसले प्रभाव पार्न सक्छ । तपाईंको प्रजनन क्षमता घट्छ । त्यसैले हामीले भविष्य र हाम्रो युक्रेनी राष्ट्रको भविष्यबारे सोच्नुपर्छ ।’
सन् २०२२ मा रुसको पूर्ण–स्तरको आक्रमण सुरु भएपछि निजी प्रजनन क्लिनिकहरूले सैनिकहरूका लागि क्रायोप्रिजर्भेसन (हिउँमा जमाएर सुरक्षित राख्ने विधि) सेवा दिन थालेका थिए ।
युद्धमा घाइते भएमा वा प्रजनन क्षमतामा असर परेमा उनीहरूले आफ्नो वीर्य वा अण्डा निःशुल्क फ्रिज गर्न सक्थे ।
त्यसपछिको वर्ष संसद्ले यस अभ्यासलाई नियमन गर्न र राज्यकोषबाट बजेट उपलब्ध गराउन कदम चाल्यो ।
सांसद ओक्साना ड्मिट्रिएभाले यस कानुनको मस्यौदा तयार गर्न मद्दत गरेकी हुन् । उनी भन्छिन्, ‘हाम्रा सिपाहीहरूले हाम्रो भविष्यको रक्षा गरिरहेका छन् तर उनीहरूले आफ्नो भविष्य गुमाउन सक्छन् । त्यसैले हामी उनीहरूलाई यो मौका दिन चाहन्थ्यौं ।’
‘यसले उनीहरूलाई सहयोग पुर्याउँछ ताकि उनीहरूले पछि आफ्नो वीर्य प्रयोग गर्न सकून् ।’
सुरुमा राजनीतिकर्मीहरूको प्रयासले सार्वजनिक आक्रोश निम्त्याएको थियो किनकि कानुनमा दाताको मृत्यु भएमा सबै नमूनाहरू नष्ट गरिनुपर्ने प्रावधान राखिएको थियो । यो कुरा तब बाहिर आयो जब एक युद्ध–विधवाले आफ्नो श्रीमानको फ्रिज गरिएको वीर्य प्रयोग गरेर सन्तान जन्माउन खोज्दा उनलाई रोकियो ।
त्यसपछि कानुन संशोधन गरियो ताकि सबै सैनिकहरूको नमूना उनीहरूको मृत्यु भएको ३ वर्षसम्म निःशुल्क सुरक्षित राखियोस् र पार्टनरले पूर्व लिखित सहमतिको आधारमा सो प्रयोग गर्न सकोस् ।
यो कार्यक्रम रुसको आक्रमणअघि नै रहेको जनसांख्यिकीय संकट समाधान गर्न पनि लक्षित छ । युद्धमा ठूलो संख्यामा युवा र तन्दुरुस्त पुरुषहरूको मृत्यु भइरहेको छ जसले यो संकटलाई अझ गहिरो बनाएको छ ।
त्यस्तै, मुख्यतया महिलाहरू गरी लाखौं मानिसहरू शरणार्थीका रूपमा देश छाडेका छन् । चार वर्ष बितिसक्दा पनि धेरैजसो अझै विदेशमै छन् किनभने युक्रेनको जीवन सहज भइरहेको छैन ।
‘हामी भविष्य र हामीले गुमाएका सबै युवाहरूको बारेमा पनि सोचिरहेका छौं । हामीले उनीहरूको ठाउँ भर्नुपर्छ,’ ड्मिट्रिएभा भन्छिन्, ‘जनसांख्यिकीय अवस्था सुधार्न यो एउटा सानो कदम हो ।’
फ्रन्टलाइन भ्रमणका क्रममा ती सांसदले सिपाहीहरूलाई आफ्नो यौन जीवन र प्रजनन समस्याबारे कुरा गर्न र वीर्य फ्रिज गर्ने बारे सोच्न प्रोत्साहन दिन्छिन् ।
‘सुरुमा उनीहरू निकै लजाउँछन् तर हामी कुरा गर्छौं र म उनीहरूलाई अरूलाई पनि भन्न भन्छु र त्यसपछि उनीहरू आउँछन् र यो गर्छन्,’ उनी भन्छिन् ।
‘उनीहरूसँग यो मौका छ भने किन नगर्ने ? यसले केही हानि गर्दैन !’
किभको सरकारी सेन्टर फर रिप्रोडक्टिभ मेडिसिनले जनवरीदेखि सैनिकहरूलाई फ्रोजन स्पर्म कार्यक्रममा सहभागी गराउन थालेको छ ।
अहिलेसम्म करिब एक दर्जनले मात्र नाम दर्ता गराएका छन् तर यसबारे प्रचार भएपछि यो संख्या बढ्नेमा क्लिनिक विश्वस्त छ ।
‘हामी ठूलो मागको अपेक्षा गर्दछौं । हाम्रो उच्च आशा छ,’ निर्देशक ओक्साना होलिकोभाले भनिन् । प्रयोगशालामा बायोमटेरियल संकलन, तयारी र भण्डारण गरिन्छ ।
सुक्खा बरफको धूवाँ जस्तो बाफका साथ ठूला ट्यांकीहरू खुल्छन् जहाँ भित्र झुण्डिएका लामा र पातला ट्युबहरू वीर्यले भरिएका छन् ।
शान्त करिडोरहरूबाट जाँदा यस युद्धको लुकेको पीडा देखिन्छ । एउटा कोक्रोमा एक नवजात शिशु खेलिरहेको छ र एक महिला सुत्केरी व्यथामा छिन् । पूर्ण–स्तरको युद्ध सुरु भएदेखि क्लिनिकमा आउने गर्भवती बिरामीहरूको संख्या आधाले घटेको छ ।
‘महिलाहरू तनावमा छन् भने उनीहरूको महिनावारीमा समस्या हुन सक्छ । यो सबै जोडिएको छ,’ होलिकोभा भन्छिन्, ‘मेरा करिब ६० प्रतिशत बिरामीहरू एन्टि–डिप्रेसेन्ट (तनाव कम गर्ने औषधि) लिइरहेका छन् जसमा मिसाइल र ड्रोनका कारण प्यानिक अट्याक हुनेहरू पनि सामेल छन् ।’
अरू धेरैमा ढिलो जीवन सिन्ड्रोम देखिएको छ । उनीहरूले सन्तान जन्माउने लगायत जीवनका महत्त्वपूर्ण निर्णयहरूलाई थाती राखेका छन् ।
‘बम सेल्टरमा भाग्नुपर्ने अवस्था आउँछ भने महिलाहरू गर्भवती हुन डराइरहेका छन् ।’
त्यसैले युक्रेनलाई सम्भव भएसम्म प्रत्येक नवजात शिशुको आवश्यकता छ ।
तर, सैन्य परिवारहरूलाई मद्दत गर्ने कानुन सधैं सुचारु रूपमा चल्दैन ।
कटरिना मालिश्को र उनका श्रीमान् विटाली केही समयदेखि बच्चा पाउनका लागि प्रयास गरिरहेका थिए । प्राकृतिक रूपमा गर्भधारण गर्न भएका समस्याहरू युद्धका कारण सिर्जित वा थप जटिल भएको उनी विश्वास गर्छिन् ।
‘सबै तनाव र अनिँदा रातहरू,’ कटरिना भन्छिन्, ‘हरेक रात चिठ्ठा जस्तै हुन्छ । तपाईंलाई थाहा हुँदैन, भोलि बिहान तपाईं बिउँझनुहुन्छ कि हुन्न ।’
यो युवा दम्पतीले यस वर्ष आफ्नो चौथो विवाह उत्सव मनाउने थिए, शायद नयाँ बच्चाको साथमा । गत हिउँदमा उनीहरूसँग प्रजनन क्लिनिकमा तीनवटा स्वस्थ भ्रूणहरू थिए र कटरिनाको पाठेघरमा ती स्थानान्तरण गर्ने तयारी थियो ।
त्यसपछि विटाली मारिए ।
‘यो गाइडेड बमको प्रत्यक्ष प्रहार थियो, उनीसँग बच्ने कुनै मौका थिएन,’ उनले बीबीसीलाई भनिन् ।
कटरिना आफ्नो श्रीमानबिना बाँच्न कति गाह्रो भइरहेको छ भन्ने बारे खुलेर कुरा गर्छिन् । क्लिनिकले उनीसँग फ्रिज गरिएका भ्रूण वा विटालीको वीर्य प्रयोग गर्ने अधिकार नभएको बताएपछि उनको पीडा अझै थपियो ।
‘उनीहरूले यसलाई भण्डारण त गर्थे,’ उनी भन्छिन्, ‘तर मैले यसलाई प्रयोग गर्न पाउँदिनथें ।’
सांसद ओक्साना ड्मिट्रिएभाले केही क्लिनिकहरूसँग प्रत्यक्ष कुरा गरेर सैनिकका परिवारले उपचार पाउने कुरा सुनिश्चित गरेकी छन् । तर, नयाँ कानुनमा अझै केही अस्पष्टताहरू हटाउन बाँकी रहेको उनी स्वीकार गर्छिन् ।
वसन्त ऋतुमा धेरै संशोधनहरूमा मतदान हुँदैछ ।
कटरिना अत्यन्तै दुखी र निराश थिइन् । उनले अदालतको ढोका ढकढकाउनुपर्यो । भावनात्मक रूपमा थकित बनाउने ६ महिनापछि मात्र न्यायाधीशले अन्ततः उनको पक्षमा फैसला सुनाए ।
‘मैले फैसला पढें र त्यहाँ बसेर रोएँ किनभने यो हाम्रो परिवार थियो । हामीले यसका लागि लामो समयसम्म प्रतीक्षा गरेका थियौं र धेरै पीडा भोगेका थियौं,’ कटरिना सम्झिन्छिन् ।
‘मैले एकै समयमा खुसी र दुःखी महसुस गरें किनभने मैले आफ्नो अधिकारका लागि लड्नुपरेको थियो । तर, म मेरो श्रीमानको सम्मानका लागि यो गर्न चाहन्थें ।’
कटरिना अहिले नै बच्चाका लागि प्रयास गर्न तयार छैनन् । उनी आफूलाई अझै कमजोर महसुस गर्छिन् ।
उनलाई युद्ध छिट्टै समाप्त हुने कुनै आशा पनि छैन । उनलाई शान्त देशमा बच्चालाई जन्म दिन मन छ ।
‘हामीले अहिले सम्झौता गर्यौं भने यति धेरै मानिसहरू केका लागि मरे त ?’ विटालीले रक्षा गर्दागर्दै ज्यान गुमाएको जमिन युक्रेनले रूसलाई सुम्पिनुपर्छ भन्ने विचारप्रति उनको प्रतिक्रिया यस्तो छ ।
तर, कटरिना आफू तयार हुँदा आफ्नो श्रीमानको बच्चा जन्माउने विकल्प चाहन्छिन् ।
‘हाम्रा मारिएका सैनिकका छोराछोरीहरूले बाँच्ने मौका पाउनुपर्छ । उनीहरूसँग त्यही देशमा बस्ने अधिकार छ जसका लागि उनीहरूका आमाबुबाले ज्यान दिए,’ उनले भनिन् ।
निरन्तर खतरामा रहेका फ्रन्टलाइनका म्याक्सिम पनि यसमा सहमत छन् ।
‘त्यसैले मैले यो गरें र यो ठीक छ !’ ती सिपाहीले बताए, ‘किनभने हुनसक्छ भोलि म अचानक रहनेछैन । तर मेरी श्रीमतीसँग मेरो वीर्य हुनेछ र उनले प्रयोग गर्न सक्नेछिन् । यो मेरो लागि एउटा चिन्ताको विषय कम भएको छ ।’
पुरुषहरूलाई यस कार्यक्रममा सहभागी हुन मनाउनु म्याक्सिमले देखेको सबैभन्दा ठूलो समस्या हो ।
किभ क्लिनिककी निर्देशक ओक्साना होलिकोभा एक युद्ध भेट्रान (अनुभवी सैनिक) सँगको कुराकानी सम्झिन्छिन् जसले उनलाई सिपाहीहरू आँखाभरि आँसु लिएर उनीकहाँ आउने गरेको बताएका थिए किनभने उनीहरूले आफ्ना पार्टनरसँग यौनसम्पर्क गर्न वा गर्भधारण गर्न संघर्ष गरिरहेका थिए ।
‘पुरुषहरू रहस्यमयी हुन्छन् तर त्यहाँ धेरै मनोवैज्ञानिक समस्याहरू छन्,’ म्याक्सिम स्वीकार गर्छन् ।
त्यसैले सिपाहीहरूलाई सेनामा भर्ना गर्ने समयमै वीर्य फ्रिज गर्न भन्नुपर्छ जसरी उनीहरू मारिएमा पहिचान गर्न डीएनए नमूनाहरू राखिन्छ, उनी सुझाव दिन्छन् ।
‘मानिसहरूलाई पछाडि हटाइरहेको एउटै कुरा के हो भने हामीले यसबारे थप कुरा गर्न र यो किन महत्त्वपूर्ण छ भनेर बुझाउन आवश्यक छ,’ ती सिपाहीले निष्कर्ष निकाले, ‘किनभने हामी पुरुषहरूले तबसम्म केही गर्दैनौं जबसम्म कसैले हाम्रो अगाडि आएर यो गर्नैपर्छ भनेर दबाब दिँदैन ।’








प्रतिक्रिया