
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बिमा योजना सार्वजनिक गरेको छ।
एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच ! नाराका साथ सार्वजनिक गरिएको योजना हो ।
महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस योजनको मुख्य विशेषता भनेको बिमालेखको वार्षिकोत्सवमा बिमांकको आधारमा नगद सुबिधा प्रदान गरिनु,वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बिमांक रकम हरेक ५ वर्षमा २५% ले बढ्नु रहेको कम्पनीले जनाएको छ ।
नेपाली जीवन बिमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्ने कम्पनीको भनाइ छ ।
नेपाल लाइफ नारी सुरक्षा जीवन बिमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बिमा योजना हो ।
समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक नारी लक्षित, महत्त्वपूर्ण ऐच्छिक सुविधाहरू सहित यो योजना सार्वजनिक गरेको जनाएको छ । नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्ने कम्पनीको भनाइ छ ।
मातृत्व नारी जीवनको सबैभन्दा सुन्दर, महत्त्वपूर्ण र संवेदनशील समय हो । तर गर्भावस्थाको समयमा कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या पनि आइपर्न सक्छ । समग्र नारीकै लागि बनेको योजना भएपछि उनीहरुको लागि विशेष रुपमा लक्षित मातृत्व सुरक्षालाई ध्यानमा राखेर नेपाल लाइफले नेपाली जीवन बिमा जगतमै पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याएको जनाएको छ ।
गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा अनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनैपनि जटिलता पुष्टि भएमा एकमुष्ट १ लाख रुपैयाँ तुरुन्तै उपलब्ध हुने नेपाल लाइफले जनाएको छ ।
गर्भावस्था स्याहार सम्बन्धी अतिरिक्त पूरक करार सुविधा अन्तर्गत बिमा अवधीभित्र यदि बिमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ प्रदान गर्ने नेपाल लाइफले जनाएको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बिमा (मुनाफामा सरिक हुने) न्यूनतम बिमांक रकम २ लाख ५० हजार रुपैयाँ र अधिकतम बिमांक रकम आयश्रोतको आधारमा गर्न सकिने कम्पनीले जनाएको छ ।
यस योजनामा बिमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहनेछ । यस योजनासँगै विभिन्न ऐच्छिक पुरक करार सुविधा पनि लिन सकिन्छ जस्तै एडीबीः दुर्घटना मृत्यु लाभ, पीटीडीः पूर्ण स्थायी अशक्तता सुविधा, पीडब्ल्यूबीः बिमाशुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिने कम्पनीले जनाएको छ ।








प्रतिक्रिया