
एजेन्सी । बंगलादेश सरकारका निवर्तमान मुख्य सल्लाहकार मुहम्मद युनुसले आफ्नो बिदाइ सम्बोधनका क्रममा गरेको टिप्पणीले भारतमा हंगामा मच्चाएको छ ।
भारतको पूर्वोत्तर क्षेत्रलाई समेटेर उनले गरेका टिप्पणीहरू अहिले चर्चामा छन् ।
सन् २०२४ जुलाईको विद्रोहपछि बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको वर्षौंदेखिको अधिनायकवादी शासन, व्यापक संस्थागत क्षय र शान्ति–सुरक्षाको चुनौती (विशेष गरी हिन्दु अल्पसंख्यक विरुद्धको हत्याहिंसा) का बीच उत्पन्न तीव्र आन्तरिक दबाबका माझ युनुसले अन्तरिम सरकारको नेतृत्व गरेका थिए ।
युनुसले नेपाल, भुटान र सेभेन सिस्टर्स (भारतका सातवटा पूर्वोत्तर राज्यहरूलाई जनाउन प्रयोग गरिने शब्द) लाई समावेश गरेर भविष्यको आर्थिक एकीकरणको बारेमा चर्चा गरे ।
‘हाम्रा खुला समुद्रहरू सिमाना मात्र होइनन्, यी विश्व अर्थतन्त्रका प्रवेशद्वार हुन् । नेपाल, भुटान र सेभेन सिस्टर्ससँगै यस क्षेत्रमा ठूलो आर्थिक सम्भावना छ । आर्थिक क्षेत्र, व्यापार सम्झौता र भन्साररहित बजार पहुँचले हामीलाई विश्वव्यापी उत्पादन केन्द्रको रूपमा स्थापित गर्न सक्छ,’ उनले भने ।
भारतको अभिन्न अंगका रूपमा रहेके पूर्वोत्तर राज्यहरूलाई अन्य सार्वभौम देशहरूसँगै एउटै आर्थिक दृष्टिकोणमा समेटेर युनुसले स्थापित राजनीतिक सीमाहरूलाई धमिलो पार्न खोजेको भारतीय टिप्पणीकारहरूले दाबी गरेका छन् । नयाँ दिल्लीलाई उत्तेजित पार्ने र नयाँ निर्वाचित सरकार अन्तर्गत भारत–बंगलादेश सम्बन्धको पुनः सुरुवातलाई प्रभावित गर्ने प्रयासको रूपमा हेर्न सकिने उनीहरू बताउँछन् ।
उनको टिप्पणीले बंगलादेशका बन्दरगाह र सामुद्रिक पहुँचमा केन्द्रित क्षेत्रीय आर्थिक क्षेत्रको संकेत गरेको छ । त्यसले ढाकालाई छिमेकी देशहरूका लागि मात्र नभई भारतको भूपरिवेष्ठित पूर्वोत्तरका लागि पनि प्रवेशद्वारको रूपमा उभ्याउन खोजेको छ ।
यसले भारतलाई सशंकित बनाएको छ । वर्षौंदेखि भारतले आफ्नो पूर्वोत्तर क्षेत्रलाई देशको बाँकी भागसँग जोड्न बंगलादेश मार्फत सञ्चालित कनेक्टिभिटी आयोजनाहरूमा ठूलो लगानी गरेको छ ।
युनुसको भाषणले त्यस भाष्यलाई उल्ट्याउन खोज्दै यस क्षेत्रको पहुँच र अवसर अब भारतीय योजनामा मात्र नभई बंगलादेशको रणनीतिक रोजाइमा निर्भर हुने संकेत गरेको छ ।
युनुसले रणनीतिक सन्तुलनमा जोड दिँदै चीन, जापान, अमेरिका र युरोपसँगको गहिरिँदो सम्बन्धलाई उजागर गरेपछि उनको स्वर अझ तिखो बन्यो । उनले चीनको सहयोगमा सञ्चालित आयोजनाहरूको प्रगतिबारे उल्लेख गरे जसमा टिस्टा नदी आयोजना (भारतको रणनीतिक रूपमा महत्त्वपूर्ण सिलिगुडी कोरिडोर नजिकै अवस्थित) समावेश छ । चिकन्स नेक भनिने उक्त क्षेत्रलाई भारतले ऐतिहासिक रूपमा सतर्कतापूर्वक हेर्दै आएको छ ।
‘हामीले चीनसँगको सहयोगलाई पनि प्रगाढ बनाएका छौं । टिस्टा नदी आयोजना र नीलफामरीमा १ हजार शय्याको अन्तर्राष्ट्रिय अस्पताल निर्माणमा उल्लेख्य प्रगति भएको छ,’ युनुसले भने ।
क्षेत्रीय साझेदारहरूलाई आश्वस्त पार्नुको साटो उनले बंगलादेशले अब भारतीय सुरक्षा चासोसँग जोडिएका संवेदनशीलताहरूलाई प्राथमिकता नदिने संकेत दिन खोजेको भारतीयहरू बताउँछन् ।








प्रतिक्रिया