केयाल ग्रुपका ४ कम्पनीले एकै वर्ष गरे सवा १० अर्ब बढीको व्यापार, कसको कति ?

280
Shares

काठमाडौं । केयाल ग्रुप अफ कम्पनीजका चार वटा कम्पनीले एकै वर्ष सवा १० अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् ।

ग्रुपका नारायणी स्ट्रिप्स प्रालि, नारायणी स्टिल्स प्रालि, नारायणी रोलिङ मिल्स प्रालि र श्री कृष्ण स्टिल इन्डष्ट्रिज प्रालिले गत आर्थिक वर्षमा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

ग्रुपको नारायणी स्ट्रिप्सले गत आवमा ३ अर्ब ९२ करोड ३० लाख रुपैयाँ, रोलिङ मिल्सले २ अर्ब ८७ करोड १० लाख रुपैयाँ, नारायणी स्टिल्सले २ अर्ब ५८ करोड ७० लाख रुपैयाँ र श्री कृष्ण स्टिल इन्डष्ट्रिजले ९३ करोड ७० लाख रुपैयाँको व्यापार गरेका छन् । ग्रुपका चार वटा कम्पनीको तथ्याङ्क हेर्दा गत आवमा व्यापार उल्लेख्य बढेको पाइएको छ ।

ग्रुपले चार कम्पनीमार्फत दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब १४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ।

कुन कम्पनीले कति गरे व्यापार?

नारायणी स्ट्रिप्स प्रालिः नारायणी स्ट्रिप्सले गत आवमा ३ अर्ब ९२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ३ अर्ब ३४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीको व्यापार गत आवमा १४ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार गत आवमा उच्च परिमाणमा सामग्री बिक्री हुँदा व्यापार बढेको हो । कम्पनीले गत आवमा ३५ हजार ६ सय ७ मेट्रिक टन सामग्री बिक्री गरेको थियो । सन् २०२४ मा २७ हजार ९ सय ५८ मेट्रिक टन सामग्री बिक्री गरेको थियो । तर, कम्पनीको नाफा भने घटेको छ । सन् २०२४ मा २.९३ प्रतिशत नाफा कमाएकोमा गत आवमा २.५२ प्रतिशत नाफा कमाएको छ ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले पाइप, सिट्स, स्लिट्स, रिज, चेकर प्लेट उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको स्टिल ‘नारायणी’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०१६ देखि व्यावसायिक कारोबार सुरु गरेको थियो । कम्पनीसँग ५ लाख ८२ हजार ४ सय मेट्रिक टन सामग्री उत्पादन क्षमता छ ।

सत्यनारायण केयाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब २० करोड २१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब २४ करोड ५३ लाख रुपैयाँको रेटिङ गराएको हो ।

नारायणी रोलिङ मिल्स प्रालिः नारायणी रोलिङ मिल्सले गत आवमा २ अर्ब ८७ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब ८० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा ३८ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा उच्च व्यापार गर्दा नाफा पनि बढेको पाइएको छ । कम्पनीले गत आवमा १ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

सन् १९९२ मा स्थापना भएको कम्पनीले सन् १९९५ देखि डण्डी, एन्जल्स र अन्य अलाइन्ड सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ४८ हजार ३ सय मेट्रिक टन उत्पादन क्षमतामा सञ्चालन गर्दै आएको छ ।

कम्पनीको कुल सञ्चय नगद ४ करोड ८० लाख रुपैयाँ रहेको छ । सत्यनारायण केयल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६९ करोड २१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड २८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६१ करोड ९२ लाख रुपैयाँको रेटिङ गराएको हो ।

नारायणी स्टिल्स प्रालिः नारायणी स्टिल्सले गत आवमा २ अर्ब ५८ करोड ७० लाख रुपैयाँ व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ९८ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब १५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा ३० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार बढेसँगै नाफा पनि उच्च कमाएको छ । कम्पनीले गत आवमा ९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवमा ७ करोड रुपैयाँ ब्याज तिरेको छ । सन् २०२३ मा ११ करोड २० लाख रुपैयाँ ब्याज तिरेको थियो । सन् २००४ मा स्थापना भएको कम्पनीले तार, नेल्स र अन्य स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०१८ बाट मात्रै व्यावसायिक कारोबार सुरु गरेको थियो । जसमा कम्पनीले ६५ हजार मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गरिरहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४७ करोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको हो ।

श्री कृष्ण स्टिल इन्डष्ट्रिज प्रालिः कम्पनीले गत आवमा ९३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ८४ करोड रुपैयाँ र सन् २०२३ मा ८६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा १२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार बढे पनि नाफा भने कमाउन सकेको छैन । कम्पनीले गत आवमा ३ करोड ७० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । सन् २०२४ मा ५ करोड ८० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।

सन् १९९५ मा स्थापना भएको कम्पनीले पाइप, सिट्स, शटर पत्ति उत्पादन गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६३ करोड ३२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २४ करोड ४७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३८ करोड ८४ लाख रुपैयाँको रेटिङ गराएको हो ।