व्यवसायलाई सहजीकरण गर्ने जिम्मेवारी सरकारकै हो

63
Shares

कैलाश हेलिकप्टरका सञ्चालक प्रतापजंग पाण्डे वायुसेवा सञ्चालक संघका अध्यक्ष पनि हुन् । व्यवसायिक क्षेत्रमा उनको ३ दशक लामो अनुभव छ । उनी भदौ २३ र २४ को जेनजी विद्रोहका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले समग्र निजी क्षेत्रको आत्मविश्वासमा ठूलो धक्का पुर्‍याएको बताउँछन् । जेनजी विद्रोहका कारण व्यवसायीले भोग्नुपरेको आर्थिक तथा भौतिक क्षति र लगानीको खस्कँदो वातावरणबारे पाण्डेको अनुभव र विश्लेषण यहाँ प्रस्तुत गरिएको छ । प्रस्तुत छ, ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ सम्बन्धी अध्ययनका लागि व्यवसायी पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश:

जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?

म प्रबन्ध निर्देशक रहेको कैलाश हेलिकप्टर सर्भिसेसमा जेनजी प्रदर्शनका क्रममा प्रत्यक्ष क्षति भएन । म संलग्न रहेको व्यवसायमा मात्रै नभई सबै ठाउँका विमान र विमानस्थल सुरक्षित अवस्थामा थिए । तर, यसको मनोवैज्ञानिक असर भने हामी सबैले झेल्नुपर्‍यो ।

देशैभर भएको आन्दोलन र हिंसात्मक गतिविधिले एक व्यवसायी र नेपाली नागरिक हुनुको नाताले भने मुलुकले ठूलो क्षति बेहोरेको महसुस भयो । देश नै आक्रान्त भएकोले व्यक्तिगत रूपमा त्यसको असर हामी सबैमा पर्नु स्वाभाविक पनि थियो ।

जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्‍यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?

यसअघि भएका आन्दोलन र हिंसात्मक गतिविधिले देश विकासलाई पटकपटक असर गर्दै आएको थियो । त्यसमा जेनजी आन्दोलन पनि थपियो जसले आर्थिक विकासमै धक्का पुर्‍याएको छ ।

यो अवस्थामा अहिले थप लगानी गर्ने भनेर भनिहाल्न सक्ने अवस्था छैन । अहिले लगानी विस्तार र थपको योजनालाई पर्ख र हेरको अवस्थामा राखेको छु ।

जेनजी प्रदर्शनका कारण लगानीको वातावरणमा कतिको धक्का पुगेको महसुस गर्नुभएको छ ?

जेनजी प्रदर्शन एउटा आन्दोलनमा मात्रै सीमित रहेन । हिंसात्मक गतिविधि भएका कारण यसले मुलुकको विकास निर्माणलाई नै केही वर्ष पछाडि धकेलेको छ । सरकारीदेखि निजी क्षेत्र र व्यक्तिगत रूपमा समेत प्रदर्शनकारीले आक्रमण गरेका कारण लगानीको वातावरणमा असर परेको छ । त्यसैले व्यक्तिगत रूपमा भन्दा म व्यवसाय विस्तारमा लागिहाल्ने अवस्थामा छैन ।

यस अवस्थामा सरकारले व्यावसायिक वातावरण बनाउन जति प्रयास गरेको छ, त्यो पर्याप्त छैन । अहिलेको परिस्थिति र अवस्थालाई दृष्टिगत गरी निजी क्षेत्रलाई थप भरोसा दिने काममा सरकार अगाडि बढ्न आवश्यक छ ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्‍यो ?

जेनजी आन्दोलनले उद्यमीहरूको विश्वास र भरोसामा असर पारेको छ । यसले निजी क्षेत्रको थप लगानी गर्ने मनोबल कमजोर बनाएको छ । यस स्थितिबाट तत्कालै व्यावसायिक वातावरण बनिहाल्छ भन्नेमा आशावादी हुने ठाउँ छैन ।

निजी क्षेत्रमा भएको आक्रमणसँगै पर्यटन क्षेत्रले समेत ठूलो क्षति बेहोरेको छ । हालको यस स्थितिबाट माथि उठ्न समय लाग्ने देखिन्छ । आन्दोलनपछिको अनिश्चिततासँगै निजी क्षेत्रमा भौतिक र आर्थिक दुवै रूपले असर परेको छ ।

जेनजी प्रदर्शनले सुदृढ हुँदै गरेको लगानी वातावरणमा असर गरेको छ । यसको असर दीर्घकालसम्म रहिरहन सक्छ ।

तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको त्रासहरू के–के छन् ?

धेरै कुराहरू विस्तारै मिल्दै र राम्रो हुँदै जाने विषयमा आशावादी हुन सकिए पनि तत्कालका लागि सुरक्षा नै निजी क्षत्रको प्रमुख चासोको विषय बनेको छ । सरकारले आम नागरिकलाई सुरक्षित भएर बाँच्न दिनुपर्ने र उद्यमी व्यवसायीलाई समेत सुरक्षाको प्रत्याभूति दिनुपर्ने काममा अग्रसर हुन जरुरी छ ।

तनावकै बीचमा आफ्नो व्यावसायिक गतिविधिलाई भने सबैले निरन्तरता दिइरहेका छन् । व्यवसाय गर्नैपर्ने अवस्थाका कारण पनि जे जति सकिन्छ त्यो गर्नुपर्ने अवस्था छ ।

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण बनाउन सरकारले गरेका प्रयासहरू कतिको प्रभावकारी छन् ?

सरकारले हालसम्म जे जति प्रयास गरेको छ, त्यो पर्याप्त छैन । सरकारले निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास गरेको जस्तो देखिए पनि त्यो प्रभावकारी र मनोबल उकास्ने किसिमको छैन ।

सरकारले व्यावसायिक वातावरण जोगाउन सकेको भए निजी क्षेत्रले आन्दोलनको नाममा ठूलो क्षति बेहोर्नुपर्ने स्थिति आउने थिएन । त्यसैले आम जनता र उद्यमी–व्यवसायीलाई सरकारले सुरक्षित वातावरण दिन सक्नुपर्छ । यसका लागि लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनको असरबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?

यस विषयमा मिडियाले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । विशेषगरी सामाजिक सञ्जालसहित सञ्चारमाध्यमले दिने सकारात्मक सन्देशबाट आम जनताले धारणा बनाइरहेका हुन्छन् ।

हामीले नकारात्मक कुराहरूलाई मात्र हाइलाइट गरेको खण्डमा त्यसले समाजमा नकारात्मक असर पार्छ  । त्यसैले सबैले सकारात्मक सोचका साथ अगाडि बढेमा निजी क्षेत्रलाई हेर्ने नजर परिवर्तन हुन्छ ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारले नै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । लगानीमैत्री वातावरण बनाउन सरकारले एकद्वार नीति बनाएर जानुपर्छ ।

व्यवसायीलाई सहजीकरण गर्ने जिम्मेवारी सरकारको मुख्य भएकाले उसले नीतिदेखि सुरक्षाका हरेक विषय हेर्नुपर्छ । सरकारले व्यावसायिक वातावरण सहजीकरण गर्नुपर्ने माग गर्दै निजी क्षेत्रले लामो समयदेखि एकद्वार नीतिको माग गरिरहेको छ । यस्ता मागहरूको उचित सम्बोधन गर्दै गएमा लगानीको वातावरण सुधार हुने देखिन्छ ।

(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययनका क्रममा सोधिएका प्रश्नहरुमा कैलाश हेलिकप्टर सर्भिसेजका प्रबन्ध निर्देशक पाण्डेले दिएको जवाफका आधारमा तयार पारिएको हो।)

Skip This