
काठमाडौं । देश निर्वाचनको सँघारमा रहँदा बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ ।
विगत केही समयदेखि खानेतेल, चामल र दालजस्ता अत्यावश्यक सामग्रीको भाउ बढेको छ भने खाना पकाउने ग्यासको अभाव अझै टर्न सकेको छैन ।
विशेषगरी खानेतेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । यसले सर्वसाधारण उपभोक्ताको भान्छाको बजेटमा प्रत्यक्ष असर पारेको छ । व्यवसायीहरूका अनुसार पछिल्ला दिनहरूमा खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको छ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बजारमा दाल, चामल र तेलको भाउ बढेर आएको पुष्टि गरे। उनका अनुसार उत्पादक र आयातकर्ताले नै अधिकतम बिक्री मूल्य (एमआरपी) बढाएर पठाएका कारण खुद्रा व्यापारीले पनि महँगोमा बेच्नुपरेको हो।
‘तेल र चामलमा अत्यधिक मूल्यवृद्धि भएको छ । एक-डेढ महिनाअघि २४५ रुपैयाँमा बिक्री हुने सामान अहिले ३ सय रुपैयाँसम्म पुगेको छ,’ महासचिव तुलाधरले भने, ‘हिजोआज प्रायः सामानमा एमआरपी उल्लेख भएरै आएको हुन्छ। खुद्रा व्यापारीले एमआरपी तोक्ने होइन, त्यो त उत्पादक र आयातकर्ताको काम हो। एमआरपी सही छ कि छैन भनेर हेर्ने काम अनुगमनकारी निकायको हो। हामीले त जति तोकिएको छ, त्यही मूल्यमा बेच्ने हो। २४० को लेबल भएको सामान २९० मा बेच्न मिल्दैन र त्यसो गरिएको पनि छैन ।’
उनका अनुसार डलरको भाउ बढ्नु र कच्चा पदार्थको मूल्यमा वृद्धि हुनुलाई नै उत्पादकहरूले मूल्यवृद्धिको मुख्य कारण बताएका छन्। आपूर्तिमा असहजता हुँदा पनि भाउ बढ्ने गरेको भन्दै यसबारे वाणिज्य विभागले गम्भीर चासो देखाउनुपर्ने तुलाधरको भनाइ छ ।
बजारमा निजी क्षेत्रले मूल्य बढाइरहँदा सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने आफ्ना उत्पादनमा मूल्यवृद्धि नगरेको जनाएको छ ।
साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले संस्थासँग मौज्दात रहेका सामग्रीहरू पुरानै दरमा बिक्री भइरहेको बताए ।
झाका अनुसार अहिले साल्ट ट्रेडिङसँग १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन मौज्दात छ, जसले आगामी ६ महिनालाई पुग्छ। यसैगरी, काठमाडौँ कार्यालयमा ६ हजार ४४३ क्विन्टल चिनी स्टक रहेको र अन्य कार्यालयमा पनि पर्याप्त मौज्दात रहेको छ ।
‘हामीसँग भएको नुन, दाल र चामलको स्टकमा मूल्यवृद्धि गरेका छैनौँ । तर, बजारबाट नयाँ खरिद गरेर ल्याउनुपर्ने खाद्यवस्तुमा भने भाउ बढेर आउने सम्भावना छ,’ उनले भने, ‘विशेषगरी कच्चा पदार्थको महँगीले आगामी दिनमा चुनौती थप्न सक्छ। ग्यासको हकमा भने अहिले कुनै अभाव छैन। कोटेश्वर डिपोमा १८ सय सिलिन्डर स्टक छ र नियमित वितरण भइरहेको छ। थप ९० टन ग्यास बोकेका बुलेटहरू नेपाल भित्रिँदै छन् भने अरू बुलेटहरू भारततर्फ गइरहेका छन्। हामीले दैनिक विवरण वाणिज्य विभागलाई बुझाउने गरेका छौँ।’
बजारमा देखिएको मूल्यवृद्धि र ग्यास अभावको गुनासोपछि सरकारले अनुगमनलाई तीव्र बनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरी तिवारीले उपभोक्ताको हित रक्षाका लागि टोलीहरू परिचालन गरिएको जानकारी दिए ।
‘खानेतेल र चामलमा मूल्यवृद्धि भएको गुनासो आएपछि हामीले सघन अनुगमन गरेका छौँ। चामलमा त्यस्तो ठूलो मूल्यवृद्धि नदेखिए पनि तेलमा समस्या देखिएको छ। ग्यासको हकमा जाडोयाममा माग १५ प्रतिशतले बढ्ने गर्छ, जसले गर्दा आपूर्तिमा केही चाप देखिएको हो,’ उनले भने, ‘हामीले दैनिक ४ वटा अनुगमन टोली परिचालन गरेर ग्यास डिपोदेखि वितरकसम्म पुगिरहेका छौँ। कसैले स्टक राखेर कालोबजारी गरेको पाइएमा कडा कारबाही हुनेछ। पछिल्ला दिनमा करिब ९० भन्दा बढी फर्महरूमा अनुगमन गरी कैफियत देखिएकालाई कारबाही गरिएको छ।’
विभागले आपूर्ति शृङ्खलामा अवरोध गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा निगरानी राखेको र यो समस्या छिटै समाधान हुने विश्वास दिलाएको छ।








प्रतिक्रिया