सामाजिक परिवर्तनलाई खतराको रूपमा नभई विकासको संकेतको रूपमा लिनुपर्छ

28
Shares

म यस्तो कम्पनीको प्रतिनिधित्व गर्छु जुन २० वर्षभन्दा बढी समयदेखि नेपालमा लगानीकर्ताको रूपमा रहेको छ । हामी नेपालका लागि उत्साही लगानीकर्ता हौं र नेपालमा लगानी जारी राख्नुपर्नेमा हामी विश्वास गर्छौं ।

यो लगानीका लागि राम्रो ठाउँ हो । मेरो कम्पनी अहिले आफूलाई बहुमत नेपाली स्वामित्व भएको नेपाली कम्पनीमा रूपान्तरण गर्ने प्रक्रियामा छ । यी कदमहरूले केही समय लिनेछन् तर यसले यस बजारप्रति हाम्रो विश्वासलाई प्रमाणित गर्छ ।

यहाँ उपस्थित हुन पाउनु मेरो अहोभाग्य हो । यस महत्त्वपूर्ण अनुसन्धानको साक्षी हुन पाउनु एउटा विशेष अवसर हो र यसका लागि पहल गरेकोमा हामीले क्लिकमान्डुका हाम्रा साथीहरूलाई धन्यवाद दिनैपर्छ । अनुसन्धानका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ, तर मलाई लाग्छ यो एक धेरै महत्त्वपूर्ण कदम हो ।

यस्ता क्षणहरू मूल्यवान हुन्छन् किनभने तिनीहरूले हामीलाई तयारी जवाफ मात्र दिँदैनन्, बरु सोच्ने, मनन गर्ने र अनुकूलन हुने अवसर दिन्छन् । यो (सामाजिक) आन्दोलन सेप्टेम्बरका घटनाहरूभन्दा पहिले पनि भइरहेकै थियो । यो सेप्टेम्बरपछि पनि रहनेछ ।

तर, यसले हामीलाई एउटा मौलिक कुराको सम्झना गराउँछ । त्यो के भने बजारहरू एक्लै चल्दैनन् र व्यवसायहरू हाम्रो संसारलाई आकार दिने सामाजिक, आर्थिक र पुस्तागत परिवर्तनहरूसँग गहिरो रूपमा जोडिएका हुन्छन् ।

आन्दोलन भएको यो पहिलोपटक होइन । यस देशमा र विश्वका अन्य ठाउँहरूमा सन् १९८० को दशकमा आन्दोलन भएको थियो । सन् १९६० को दशकमा युरोप र अमेरिकाका ठूला आन्दोलनहरूमा पनि यस्तै भएको थियो ।

हाम्रो कम्पनी सेप्टेम्बर(भदौ २३/२४ ) का घटनाहरूबाट प्रत्यक्ष प्रभावित भए पनि हामी यसलाई फराकिलो दृष्टिकोणबाट हेर्छौं । यो कुनै नौलो परिस्थिति होइन र यो नेपालको मात्र समस्या होइन भन्ने कुरा म स्वीकार गर्छु ।

विश्वका धेरै समाजहरूले हालै यस्तै खालका चुनौतीहरूको सामना गरेका छन्- मेडागास्कर, बंगलादेश । यी दुई बजारहरूलाई म राम्रोसँग बुझ्छु र त्यहाँ बसेको पनि छु र केन्यामा समेत पछिल्ला केही वर्षहरूमा ठूलो प्रभाव परेको छ । हामी सबैले यी युवा र प्रगतिशील आन्दोलनहरूको प्रभाव महसुस गरेका छौं ।

यी सबै बजारहरूमा सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो हिस्सा समाजका युवाहरूमा रहेको कुरा टिपोट गर्नु महत्त्वपूर्ण छ ।

क्लिकमान्डुको अनुसन्धान प्रतिवेदन ठ्याक्कै सही समयमा आएको छ जब यो राष्ट्र नयाँ सरकार गठनका लागि निर्वाचनको प्रक्रियामा छ । पुस्तागत आन्दोलनहरूले कसरी व्यापारिक इकोसिस्टमलाई प्रभाव पार्छ भन्ने अन्तर्दृष्टि यस प्रतिवेदनले प्रदान गर्छ र लगानीकर्ताको विश्वास गतिशील हुन्छ भनी हामीलाई सम्झाउँछ

एक कम्पनीको रूपमा हामीले युवाहरूसँग अझ बढी संलग्न हुनुपर्छ, उनीहरूका कुरा सुन्नुपर्छ उनीहरूलाई हाम्रो निर्णय प्रक्रियामा समावेश गर्नुपर्छ र द्रुत गतिमा काम गर्नुपर्छ ।

हाम्रो कम्पनी मात्र होइन, हाम्रा संस्था र हाम्रा बहसमा पनि यो आवश्यक छ । मैले सेवा गर्ने मानिसको जनसांख्यिकी र लैंगिक विविधतालाई राम्रोसँग प्रतिबिम्बित गर्न मेरो कम्पनीको संरचनामा पहिले नै मौलिक रूपमा परिवर्तन गरिरहेको छु ।

लगानीकर्ताको आत्मविश्वास केवल वित्तीय सूचकहरूले मात्र निर्धारण गर्दैन । यो विश्वासबाट प्रभावित हुन्छ । संस्थाहरूमाथिको विश्वास, पारदर्शिता, नियमनको प्रयोगमा स्पष्टता, हामीले काम गर्ने तरिकामा अनुकूलन र समाजमा भइरहेका बहसहरूको सान्दर्भिकता ।

एनसेलको परिप्रेक्ष्यमा भन्नुपर्दा, हामी यस्तो क्षेत्रमा काम गर्छौं जसले हरेक दिन लाखौं मानिसहरूलाई जोड्छ । हामी यी परिवर्तनहरूलाई वास्तविक समयमा अनुभव गर्छौं ।

दूरसञ्चार, नेटवर्क र सामाजिक सञ्जाल हाम्रा आधारभूत आवश्यकता, हाम्रा औजार र हामीले प्रदान गर्ने सेवाहरू हुन् । युवा पुस्ताले नयाँ अपेक्षाहरू बोकेर आउँछन् । उनीहरू हामीबाट जवाफदेहिता, उद्देश्य र डिजिटल उत्कृष्टताको माग गर्छन् जुन हामीसँग अहिले पर्याप्त छैन ।

मलाई यहाँ एकछिन रोकिन दिनुहोस् । पर्यटकको रूपमा यस देशमा आउने जो कोही, जस्तै जनवरी महिनामा आएका ९० हजार मानिसमध्ये धेरैजसो, ५जी फोन लिएर आउँछन् तर यहाँको कमजोर ४जी नेटवर्कमा खुम्चिनुपर्छ । हामी हाम्रो सूचना प्रविधि पूर्वाधारमा हाम्रा छिमेकीहरूभन्दा पनि ५ देखि १० वर्ष पछाडि छौं । उनीहरू वास्तविक र अर्थपूर्ण संलग्नता चाहन्छन् ।

लगानीकर्ताहरूका लागि यी त्यस्ता संकेत हुन् जसलाई हामीले सुन्नैपर्छ । वास्तवमा, मेरो कम्पनीले प्रदान गर्ने सेवाहरू आधारभूत अधिकार हुन् र ती बिस्तारै वा वास्तवमा भन्नुपर्दा निकै छिटो मानवअधिकारको रूपमा विकसित भइरहेका छन् ।

सामाजिक पुस्तागत परिवर्तनका अवधिहरू विशेषगरी हामी जस्ता पाका मानिसहरूका लागि सुरुमा चुनौतीपूर्ण लाग्न सक्छन् । लगानीकर्ताको धारणा प्रायः जोखिमप्रति छिटो प्रतिक्रिया दिने किसिमको हुन्छ, तर ती व्यवसाय, सरकार र समाजहरू मात्र लचिलो हुन्छन् जसले अवरोधलाई खतराको रूपमा नभई विकासको संकेतको रूपमा व्याख्या गर्छन् भनी समाजले हामीलाई देखाउँछ ।

हामीले फराकिलो दृष्टिकोण राख्न आवश्यक छ । नेपाल लगानीका लागि उत्कृष्ट ठाउँ हो । तपाईंहरू भूगोलको कैदी हुनुहुन्छ । एउटा सुन्दर भूगोल र दुईवटा विशाल शक्तिहरूको बीचमा अवस्थित हुनुहुन्छ ।

मेरो आफ्नै देश क्यानडा पनि एउटा ठूलो शक्तिको छिमेकी हो, एउटा विशाल शक्ति जो अहिले अलि खराब व्यवहार गरिरहेको छ । क्यानडेली हुनुको नाताले हामीलाई आफ्नो छुट्टै पहिचान बनाउनु जति महत्त्वपूर्ण छ, तपाईंले पनि पछिल्ला ४० वर्षमा नेपाललाई छिमेकीहरूभन्दा फरक देखाउन जुन प्रयास गर्नुभएको छ, त्यो उत्तिकै महत्त्वपूर्ण छ ।

हामीले हाम्रो कम्पनी र समाजलाई नयाँ यथार्थसँग अनुकूल बनाउन आवश्यक छ ।

एक कम्पनीका रूपमा हामीले हाम्रो नियामक स्थिति र वातावरणको बारेमा रहेको अस्थायी अनिश्चिततालाई चिर्नुपर्छ । हाम्रो वित्तीय स्थिति बलियो छ । हामीसँग स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा यहाँ ४जी र अझ राम्रो नेटवर्क ल्याउन २० देखि २५ करोड डलर उठाउने क्षमता छ जुन हामी नेपाली कम्पनीको रूपमा स्थानीय सेयर बजारबाट पनि उठाउन सक्छौं । किन ? ताकि हामी पहिले आन्तरिक रूपमा प्रतिस्पर्धी हुन सकौं, हाम्रा व्यवसायहरूलाई राम्रो शिक्षा र प्रतिस्पर्धी लाभहरू प्रदान गर्न सकौं ताकि तिनीहरू स्थानीय र अन्तर्राष्ट्रिय रूपमा फस्टाउन सकून् र त्यसपछि देशमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरेर युवाहरूका लागि रोजगारी र अवसरहरू सिर्जना गर्न सकौं ।

नोभेम्बरमा मेरो आगमनको पहिलो महिनामा मैले शहर घुम्दा राहदानी विभागमा धेरैपटक मानिसहरूको ठूलो घुइँचो देखें । सबै बाहिरिन खोजिरहेका युवाहरू । यो एउटा त्रासदी हो । हामीले यसलाई सुधार्नुपर्छ । हामी हाम्रो भूमिका खेल्नेछौं । हामी नेपाली कम्पनी बन्नेछौं र आगामी २० देखि २५ वर्षसम्म हामीले गर्नुपर्ने कामहरू गर्नेछौं ।

समाजमा सकारात्मक योगदान पुर्‍याउने कम्पनीहरू अस्थिरताको सामना गर्न बढी सक्षम हुन्छन् भन्ने कुरा लगानीकर्ताहरूले अब बुझ्न थालेका छन् । व्यापार रणनीति सामाजिक र आर्थिक प्रभावसँग जोडिँदा आत्मविश्वास अझ गहिरो हुन्छ किनभने सरोकारवालाहरूले त्रैमासिक प्रदर्शन मात्र नभई दीर्घकालीन अस्तित्व देख्छन् ।

नेपालको वास्तविक परीक्षा त त्यस समयमा उठेका मुद्दाहरूको समाधानमा छ । मार्चमा हुने उत्पादक, प्रतिनिधिमूलक, शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासले विश्वलाई हाम्रो समाजको परिवर्तन पहिचान गर्ने, अनुकूल हुने, रूपान्तरण लागू गर्ने र भविष्यका लागि निर्माण गर्ने क्षमता देखाउनेछ

यहाँ अरु धेरै चुनौतीहरू छन्, जसलाई म अवसर भन्छु । जस्तो, ५जी मा स्तरवृद्धि गर्ने, घरघरमा गिगाबिट सेवाहरू पुर्‍याउने , राजस्व बढाउने र दिगोपन सुनिश्चित गर्ने र समाजको डिजिटल भविष्य निर्माणमा योगदान दिने ।

अपेक्षाहरू विकसित हुँदै जाँदा हाम्रो जिम्मेवारी पनि बढ्दै जान्छ र यसका साथै उपभोक्ता, देश र कम्पनीका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्ने अवसरहरू पनि आउँछन् ।

क्लिकमान्डुको अनुसन्धान प्रतिवेदन ठ्याक्कै सही समयमा आएको छ जब यो राष्ट्र नयाँ सरकार गठनका लागि निर्वाचनको प्रक्रियामा छ । पुस्तागत आन्दोलनहरूले कसरी व्यापारिक इकोसिस्टमलाई प्रभाव पार्छ भन्ने अन्तर्दृष्टि यस प्रतिवेदनले प्रदान गर्छ र लगानीकर्ताको विश्वास गतिशील हुन्छ भनी हामीलाई सम्झाउँछ । यसलाई जिम्मेवार नेतृत्व, दीर्घकालीन सोच र परिवर्तनमा सहभागी हुने इच्छाशक्तिद्वारा समर्थन गर्नुपर्छ ।

अन्त्यमा, भविष्यलाई हेर्दा म आशावादी छु । जेनजी आन्दोलनको ऊर्जा, सुझबुझपूर्ण व्यापार नेतृत्व र विचारशील लगानीले नवप्रवर्तन, प्रत्यक्ष वैदेशिक लगानी र सुदृढ बजारलाई गति दिन सक्छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रचुर सम्भावना छ र हामी यसका लागि सधैं वकालत गर्नेछौं ।

भविष्यको परीक्षा र नेपालको परीक्षा सेप्टेम्बर २०२५ का घटनाहरूमा मात्र सीमित छैन ।

नेपालको वास्तविक परीक्षा त त्यस समयमा उठेका मुद्दाहरूको समाधानमा छ । मार्चमा हुने उत्पादक, प्रतिनिधिमूलक, शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासले विश्वलाई हाम्रो समाजको परिवर्तन पहिचान गर्ने, अनुकूल हुने, रूपान्तरण लागू गर्ने र भविष्यका लागि निर्माण गर्ने क्षमता देखाउनेछ । यो नेपालीहरू र यहाँ केही समयका लागि वा जीवनभरिका लागि बस्ने सबैको परीक्षा हो ।

(‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) माइकल फोलेले व्यक्त गरेको विचारको भावानुवाद ।)