
‘जेनजी’ आन्दोलनपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण सम्बन्धमा व्यावसायिक वातावरण निर्माताको जिम्मेवार नेपाल सरकार र लगानीको लागि तत्पर निजी क्षेत्रलाई एकै मञ्चमा राखेर आयोजना भएको यस छलफल कार्यक्रममा सहभागी गराउनुभएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । आजको यो कार्यक्रम सामान्य बहस होइन, बदलिँदो परिवेशमा देशमा लगानीको वातावरण निर्माणका लागि चालिएको एक महत्वपूर्ण कदम हो।
क्लिकमान्डु रिसर्चले सार्वजनिक गरेको अध्ययनले ‘जेनजी’ विद्रोह पछिको अवस्थामा निजी क्षेत्रले भोगेको भौतिक क्षति भन्दा गहिरो मनोवैज्ञानिक क्षति औंल्याएको छ । लगानीकर्ताको आत्मविश्वास घट्नु भनेको केवल व्यापार घट्नु होइन, यसको अर्थ रोजगारी घट्नु, राजस्व घट्नु र अन्ततः राज्यको क्षमता कमजोर हुनु हो । लगानीकर्ताको माग लगानीको वातावरण हो, यस अन्तर्गत लगानीकर्ताको सुरक्षा, उद्योग व्यवसाय आदिको सुरक्षा पनि एक महत्वपूर्ण तत्व हो । सुरक्षाकर्मीको उपस्थितिले मात्र सुरक्षा सुनिश्चित हुँदैन, सुरक्षा भनेको कानुन लागु हुन्छ भन्ने विश्वास, सम्पत्ति माथि आक्रमण हुँदैन भन्ने भरोसा र दण्डहीनताले प्रश्रय नपाउने प्रत्याभूति हो ।
राजनीतिक अस्थिरता, हिंसात्मक गतिविधि र दण्डहीनताले निजी क्षेत्रलाई राज्यबाट टाढा धकेल्ने अवस्था आउँछ । यो अवस्था दीर्घकालीन रूपमा राष्ट्रको लागि खतरनाक छ ।
व्यवसाय, उद्योग र लगानीको सुरक्षा राज्यको प्राथमिक जिम्मेवारी हो । कुनै पनि नाममा हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैन । म विश्वास दिलाउन चाहन्छु, यस अध्ययनमा उठाइएका निष्कर्षहरु सरकारको लागि आलोचना मात्र होइन, सुधारको स्पष्ट रोडम्याप पनि हो । राज्य र निजी क्षेत्र बीच विश्वासको पुल पुनर्निर्माण नगरी आर्थिक पुनरुत्थान सम्भव छैन । आजको यो बहस त्यस दिशामा महत्वपूर्ण कदम रहेको छ । प्रतिकूल परिस्थितिका बाबजुद निजी क्षेत्रले उच्च हौसला कायम राखेकोले देशको अर्थतन्त्र पुनः गतिशील बन्दै गएको अवस्था छ । यसको लागि नेपाल सरकारको तर्फबाट समग्र निजी क्षेत्रलाई धन्यवाद दिन चाहन्छु ।
वर्तमान नागरिक सरकार ‘जेनजी’ जनआन्दोलन पश्चातको त्रासादीपूर्ण अवस्थामा गठन भएको तथ्य जगजाहेर छ । तत्कालीन त्रासादीपूर्ण अवस्थाबाट आजको अवस्थासम्म आइपुग्दा स्थितिलाई सामान्यीकरण गर्दै प्रतिनिधि सभाको निर्वाचनको संघारमा आइपुगेका छौं । स्थितिलाई सामान्यीकरण गर्न सहयोग पुर्याउनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र आसन्न प्रतिनिधि सभा निर्वाचनलाई निजी क्षेत्रले समेत अपनत्व लिई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आफ्नो स्थानबाट सहयोग गर्नेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
यस बीचमा जुन यो ‘जेनजी’ विद्रोह पछिको लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण सम्बन्धी रिपोर्ट प्रस्तुत भयो र यसमा जे जस्तो पब्लिकको पर्सेप्सन, खास गरेर सरोकारवालाको पर्सेप्सन आएको छ त्यसलाई मैले ध्यान दिएर गम्भीरतापूर्वक लिएको छु । यहाँ अहिले खाली प्रतिक्रिया दिनु भन्दा पनि यसलाई हामीले छलफलको विषय बनाउँछौं । यसलाई हामी रेस्पोन्सिभ भएर नै मैले चाहिँ यसमा केही धारणाहरु बनाउने, संस्थागत धारणा बनाउनेछौं । हामी सरकारको तहमा पनि उद्योग मन्त्रीज्यु यहीँ हुनुहुन्छ, अर्थ मन्त्रीज्यु नआए पनि उहाँलाई हामीले हाम्रा कुराहरु जाहेर गर्छौं।
कतिपय विषयवस्तुहरु गृह मन्त्रालयसँग सम्बन्धित छन् ती विषयमा पनि हामीले मन्त्रालयमा गएर छलफल गर्नेछौं त्यति म आश्वस्त पार्न चाहन्छु । र अन्त्यमा, यथार्थपरक अध्ययन प्रस्तुति गर्नुभएकोमा क्लिकमान्डु टिमलाई धन्यवाद दिन चाहन्छु र यहाँबाट उठेका सुझावहरु नीतिगत तहमा गम्भीरतापूर्वक लिइने प्रतिबद्धता व्यक्त गर्दछु ।
(‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले व्यक्त गरेको विचार।)








प्रतिक्रिया