सुरक्षा मापदण्ड पूरा गरेरै उडान अनुमति पाएको सौर्य एयरलाइन्सको भनाइ, छिट्टै नियमित उडान गर्ने


काठमाडौं । सौर्य एयरलाइन्स प्राइभेट लिमिटेडले हालै विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित विचलनकारी निर्णय, लगानी र सुरक्षाको प्रतिबद्धताबिनै सौर्यको एओसी फुकुवा लगायतका शीर्षकका समाचारहरू तथ्यहीन र पूर्वाग्रही रहेको दाबी गर्दै ती समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एयरलाइन्सले प्रेस मिटमार्फत वास्तविक तथ्य सार्वजनिक गर्दै ती समाचारको खण्डन गरेको हो।

एयरलाइन्सका अनुसार सौर्यको उडान अनुमति प्रमाणपत्र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीबाट मिति २०८२ साउन ३० गते नै प्रतिबन्ध फुकुवा भइसकेको थियो। त्यसपछि मिति २०८१ चैत २९ गते परीक्षण उडान (टेस्ट फ्लाइट) समेत सम्पन्न गरिएको थियो। तर सुरक्षा अडिटमा ६० प्रतिशतभन्दा कम अंक प्राप्त भएकाले उडानमा अस्थायी प्रतिबन्ध लगाइएको अवस्था थियो।

नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना जाँचबुझ आयोग र नागरिक उड्डयन प्राधिकरणले निर्देशन गरेका सम्पूर्ण सुरक्षा सिफारिसहरू अक्षरशः पालना गर्दै, आवश्यक प्राविधिक सफ्टवेयरको खरिद तथा जडान गरेपछि सौर्य एयरलाइन्सले सेफ्टी स्ट्यान्डर्डमा ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको जनाएको छ।

एओसी नवीकरणका लागि आवश्यक सम्पूर्ण कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी नियामक निकायका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णबाट विधिवत रूपमा उडान अनुमति प्राप्त गरिएको कम्पनीको भनाइ छ। यस प्रक्रियालाई हालका महानिर्देशकसँग जोडेर नकारात्मक समाचार सम्प्रेषण गर्नु मिथ्या, आपत्तिजनक र खेदजनक रहेको एयरलाइन्सको ठहर छ।

जहाजको संख्याबारे प्रकाशित समाचारहरू पनि निराधार रहेको कम्पनीको दाबी छ। सौर्य एयरलाइन्ससँग हाल दुईवटा जहाज उपलब्ध रहेको र सेवा विस्तारका लागि एटीआर ७२–६०० जहाज भित्र्याउन नागरिक उड्डयन मन्त्रालयबाट मिति २०७९ असोज ३० गते नै आधिकारिक स्वीकृति प्राप्त भइसकेको एयरलाइन्सले जनाएको छ।

कर्मचारी कल्याण र आर्थिक पारदर्शिताको विषयमा पनि भ्रामक सूचना फैलाइएको भन्दै एयरलाइन्सले स्पष्ट पारेको छ। वैदेशिक लगानी रहेको सौर्य एयरलाइन्समा विगत १८ महिनादेखि उडान अवरुद्ध रहे पनि १०५ देखि १६५ जनासम्मका कर्मचारीलाई नियमित रूपमा तलब, भत्ता र आवश्यक प्राविधिक तालिम उपलब्ध गराइएको कम्पनीको भनाइ छ। नेपाल सरकार तथा नियामक निकायलाई बुझाउनुपर्ने कुनै पनि प्रकारको शुल्क वा बक्यौता बाँकी नरहेको समेत एयरलाइन्सले जनाएको छ।

बीमासम्बन्धी समाचारहरू पनि हचुवाको भरमा आएको भन्दै एयरलाइन्सले आपत्ति जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका यात्रुहरू एयरलाइन्सकै कर्मठ, लगनशील र विश्वसनीय कर्मचारी रहेको र उनीहरू सबैको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बीमा सुरक्षित रहेको कम्पनीले स्पष्ट पारेको छ। अधिकांश परिवारले बीमा बापत अमेरिकी डलर २० हजार प्राप्त गरिसकेको जनाइएको छ।

त्यसका साथै नियमअनुसार सेवा अवधि र दर्जाका आधारमा कर्मचारीका परिवारलाई निवृत्तिभरण, सामूहिक दुर्घटना बीमा तथा अन्य सुविधा अन्तर्गत ८ लाखदेखि २० लाख रुपैयाँसम्म थप भुक्तानी गरिसकेको एयरलाइन्सले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका सहकर्मीहरू आफ्नै परिवारका सदस्यसरह भएकाले उनीहरूको परिवारको पीडामा सौर्य एयरलाइन्स सधैं सहयोगी भावनाका साथ साथमा रहेको कम्पनीको भनाइ छ।

एयरलाइन्सले हवाई क्षेत्रजस्तो संवेदनशील विषयमा सत्यतथ्य नजाँची कपोलकल्पित समाचार सम्प्रेषण गर्दा सर्वसाधारणमा त्रास फैलिने, लगानी वातावरण प्रभावित हुने र संस्थाको साखमा आँच पुग्ने भन्दै ध्यानाकर्षण गराएको छ। पत्रकारहरूलाई व्यावसायिक धर्म पालना गर्दै तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध गर्दै, सत्य र तथ्यपूर्ण आलोचनाको स्वागत गरिने तर बदनियतपूर्ण प्रहारविरुद्ध पत्रकार महासंघ तथा सम्बन्धित निकायमा कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिएको छ।