लगानीकर्ताको आत्मविश्वास र व्यासायिक वातावरण प्रतिबिम्बित गर्ने ‘क्लिकमान्डु रिसर्च’सार्वजनिक हुँदै


काठमाडौं । क्लिकमान्डु डटकमले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछिको निजी क्षेत्रको मनोबल स्थिति प्रतिबिम्बित गर्ने ‘क्लिकमान्डु रिसर्च’ प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

आइतबार विशेष कार्यक्रमकाबीच क्लिकमान्डुले ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यासायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने भएको हो ।

२०८२ भदौ २३ र २४ को जेनजी विद्रोहको क्रममा मुलुकको सरकारी तथा निजी क्षेत्रको महत्वपूर्ण संरचना र सम्पत्तिमा आगजनी तथा तोडफोड भएका थिए । प्रदर्शनकारीको निशानामा पर्दा मुलुकको अर्थतन्त्रको महत्वपूर्ण धरोहरको रुपमा रहेको निजी क्षेत्रले भौतिकसँगै मनोबैज्ञानिक क्षति पनि ठूलो मात्रामा बेहोर्नुपरेको थियो ।

सो विषयलाई मध्येनजर गरी क्लिकमान्डुले जेनजी विद्रोहको क्रममा व्यावसायिक क्षेत्रमा परेको बहुआयामिक प्रभावको अध्ययन र विश्लेषणसहितको क्लिकमान्डु रिसर्च अध्ययन प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।

सार्वजनिक हुन लागेको अध्ययन प्रतिवेदनमा नेपालको उद्योग, वित्तीय क्षेत्र, पर्यटन तथा सेवा, ऊर्जा, शिक्षा, स्वास्थ्य, निर्माणलगायत क्षेत्रमा लगानी गर्ने अर्बपति उद्योगी व्यवसायी तथा लगानीकर्तालाई उत्तरदाताका रूपमा सहभागी गराइएको थियो ।

भौतिक तथा आर्थिक क्षति र लगानीकर्ता व्यवसायीको मनोबल मापन गर्ने तथा व्यावसायिक वातावरण जाँच गर्ने उद्देश्यका साथ क्लिकमान्डुले गरेको अध्ययन प्रतिवेदनले नेपालका स्थापित र ठूला व्यवसायीहरूको मनोवैज्ञानिक र आर्थिक क्षतिको विषय उजागर गर्नेछ । भौतिक क्षतिको विषय मात्रै नभएर लगानीकर्ताको विश्वास र मनोबलमा परेको क्षतिको विषयलाई पनि प्राथमिकतामा राखेको छ ।

नेपालमा उद्योग, व्यापार र उद्यमशीलताको लामो विरासत विद्यमान छ । विशेषतः २०४० को दशकपछि राज्यले अंगिकार गरेको आर्थिक उदारीकरण मार्फत निजी क्षेत्र राष्ट्रिय अर्थतन्त्रको प्रमुख चालकका रूपमा स्थापित भई उत्पादन, रोजगारी र राजस्व संकलनमा निर्णायक योगदान पुयाउँदै आएको छ ।

यस अध्ययनले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको संरचनात्मक, संस्थागत तथा व्यावहारिक भूमिकालाई स्पष्ट रूपमा उजागर गर्दै २०८२ भदौ २३ र २४ को जेनजी विद्रोहको क्रममा भएको विध्वंसले व्यावसायिक क्षेत्रमा परेको असरको यथार्थ विश्लेषण गरेको छ ।

क्लिकमान्डु अध्ययन प्रतिवेदनले जेनजी आन्दोलन विध्वंसमा परिणत हुँदा नेपालको निजी क्षेत्रमा बहुआयामिक प्रभाव परेको उल्लेख गर्दै राज्य, सञ्चारमाध्येम, नागरिक समाज लगायतले खेल्नुपर्ने भूमिकाका विषयमा सुझाव समेत दिएको छ ।

चाणक्य मिडिया प्रालिद्वारा सञ्चालित क्लिकमान्डु डटकम नेपालको लोकप्रिय र विश्वसनीय आर्थिक समाचार सम्प्रेषण गर्ने जिम्मेवार सञ्चारमाध्यम हो । मिडिया भएकाले यसले सत्य र तथ्यमा आधारित खोजमूलक समाचार, विचार र विश्लेषण सम्प्रेषण गर्दै आएको छ ।

देशको मेरूदण्ड अर्थतन्त्र र यससँग सम्बन्धित सरोकारवालाहरूलाई दिशानिर्देश गर्नका लागि स्वच्छ र चेतमूलक आलोचनाको दायित्व क्लिकमान्डुले पूरा गर्दै आएको छ । कुनै पनि मुलुकको समृद्धि तब मात्र सम्भव हुन्छ, जब त्यहाँको निजी क्षेत्र सुरक्षित र उत्साहित हुन्छ । तर नेपालमा प्रत्येक राजनीतिक परिवर्तन र आन्दोलनका नाममा निजी क्षेत्रलाई नै ’निशाना’ बनाइएको तीतो यथार्थ छ ।

आर्थिक विकास, सामाजिक प्रगति र उन्नतिका लागि निजी क्षेत्र नै मुख्य इन्जिन हो । व्यावसायिक जगत खुम्झिँदा जनतालाई आधारभूत सेवा उपलब्ध गराउन राज्यमाथि थेग्नै नसकिने भार पर्छ । प्रत्येक वर्ष श्रम बजारमा भित्रिने युवाहरूलाई रोजगारी दिने क्षेत्र पनि व्यावसायिक जगत नै हो ।

यहि विषयलाई महसुस गरेर क्लिकमान्डुले जेनजी विद्रोहका नाममा भएको विध्वंसले पुर्याएको क्षति र त्यसले निजी क्षेत्र र अर्थतन्त्रमा पारेको असरबारे गम्भीर र सूक्ष्म अध्ययन अनुसन्धानको आवश्यकता बोध गरी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।

क्लिकमान्डुले यस अध्ययनबाट देशका ठूला लगानीकर्ताहरूहरूको वास्तविक मनोवृत्ति बुझ्ने प्रयास गरेको छ । अर्थतन्त्रका सारथी निजी क्षेत्रको मनोविज्ञान मापन गर्नुपर्छ र राज्यले यथाशीघ्र क्रान्ति र अपराध छुट्याएर अपराधीलाई सजाय दिनुपर्छ भन्ने विषयमा पनि आफ्नो अध्ययन केन्द्रीत गरेको छ ।

क्लिकमान्डुको यो अध्ययन प्रतिवेदन सुक्ष्म तथा मिहिन अनुसन्धानमूलक अध्ययन प्रतिवेदन केवल तथ्यांकहरूको संग्रह मात्र होइन, यो नेपाली निजी क्षेत्रको ’मनोविज्ञानको यथार्थ चित्रण’ पनि हो । यसले नीति निर्माताहरूलाई वास्तविक धरातल बुझ्न र निजी क्षेत्रको मनोबल उकास्न मार्गनिर्देश गर्ने क्लिकमान्डुको विश्वास छ ।

Skip This