उम्मेदवारले चन्दा लिन नपाउने, स्वेच्छिक सहयोगमा छैन बाधा

0
Shares

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताएका हुन् ।

प्रवक्ता भट्टराईकाअनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् ।

उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पारे ।

‘आफ्नै खातामा चन्दा उठाउन पाउने वा नपाउने कुरा गर्नुभएको छ । हामीसँग चन्दा ऐन छ । निर्वाचनको लागि, प्रचार प्रसारको लागि आफूलाई शुभेच्छुक, समर्थकबाट सहयोग लिने विषय छन् । निर्वाचन सहयोग लिने विषय छ । त्यसमा उम्मेदवारले, दलले मलाई यति सहयोग दिनुपर्छ, भनेर कसैलाई तोकेर माग्न पाइँदैन, स्वेच्छाले दिन चाहन्छौं भने मेरो खाता नम्बर यो भनेर निर्वाचन प्रयोजनका लागि खोलेको खातामा लिन पाउँछ,’ उनले भने, ‘त्यसमा उठाएको पैसा निर्वाचन प्रचार प्रसारका लागि छुट्टै खाता खोलिएको कारणले त्यसमा कसैले दिएको सहयोग व्यक्तिगका लागि पैसा उठाएको छैन र दुरुपयोग हुँदैन भन्ने विश्वास गर्नुपर्छ । त्यसको दुरुपयोग गरेको खण्डमा त्यसको सम्बोधन हुने नै छ ।’

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्यलाई तिब्रता दिएको छ । प्रवक्ता भट्टराईले हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाई भइसकेको जानकारी दिए ।

छपाई भएका मतपत्रहरूमध्ये ७ हजार १३७ वटा बाकसहरू प्याकिङ भइसकेको आयोगले जनाएको छ । प्रवक्ता भट्टराईकाअनुसार हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाई र प्याकिङ कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ । आयोगले बाँकी जिल्लाहरूको मतपत्र छपाई र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको जनाएको छ ।

Skip This