अमेरिकासँग वार्ता गर्न क्युबा तयार, तर सत्तापरिवर्तनका विषयमा कुरा नगर्ने


एजेन्सी । अमेरिकासँग अर्थपूर्ण वार्ताका लागि क्युबा तयार भएको तर सरकार परिवर्तन गर्ने विषयमा छलफल गर्न भने इच्छुक नरहेको क्युबाका परराष्ट्र राज्यमन्त्री कार्लोस फर्नान्डेज डी कोसियोले सीएनएनलाई बताएका छन् ।

यो टिप्पणी ट्रम्प प्रशासनले क्युबामा शासन परिवर्तनको कुरा गर्दै दबाब बढाएको समयमा आएको हो ।

‘अमेरिका आफ्नो संवैधानिक प्रणाली, राजनीतिक प्रणाली र आफ्नो आर्थिक वास्तविकताको बारेमा छलफल गर्न तयार छैन जस्तो हामीलाई लाग्छ । त्यसैगरी हामी हाम्रो संवैधानिक प्रणालीको बारेमा छलफल गर्न तयार छैनौं,’ उनले बताए ।

उनले दुई देशबीच अझै द्विपक्षीय वार्ता नभएको तर केही सन्देशहरूको आदानप्रदान भएको बताए । ती सन्देशहरू क्युबाली सरकारको उच्च तहसँग सम्बन्धित रहेको उनको भनाइ छ ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिका क्युबामा सत्ता परिवर्तन भएको देख्न चाहन्छ तर यसका लागि कुनै कदम चाल्ने छैन भनी बताएको केही दिनपछि उनको यो भनाइ आएको हो ।

ट्रम्प प्रशासनले क्यारिबियाली टापुमा तेल ढुवानी रोक्न प्रयास गर्दै दबाब बढाएको बेलामा यो भनाइ आएको हो । अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई सत्ताबाट हटाएपछि क्युबामा भेनेजुएलाबाट हुने तेल आपूर्तिमा पहिले नै अवरोध पुगिसकेको छ ।

गत साता अमेरिकाले क्युबालाई तेल निर्यात गर्ने राष्ट्रहरूमाथि भन्सार शुल्क लगाउने धम्की दिएको थियो । क्युबाले शत्रु देशहरू र खराब मनसाय भएका पात्रहरूसँग मिलेर तथा उनीहरूको सैन्य र गुप्तचर क्षमतालाई आश्रय दिएर असाधारण जोखिम पैदा गरिरहेको दाबी अमेरिकाले गरेको छ ।

डी कोसियोले अमेरिकाको यस तर्कको प्रतिवाद गरे । ‘क्युबाले अमेरिकाका लागि कुनै खतरा सिर्जना गर्दैन । यो अमेरिकाविरुद्ध आक्रामक छैन । यो शत्रुतापूर्ण छैन । यसले आतंकवादलाई प्रश्रय दिँदैन र प्रायोजन पनि गर्दैन,’ उनले बताए ।
उनले अमेरिकालाई आफ्नो दबाबपूर्ण अभियान घटाउा आग्रह गरे । दबाबले गर्दा क्युबालाई पहिले नै क्षति पुगिसकेको उनको भनाइ छ ।

तेलको घट्दो आपूर्तिका कारण क्युबालीहरूले निरन्तर लोडसेडिङ र पेट्रोल पम्पहरूमा लामा लाइनहरूको सामना गरिरहेका छन् । क्युबाली अधिकारीहरूले देशको थलिएको ऊर्जा क्षेत्रका लागि वर्तमान अमेरिकी आर्थिक प्रतिबन्धहरू नै मुख्य रूपमा जिम्मेवार रहेको बताएका छन् यद्यपि आलोचकहरूले पूर्वाधारमा सरकारी लगानीको अभावलाई पनि दोष दिने गरेका छन् ।

डी कोसियोले इन्धन आपूर्ति जोगाउन क्युबाले कठोर आर्थिक उपायहरू (मितव्ययिता) र केही त्यागहरू गर्नुपर्ने हुन सक्ने बताए । तर, देशमा कति सञ्चिति बाँकी छ भन्ने कुरा उनले खुलाएनन् ।

‘आर्थिक दबाबका उपायहरूको सन्दर्भमा क्युबाले जे भोगिरहेको छ, त्यो युद्ध सरह हो,’ उनले भने ।

क्युबाले एउटा सम्झौता गरेर पूर्ण नाकाबन्दीबाट बच्न सक्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । उक्त सम्झौतामा सम्भवतः सन् १९५९ को क्रान्तिपछि टापु छोडेर गएका क्युबाली निर्वासितहरूबाट जफत गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने शर्त हुन सक्छ ।

गत जनवरी महिनामा भेनेजुएलाका नेता निकोलस मदुरोलाई पक्रने अमेरिकी सैन्य अपरेसन र उनलाई जोगाउने क्रममा ३० भन्दा बढी क्युबाली सुरक्षाकर्मीहरूको मृत्युले क्युबालीहरू स्तब्ध भएका थिए । अधिकारीहरूले क्युबाविरुद्ध हुने यस्तै प्रकारको कुनै पनि अमेरिकी सैन्य कारबाहीको सामना गर्ने वाचा गरेका छन् । हालैका हप्ताहरूमा सरकारी सञ्चारमाध्यमहरूले सैन्य अभ्यास र तयारीहरूमा भएको वृद्धि देखाएका छन् ।

क्युबाली सरकारको अर्को घनिष्ठ सहयोगी मेक्सिकोले पनि बढ्दो अमेरिकी दबाबका बीच तेल ढुवानी स्थगित गर्ने ट्रम्पले बताएका छन् । मेक्सिकोले बुधबार क्युबासँगको तेल सम्झौता अझै कायम रहेको बताएको छ । तर, उसले अमेरिकी भन्सार शुल्कबाट जोगिन क्युबालाई सहयोग गर्ने वैकल्पिक उपायहरू खोजिरहेको छ ।

मंगलबार हभानास्थित अमेरिकी दूतावासले क्युबामा रहेका अमेरिकी नागरिकहरूलाई ऊर्जा संकटका बीच इन्धन, पानी, खाना जोगाउन र फोन चार्ज गरेर राख्न सावधानी अपनाउन आग्रह गरेको छ । दूतावासले कतिपय अमेरिकी नागरिकहरूलाई आगमनमा प्रवेश निषेध गरिएको र अमेरिकाविरुद्ध सरकार प्रायोजित विरोध प्रदर्शनहरू बढेको चेतावनी पनि दिएको छ ।

डी कोसियोले अमेरिकाका लागि दबाबभन्दा वार्ता नै राम्रो विकल्प भएको तर्क गरे । क्युबाले अमेरिकी अधिकारीहरूसँग सत्ता परिवर्तनको बारेमा छलफल नगर्ने भए तापनि क्षेत्रीय सुरक्षा लगायत दुवै देशलाई फाइदा पुग्ने विषयहरूमा कुरा गर्न इच्छुक रहेको उनले बताए ।

‘अमेरिका लागुऔषध तस्करीविरुद्धको लडाइँमा सहयोग चाहन्छ भने क्युबाले मद्दत गर्न सक्छ,’ उनले भने, ‘हामीले विगतमा पनि सहयोग गर्दै आएका छौं र यस क्षेत्रमा हुने तस्करी नियन्त्रणमा हामी निरन्तर सहयोग गर्न सक्छौं ।’

Skip This