
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू शासकीय आकांक्षा वा पदको लोभले नभई मुलुकको विषम परिस्थितिका कारण प्रधानमन्त्री बनेको बताएकी छिन् ।
सोमबार पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्र्याकमा ल्याउन आफूले जिम्मेवारी लिएको र अब जननिर्वाचित सरकारलाई सत्ता सुम्पन आफू आतुर रहेको स्पष्ट पारिन् ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’आन्दोलनपछिको विशेष परिस्थितिमा प्रधानमन्त्री बनेकी कार्कीले संसद्मा आफ्नो अनुभव साट्दै भनिन्, ‘जीवनमा यस्तो मौका परिस्थितिले ल्याएको हो, रहरले होइन । मैले खोजेर आएको पनि होइन, परिस्थितिले बाध्य बनायो । सायद जीवनमा यस्तो अवसर फेरि पाउन कठिन होला ।’
आफ्नो क्याबिनेटका प्रभावशाली मन्त्रीहरू कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ताले राजीनामा दिएर निर्वाचनमा होमिएको विषयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले उनीहरूको बचाउ गरिन् । उनले ती मन्त्रीहरू ‘जेनजी’ हरूको ठूलो दबाबका कारण सरकारमा आएको र मन्त्री बन्नुअघि नै निर्वाचनका बेला जाने सर्त रहेको खुलासा गरिन् ।
‘उनीहरूलाई दोष नलगाउनुस्, दोष लगाउने भए मलाई लगाउनुस्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले नै सरकार बनाउनका लागि उनीहरूलाई ल्याएको थिएँ र जाने बेला बिदाइ गर्छु भन्ने वचन दिएकी थिएँ । उनीहरूले बेइमानी गरेको भन्नु बेकार छ ।’ हाल ती पूर्वमन्त्रीहरूसँग मन्त्रिपरिषद्को कुनै सम्पर्क नरहेको पनि उनले जानकारी दिइन्।
निर्वाचनको तयारी र सुरक्षा प्रत्याभूति
प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गरिन् । उम्मेदवारी दर्ता भइसकेको जानकारी दिँदै उनले राज्यको सम्पूर्ण स्रोत–साधन निर्वाचनमा केन्द्रित गरिएको बताइन् ।
सुरक्षा व्यवस्थाबारे चर्चा गर्दै उनले भनिन्, ‘आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद भइसकेका छन् । एकीकृत निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएकाले सुरक्षाको पूर्ण प्रत्याभूति छ ।’
उनले निर्वाचन आचारसंहिता पालना गर्दै भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्न सबैलाई आह्वान समेत गरिन् ।
प्रधानमन्त्री कार्कीले मुलुकलाई संकटबाट बचाउन आफूले लिएको जिम्मेवारी पूरा हुने चरणमा पुगेको र निर्वाचनमार्फत नयाँ नेतृत्व आउने कुरामा आफू खुसी रहेको अभिव्यक्ति दिइन् ।








प्रतिक्रिया