मुलपानीमा गोली चलाएर पक्राउ परेका १० जना: दिनभर चालक, मध्यरातदेखि लुटेरा !


काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६, मूलपानी क्षेत्रमा संगठित रूपमा लुटपाट गर्ने १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै बुधबार राति गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

दिउँसो ट्याक्सी चालक, राति लुटेरा

प्रहरीका अनुसार यो समूहको कार्यशैली निकै योजनावद्ध रहेको पाइएको छ । पक्राउ परेका व्यक्तिहरू दिउँसो ट्याक्सी तथा अन्य सवारी साधन चलाउने काम गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

राति ९ बजेतिर एक ठाउँमा भेला भएर खाना खाएपछि उनीहरू लुटपाटको योजना बुन्थे । मध्यरात १२ बजेदेखि बिहान ४ बजेसम्म उनीहरू मोटरसाइकलमा तीन-तीन जनाको समूह बनाएर सडकमा निस्कन्थे ।

उनीहरूले सडकमा एक्लै हिँडिरहेका महिला तथा पुरुषको सुनका गहना थुत्ने (स्न्याचिङ गर्ने) र फुटपाथमा व्यापार गर्न बसेकाहरूलाई समेत लुट्ने गरेको काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । यो समूह विगत तीन महिनादेखि उक्त क्षेत्रमा सक्रिय थियो ।

लुटपाटको सूचना पाएपछि जिल्ला प्रहरी परिसर भद्रकालीबाट विशेष अप्रेसन टोली खटाइएको थियो। बुधबार राति पिछा गर्ने क्रममा उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्। घाइते भएका व्यक्ति यसअघि प्रहरी वृत्त महाराजगञ्जको हिरासतबाट भागेका थुनुवा भएको खुलेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजिब भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।

अनुसन्धानका क्रममा यो समूह ‘जेनजी आन्दोलन’ पछि संगठित भएको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांश सोही आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका व्यक्तिहरू हुन्।

अहिलेसम्म स्वयम्भूमा ७ वटा, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रमा ३ वटा, बौद्ध क्षेत्रमा ३ वटा, गौशला क्षेत्रमा ३ वटा र ठिमीको क्षेत्रमा १३ वटा घटनाहरुमा उनीहरुको संलग्नता रहेको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको र संगठित अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।