
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘१२८ स्लाइस सिटी स्क्यान मेसिन’ खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार तत्कालीन उपकुलपति भण्डारी, कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थीसहितको मिलेमतोमा सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत प्रक्रिया अपनाई कुल ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसा बराबरको भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
अनुसन्धानमा खरिद गुरुयोजना नबनाई, प्राविधिक स्पेसिफिकेसन र लागत अनुमानसमेत तयार नगरी अमेरिकी डलरमा भुक्तानी गर्ने गरी सम्झौता गरिएको पाइएको अख्तियारले जनाएको छ ।
यस प्रकरणमा चिकित्सक, इन्जिनियर, कर्मचारी तथा उपकरण आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिसमेत संलग्न रहेको दाबी अभियोगपत्रमा गरिएको छ ।
अख्तियारले सबै प्रतिवादीलाई विगो असुली, विगोको अनुपातमा जरिवाना तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजायको माग गरेको छ ।








प्रतिक्रिया