निष्क्रिय कर्जा घट्दा ४७ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, ६ महिनामा कमायो पौने ५ अर्ब


काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा उक्त नाफा कमाएको हो, जुन गत आवको सोही अवधिको तुलनामा ४६.७० प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा भने बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको दोस्रो त्रैमाससम्ममा ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २.४२ प्रतिशतले बढेर ८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ कायम भएको छ ।

चालु आवको पुससम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब ६१ करोड १३ लाख रुपैयाँ छ, जुन गत आवको तुलनामा ६.६० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने बैंकको यस्तो आम्दानी १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ थियो ।

गत आवको दोस्रो त्रैमासमा बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम १ अर्ब ३५ करोड १० लाख रुपैयाँ थियो । जसमा चालु आवमा भने ४ करोड ८८ लाख रुपैयाँ फिर्ता गरेको छ, जसले गर्दा बैंकको नाफामा उच्च वृद्धि देखिएको छ ।

चालु आवको दोस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ६ अर्ब ५७ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो मुनाफा ५ अर्ब १७ करोड ७४ लाख रुपैयाँ थियो ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आवको दोस्रो त्रैमासमा २४.०५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको सोही अवधिमा बढेर ३५.०४ रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्मको बैंकको प्रतिसेयर नेटवर्थ २३५.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.९१ गुणा छ । चालु आर्थिक वर्षको छ महिनामा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ छ ।

ब्याज बक्यौताका कारण बैंकले २९ करोड ७९ लाख रुपैयाँ नियामकीय कोषमा जम्मा गरेको छ । बैंकको सञ्चित नाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ छ ।

३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ छ । ३२ अर्ब चुक्ता पुँजीमा बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गरेको छ । पुस मसान्तमा बैंकको निक्षेप ५ खर्ब ६६ अर्ब ५ करोड र कर्जा ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा ४.९३ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा भने ४.२५ प्रतिशत कायम भएको छ । बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.८९ प्रतिशत र त्रैमासको औसत आधार दर ५.०४ प्रतिशत छ।