
काठमाडौं । काठमाडौंको मूलपानीमा बुधबार राति प्रहरीले गोली चलाएर १० जना लुटेरालाई पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना, नगद तथा अन्य बहुमूल्य सामान लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सो कारबाही गरेको हो ।
परिसरका अनुसार लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले जवाफी कारबाहीमा गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर लुटपाट समूहका विनय तामाङ घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पछिल्लो समय रातको समयमा सर्वसाधारणलाई पछ्याएर लुटपाट गर्ने घटना बढेपछि विशेष टोली परिचालन गरिएको थियो । सोही टोलीले गएराति लुटेराहरूलाई घेरा हाली पक्राउ गरेको हो ।
पक्राउ परेका १० जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । प्रहरीले उक्त समूहबाट पीडित भएका कोही व्यक्ति भए सम्पर्कमा आउन समेत अनुरोध गरेको छ ।








प्रतिक्रिया