४५ मिनेटसम्म आगो नलाग्ने सेन्चुरी प्लाइउड बजारमा


विराटनगर । नेपालमा खेर गइरहेको कच्चापदार्थ काठलाई प्रशोधन गरी विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सेन्चुरी प्लाइउड उद्योगले नयाँ प्रविधियुक्त उत्पादनहरू बजारमा ल्याएको छ ।

विराटनगरमा स्थापित यस उद्योगले हालै ‘गर्जन’ ब्रान्डमा अग्निप्रतिरोधी र गन्धरहित (जीरो एम्बिसन) गरी दुई प्रकारका आधुनिक प्लाइउड सार्वजनिक गरेको हो ।

नेपाल सरकारबाट नेपाल गुणस्तर चिह्न (एनएस) र भारत सरकारबाट ब्युरो अफ इण्डियन स्टान्डर्स(बीआईएस) प्रमाणीकरण प्राप्त यो उद्योग विगत ५ वर्षदेखि भारततर्फ समेत आफ्ना उत्पादन निकासी गर्दै आएको निर्यातमुखी उद्योगसमेत हो ।

४५ मिनेटसम्म आगो नलाग्ने प्रविधिको प्रयोग

उद्योगका अनुसार नयाँ अग्निप्रतिरोधी प्लाइउडले ४५ मिनेटसम्म आगोको लप्कालाई रोक्न सक्छ । यस अवधिमा प्लाइउडबाट केवल धुवाँ मात्र निस्कने र आगो नसल्किने भएकाले भवनभित्र रहेका मानिसलाई सुरक्षित बाहिर निस्कन र आगो नियन्त्रण गर्न पर्याप्त समय मिल्ने दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको रसायन प्रयोग गरी बनाइएको यो प्लाइउड अग्निप्रतिरोधी मात्र नभई पूर्ण रूपमा ‘वाटरप्रुफ’ समेत रहेको छ, जसले गर्दा पानीले भिजे पनि यसको स्वरूप बिग्रिँदैन ।

साधारण प्लाइउडमा प्रयोग गरिने ‘फर्मल डिहाइड्रेट’ नामक रसायनले एलर्जी, दम र श्वासप्रश्वासको समस्या निम्त्याउने तथ्यलाई मध्यनजर गर्दै सेन्चुरीले गन्धरहित ‘जीरो एम्बिसन’ प्लाइउड उत्पादन गरेको छ । विकसित मुलुकहरूमा यस्तो प्लाइउडको प्रयोग अनिवार्य भइसकेको अवस्थामा नेपालका स्कुल, कलेज, अस्पताल, होटल र निजी घरहरूमा पनि यसको प्रयोग गर्न उद्योगले आग्रह गरेको छ ।

विशेषगरी बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाको स्वास्थ्यका लागि यो अत्यन्त लाभदायक हुने बताइएको छ ।

सेन्चुरी प्लाइउडले नेपालमै पहिलोपटक अत्याधुनिक ‘क्यालिब्रेटर मेसिन’ प्रयोग गरी एकनासको मोटाइ (थिकनेस) भएको प्लाइउड उत्पादन गरिरहेको छ । उद्योगले १० एमएमको छ भनेपछि ९.९९ पनि हुँदैन र १०.०१ एमएम पनि नहुने जनाएको छ । तलदेखि माथिसम्म सबैतिर समान १० एमएम मात्र हुने प्लाई उत्पादन गर्दैआएको जनाएको छ ।

उद्योगका अनुसार हाल बजारमा फायर रिटर्डेन्ट र जिरो एम्बिसनसहित अन्य सबै प्रकारका प्लाइउड ६, ८, १०, १२, १६, १८, १९, २५ र ३२ एमएम गरी ९ प्रकारका थिकनेस(मोटाइ) मा उत्पादन गर्दैआएको छ ।

उद्योगले हालसम्म बजारमा गर्जनको आर्किटेक्चर ग्रेड, एमआर ग्रेड, बिडब्लुपी ग्रेड, एफआर ग्रेड, ई-जीरो ग्रेड, ब्ल्याक फरेस्ट प्रिमियम र प्रिमियम प्लस गरी सात प्रकारका उत्पादनहरू बजारमा उपलब्ध गराएको छ ।

नेपाली उत्पादन भए तापनि सेन्चुरी प्लाइउडको माग भारतका बिहार, उत्तर प्रदेश, दिल्ली, राजस्थान, गुजरात, महाराष्ट्र र पश्चिम बंगाल लगायतका राज्यहरूमा उच्च रहेको छ ।

नेपालभित्र पनि ५२ वटा जिल्लाका मुख्य सहरहरूमा १०० भन्दा बढी डिलरहरूमार्फत यी उत्पादनहरू बिक्री–वितरण भइरहेका छन् । विश्वस्तरको उत्पादनसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ उद्योगले आफ्नो गुणस्तरलाई निरन्तर परिष्कृत गर्दै लगेको उद्योग प्रशासनले जनाएको छ ।