
एजेन्सी । जापानको विदेशी विनिमय हस्तक्षेपमा अमेरिकाको सम्भावित संलग्नताले विश्वको रिजर्भ मुद्राप्रतिको धारणालाई कसरी बिगार्न सक्छ भन्नेबारे लगानीकर्ताहरूबीच बहस भइरहँदा सोमबार डलर धेरैजसो प्रमुख मुद्राहरूको तुलनामा कमजोर बन्यो ।
जापानी अधिकारीहरूले आफ्नो संकटमा परेको मुद्रालाई उकास्न हस्तक्षेप गर्ने तयारी गरिरहेका हुन सक्छन् र शायद अमेरिकी सरकार पनि त्यसमा सहभागी हुन सक्छ भनी सप्ताहान्तमा बढेको अड्कलबाजीका बीच एसियाली कारोबारको सुरुवातमै येन अमेरिकी डलरको तुलनामा झण्डै १ प्रतिशतले बलियो भयो । ब्लूमबर्गको अमेरिकी मुद्रा सूचकांक ०.३ प्रतिशतसम्म घट्यो जसले गत साताको १.६ प्रतिशतको गिरावटलाई अझै बढाएको छ ।
धेरै डलरविज्ञहरूका लागि येनलाई उकास्न अमेरिकी समर्थनको संकेतले प्रमुख व्यापारिक साझेदारहरूको तुलनामा डलरलाई तल झार्न सम्भावित समन्वयात्मक मुद्रा हस्तक्षेपको बहसलाई पुनः सुरु गरेको छ । यस्तो सम्झौताले अमेरिकी निर्यातकर्ताहरूलाई चीन र जापान जस्ता प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न मद्दत गर्ने सोच राखिएको छ ।
‘नीतिगत समन्वय सबैभन्दा ठूलो संकेत हो,’ फ्रन्टक्लियरका वरिष्ठ उपाध्यक्ष ड्यानियल बेजाले भने, ‘बजारले समन्वयलाई विश्वव्यापी डलरको खुकुलो अवस्थालाई सहन गर्ने तत्परताका रूपमा लियो भने विशेषगरी फेडरल रिजर्भको नरम नीतिका साथमा त्यसले अल्पकालीन डलरको गिरावटलाई अझ बल पुर्याउन सक्छ ।’
व्यापारीहरूले न्युयोर्कको फेडरल रिजर्भ बैंकले वित्तीय संस्थाहरूलाई येनको विनिमय दरबारे सोधपुछ गर्न सम्पर्क गरेको जानकारी दिएपछि शुक्रबार यो चर्चा फेरि चुलियो । वाल स्ट्रिटले ती सोधपुछहरूलाई अमेरिकाको सहयोगमा जापानले हस्तक्षेप गर्ने आधार तयार पारेको रूपमा हेरेको छ ।
गत वर्षको आरम्भमा ट्रम्प प्रशासनका अर्थशास्त्री र अहिलेका फेडरल रिजर्भ बोर्ड सदस्य स्टिफन मिरानले डलरलाई जानाजानी कमजोर बनाउने सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरेपछि विश्लेषकहरूले मार–ए–लागो सम्झौता भनिएको विषयको सम्भावनाबारे बहस गरेका थिए ।
अनपेक्षित अमेरिकी नीति निर्धारणले वित्तीय बजारलाई हल्लाएपछि गत साता डलरका लागि मे महिनापछिकै सबैभन्दा खराब साता रह्यो । राष्ट्रपति डोनल्ड ट्रम्पले पहिले ग्रीनल्यान्ड खरिद गर्ने आफ्नो दाबीका कारण युरोपमाथि भन्सार शुल्क लगाउने धम्की दिए । तर, पछि अचानक त्यसलाई फिर्ता लिए ।
शनिबार, उनले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडामाथि शतप्रतिशत भन्सार शुल्क लगाउने धम्की दिए ।
फेडरल रिजर्भको स्वतन्त्रतामाथिको जोखिम र अध्यक्ष जेरोम पावलको उत्तराधिकारीलाई ट्रम्पले ब्याजदर द्रुत रूपमा घटाउन दबाब दिनेछन् भन्ने अपेक्षाले पनि अमेरिकी मुद्रामा दबाब सिर्जना गरिरहेको छ । ब्लूमबर्गको डलर सूचकांक गत वर्षको सुरुदेखि ९ प्रतिशतभन्दा बढीले घटिसकेको छ ।
सोमबार अन्यत्र सुनको मूल्य पहिलोपटक प्रतिऔंस ५ हजार डलरभन्दा माथि पुग्यो। भूराजनीतिक जोखिम बढेसँगै डिबेसमेन्ट ट्रेड (मुद्रा अवमूल्यन व्यापार) लाई बल पुगेकाले बहुमूल्य धातुहरूको मूल्यमा कीर्तिमानी वृद्धि भइरहेको छ । त्यसमा लगानीकर्ताहरू सरकारी मुद्राबाट पछि हट्छन् ।
‘अमेरिकी ट्रेजरीले कल गर्न थालेमा सामान्यतया यो विषय सामान्य विदेशी विनिमय कथाभन्दा बाहिर गएको संकेत हो,’ पिनेकल इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख लगानी रणनीतिकार एन्थोनी डोयलले भने, ‘समन्वयात्मक कार्यको सम्भावनाले डलर–येनको वृद्धिलाई रोक्छ र डलरमा गरिएको लगानीलाई थप कमजोर बनाउँछ ।’








प्रतिक्रिया