
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानाडामाथि दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिएपछि प्रधानमन्त्री मार्क कार्नीले क्यानाडाको चीनसँग खुला व्यापार सम्झौता गर्ने कुनै मनसाय नरहेको बताएका छन् ।
क्यानडाले क्यानाडा–अमेरिका–मेक्सिको व्यापार सम्झौता अन्तर्गतका आफ्ना दायित्वहरूको सम्मान गर्छ र अन्य दुई पक्षलाई जानकारी नदिई कुनै पनि खुला व्यापार सम्झौता नगर्ने आइतबार पत्रकारहरूसँग कुरा गर्दै कार्नीले बताए ।
ओटावाले बेइजिङसँग सम्झौता गरेमा क्यानाडेली निर्यातमा शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको धम्कीपछि कार्नीको यो टिप्पणी आएको हो ।
ट्रम्पले शनिबार ट्रुथ सोसलमा लेखेका छन्, ‘गभर्नर कार्नीले क्यानडालाई चीनका सामान र उत्पादनहरू अमेरिका पठाउने ड्रप अफ पोर्ट (ट्रान्जिट विन्दु) बनाउन खोजेका हुन् भने उनी ठूलो भ्रममा छन् ।’
अमेरिका र क्यानडाबीच बढ्दो तनावका बीच यी टिप्पणीहरू आएका हुन् ।
गत साता कार्नीले डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको आफ्नो सम्बोधनमा विश्वका महाशक्तिहरूद्वारा गरिने आर्थिक दबाबविरुद्ध चेतावनी दिएपछि ट्रम्पले ओटावालाई आफ्नो शान्ति बोर्डमा सामेल हुने निमन्त्रणा फिर्ता लिएका थिए ।
कार्नीले कुनै पनि देशको नाम नलिए पनि ट्रम्पले डब्लुईएफको साइडलाइनमा भनेका थिए, ‘क्यानडा अमेरिकाका कारण बाँचिरहेको छ । मार्क, अर्कोपटक बयान दिँदा यो कुरा याद राख ।’
ट्रुथ सोसलमा ट्रम्पको यो कडा प्रतिक्रिया यसै महिनाको सुरुमा ओटावा र बेइजिङबीच भएको सम्झौतापछि उनले भनेको कुरासँग बाझिएको छ । त्यतिबेला उनले भनेका थिए, ‘कार्नीले गर्नुपर्ने कुरा यही हो । उनले व्यापार सम्झौतामा हस्ताक्षर गर्नु राम्रो कुरा हो । तपाईंले चीनसँग सम्झौता गर्न सक्नुहुन्छ भने तपाईंले त्यो गर्नुपर्छ ।’
ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले पनि क्यानडा र चीनका बारेमा ट्रम्पकै कुरा दोहोर्याउँदै आइतबार एबीसी न्यूजलाई अमेरिकाले क्यानडालाई चिनियाँहरूले आफ्ना सस्ता सामानहरू अमेरिकामा खन्याउने बाटो बन्न दिन नसक्ने बताए ।
जनवरी १६ मा ओटावा र बेइजिङले एउटा प्रारम्भिक सम्झौतालाई निष्कर्षमा पुयार्एका थिए जसमा दुवै पक्षले छानिएका सामानहरूमा भन्सार शुल्क घटाएका छन् ।
सम्झौता अनुसार, क्यानडाले वार्षिक ४९ हजार चिनियाँ विद्युतीय सवारीसाधनहरूलाई ६.१ प्रतिशतको न्यून भन्सार दरमा बजारमा प्रवेश दिनेछ । यसअघि अक्टोबर २०२४ मा अमेरिकासँग मिलेर क्यानडाले यस्ता सवारीसाधनमा शतप्रतिशत भन्सार शुल्क बढाएको थियो ।
बदलामा, बेइजिङले क्यानाडेली कृषि निर्यातमा भन्सार शुल्क कटौती गर्नेछ जसमा क्यानोला बिउको तेल पनि समावेश छ । यसको भन्सार शुल्क मार्च १ देखि वर्तमान ८५ प्रतिशतबाट घटेर १५ प्रतिशतमा झर्नेछ ।
क्यानाडेली क्यानोला मिल, लब्स्टर, गँगटो र केराउ जस्ता अन्य निर्यातहरूमा पनि कम्तीमा सन् २०२६ को अन्त्यसम्म चिनियाँ भेदभावविरोधी भन्सार शुल्क लाग्ने छैन ।
कार्नीले आइतबार भने, ‘हामीले चीनसँग जे गरेका छौं, त्यो विगत केही वर्षहरूमा देखिएका केही समस्याहरूलाई सुधार्नका लागि हो । यो सम्झौता सीयूएसएएमसँग पूर्ण रूपमा मिल्दोजुल्दो छ ।’
अगस्ट २०२५ मा ट्रम्पले क्यानाडेली सामानमा भन्सार शुल्क २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याएका थिए । सीयूएसएम अन्तर्गत अधिकांश क्यानाडेली निर्यातमा शुल्क लाग्दैन । तर, स्टिल, तामा र केही अटोमोबाइल तथा अटो पार्टपुर्जाहरूमा भने अमेरिकी भन्सार शुल्क लाग्ने गर्छ ।








प्रतिक्रिया