
एजेन्सी । अमेरिकामा सिनेटर टेड क्रुजको एउटा अडियो रेकर्डिङ सार्वजनिक भएपछि डोनल्ड ट्रम्प प्रशासनभित्रको फाटो चर्चामा आएको छ ।
अडियोमा क्रुजले उपराष्ट्रपति जेडी भ्यान्स र कहिलेकाहीँ राष्ट्रपति ट्रम्पको समेत खुलेर आलोचना गरेका छन् । एक्सियोसको रिपोर्ट अनुसार, टेक्ससका रिपब्लिकन सिनेटर क्रुजले ट्रम्पको भन्सार शुल्कमा आधारित व्यापार नीतिको कडा आलोचना गरेका छन् । भारत–अमेरिका व्यापार सम्झौता रोकेकोमा भ्यान्स, ह्वाइट हाउसका सल्लाहकार पिटर नाभारो र कहिलेकाहीँ राष्ट्रपतिलाई समेत दोष दिएका छन् ।
उक्त प्रकाशनका अनुसार, कुल १० मिनेटको यो अडियो रेकर्डिङ एक रिपब्लिकन स्रोतले उपलब्ध गराएको हो । सन् २०२५ को सुरु र मध्यतिर रेकर्ड गरिएको यस अडियोमा क्रुजले निजी चन्दादाताहरूसँग कुरा गरिरहेको सुनिन्छ ।
कुराकानीमा यी रिपब्लिकन सांसदले आफूलाई परम्परागत स्वतन्त्र–व्यापार नीतिको समर्थक रिपब्लिकनको रूपमा प्रस्तुत गरेका छन् । यसलाई सन् २०२८ को प्राथमिक चुनावमा तुलनात्मक रूपमा कम आक्रामक रहेका भ्यान्सविरुद्धको तयारीको रूपमा हेरिएको छ ।
क्रुजले राष्ट्रपति ट्रम्पको व्यापार नीतिको खिल्ली उडाए र अमेरिकी भन्सार शुल्कले अर्थतन्त्र तहसनहस पार्न सक्ने तथा राष्ट्रपतिलाई महाभियोगसम्म पुर्याउन सक्ने भन्दै चन्दादाताहरूलाई चेतावनी दिएको बताइएको छ ।
उनले चन्दादाताहरूलाई बताए अनुसार, सन् २०२५ अप्रिलको सुरुमा ट्रम्पले भन्सार शुल्क लागू गरेपछि उनी र अन्य केही सिनेटरहरूले राष्ट्रपतिलाई फोन गरेर यो कदम फिर्ता लिन आग्रह गरेका थिए ।
तर, मध्यरातसम्म चलेको उक्त फोन कुराकानी सुखद रहेन । क्रुजका अनुसार, ट्रम्पले उनीहरूलाई बेस्मारी गाली गरेका थिए ।
‘ट्रम्प अत्न्त खराब मुडमा थिए,’ क्रुजले चन्दादाताहरूलाई भने, ‘म उनी धेरै खुसी भएका कुराकानीहरूमा पनि सामेल भएको छु तर यो त्यस्तो थिएन ।’
रिपोर्टका अनुसार उनले ट्रम्पलाई भनेका थिए, ‘राष्ट्रपतिज्यू, हामी सन् २०२६ को नोभेम्बरमा पुग्दा मानिसहरूको सेवानिवृत्ति बचत ३० प्रतिशतले घट्यो र सुपरमार्केटमा मूल्य १०–२० प्रतिशतले बढ्यो भने चुनावको दिन हामीले भारी पराजय भोग्नुपर्नेछ । तपाईंले तल्लो सदन गुमाउनुहुनेछ, माथिल्लो सदन गुमाउनुहुनेछ र आगामी दुई वर्ष हरेक हप्ता महाभियोग खेपेर बिताउनुहुनेछ ।’
क्रुजका अनुसार ट्रम्पको जवाफ थियो, ‘मलाई बाल छैन, टेड ।’
चन्दादाताहरूको सत्रमा एक प्रश्नकर्ताले मुक्ति दिवस (जुन शब्द ट्रम्पले आफ्नो भन्सार शुल्क घोषणाका लागि प्रयोग गरेका थिए) को उल्लेख गरेपछि क्रुजले ठट्टा गर्दै भने, ‘मैले मेरो टोलीलाई भनेको छु, कसैले ती शब्दहरू प्रयोग गरेमा उसलाई तत्काल बर्खास्त गरिनेछ । यो हामीले प्रयोग गर्ने भाषा होइन ।’
क्रुजले भारतसँगको व्यापार सम्झौता स्वीकार गर्न ह्वाइट हाउससँग लडाइँ गरिरहेको कुरा पनि चन्दादाताहरूलाई बताए ।
एकजना चन्दादाताले यस्तो सम्झौतामा प्रशासनका को–को बाधक छन् भनेर सोध्दा क्रुजले ह्वाइट हाउसका आर्थिक सल्लाहकार पिटर नाभारो, भ्यान्स र कहिलेकाहीँ ट्रम्पको नाम लिए ।
रेकर्डिङमा क्रुजले भ्यान्सलाई अनुदारवादी पोडकास्टर टकर कार्लसनको मोहराको रूपमा चित्रण गरेका छन् । क्रुजले कार्लसनमाथि यहुदीविरोधी भावना र इजरायलविरोधी विदेशनीतिलाई बढावा दिएको आरोप लगाउँदै आएका छन् जसकारण उनीहरूबीच सार्वजनिक रूपमै विवाद चल्ने गरेको छ ।
क्रुजले रेकर्डिङमा पटक–पटक भ्यान्सको नाम उल्लेख गर्दै उनलाई कार्लसनसँग जोडेका छन् र भ्यान्सले कार्लसनको हस्तक्षेपविरोधी विदेशनीतिलाई अगाडि बढाइरहेको आरोप लगाएका छन् ।
‘टकरले नै जेडीलाई बनाएका हुन् । जेडी टकरका चेला हुन् र उनीहरू दुवै एउटै हुन्,’ क्रुजले भने ।
क्रुजले सामाजिक सञ्जालमा महिनौंदेखि कार्लसनविरुद्ध अभियान चलाइरहेका छन् तर अहिलेसम्म उनले सार्वजनिक रूपमा कार्लसनलाई भ्यान्ससँग जोडेर बोलेका थिएनन् ।








प्रतिक्रिया