सन् २०३० सम्ममा एआईले श्रम बजारमा आमूल परिवर्तन ल्याउने विश्व आर्थिक मञ्चको दाबी


एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) ले यस दशकको अन्त्यसम्ममा विश्वव्यापी श्रम बजारलाई पूरै नयाँ स्वरूप दिने निश्चित छ ।

जनवरी महिनामा सार्वजनिक गरिएको विश्व आर्थिक मञ्चको नयाँ श्वेतपत्र अनुसार, यसको परिणाम उत्पादकत्वमा हुने ठूलो वृद्धिदेखि व्यापक रोजगारी विस्थापनसम्म जुनसुकै हुन सक्छ ।

‘फोर फ्युचर्स फर जब्स इन द न्यु इकोनोमी : एआई एन्ड ट्यालेन्ट इन २०३०’ शीर्षकको प्रतिवेदनमा मञ्चले एआईको प्रगति र कार्यबलको तयारीबीचको अन्तर्क्रियाले रोजगारी, मूल्य शृंखला र आर्थिक वृद्धिलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने चारवटा सम्भावित परिदृश्यहरू प्रस्तुत गरेको छ । यो प्रतिवेदन मञ्चको चिफ स्ट्राटेजी अफिसर्स कम्युनिटी र विश्वव्यापी दूरदृष्टि विज्ञहरूको सुझावका आधारमा तयार पारिएको हो ।

श्वेतपत्रमा उल्लेखित सर्वेक्षणका तथ्यांकहरूले व्यवसायीहरूमा गहिरो अनिश्चितता रहेको देखाएको छ । एआईले हालका रोजगारीहरू विस्थापित गर्ने अपेक्षा विश्वभरका करिब ५४ प्रतिशत कार्यकारीहरूले गरेका छन् भने २४ प्रतिशतले मात्र यसले नयाँ रोजगारी सिर्जना गर्ने विश्वास गरेका छन् ।

करिब ४५ प्रतिशतले एआईको प्रयोगबाट नाफा बढ्ने अपेक्षा गरेका छन् । तर, १२ प्रतिशतले मात्र कामदारको तलब बढ्ने अपेक्षा गरेका छन् । यसले उत्पादकत्व वृद्धि भए पनि त्यसको फाइदा कामदारसम्म समान रूपमा नपुग्न सक्ने संकेत गर्छ ।
प्रविधिले मात्र कामको भविष्य निर्धारण नगर्ने कुरामा मञ्चले जोड दिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘कार्यस्थल र मूल्य शृंखलाको भविष्य प्रविधिले मात्र परिभाषित गर्ने छैन । आज प्राथमिकता दिइने मानव पुँजी रणनीति र लगानीले नै समाज र व्यक्तिगत व्यवसायहरू नयाँ अर्थतन्त्रमा कत्तिको राम्रोसँग अनुकूलन हुन र नेतृत्व गर्न सक्छन् भन्ने कुरा तय गर्नेछ ।’

प्रतिवेदनले चारवटा परिदृश्यहरू प्रस्तुत गरेको छ :

१. सुपरचार्ज्ड प्रोग्रेस (तीव्र प्रगति): यसमा एआईका क्षेत्रमा हुने द्रुत प्रगतिले नयाँ आविष्कार र नयाँ पेशाहरूलाई बढावा दिनेछ ।

२. द एज अफ डिस्प्लेसमेन्ट (विस्थापनको युग): यसमा अटोमेशन (स्वचालन) को गति सीप विकासको प्रयासभन्दा छिटो हुनेछ जसले गर्दा बेरोजगारी र सामाजिक अस्थिरता बढ्नेछ ।

३. को–पाइलट इकोनोमी (सह–चालक अर्थतन्त्र): यहाँ एआईले मुख्यतया मानिसको कामलाई सहयोग र सुदृढ गर्नेछ ।

४. स्टल्ड प्रोग्रेस (अवरुद्ध प्रगति): यसमा सीपको अभाव, छिटपुट उत्पादकत्व वृद्धि र बढ्दो असमानता देखिनेछ ।

यी सबै परिदृश्यहरूमा प्रतिवेदनले भविष्यको आकलनलाई भविष्यवाणी गर्ने अभ्यासको रूपमा नभई एक रणनीतिक औजारको रूपमा लिनुपर्नेमा जोड दिएको छ ।

यो श्वेतपत्र विश्व आर्थिक मञ्चको सिनारियोज फर द ग्लोबल इकोनोमी डायलग सिरिजको एक हिस्सा हो । निर्णयकर्ताहरूलाई संरचित विश्लेषण र उद्योगहरूबीचको संवादमार्फत जटिल विश्वव्यापी संक्रमणहरूमा मार्गनिर्देशन गर्नु यसको उद्देश्य हो ।

एआई प्रयोगको चरणबाट एकीकरणको चरणमा तीव्र गतिमा अगाडि बढिरहेकाले आगामी केही वर्षहरूमा व्यवसाय र नीति निर्माताहरूले गर्ने निर्णयहरूले नै एआई साझा समृद्धिको संवाहक बन्नेछ वा छैन भन्ने कुराको फैसला गर्ने मञ्चको निष्कर्ष छ ।