
एजेन्सी । अमेरिकी अटोमोबाइल बजारमा चिनियाँ सवारी साधनहरूको उपस्थितिलाई लिएर लामो समयदेखि बहस भइरहेको छ । तर पछिल्लो एक प्रतिवेदनले अमेरिकी उपभोक्ताहरूको सोचमा ठूलो परिवर्तन आइरहेको देखाएको छ । ‘अटो प्यासिफिक’ ले सार्वजनिक गरेको सन् २०२५ को ‘फ्युचर एट्रिब्युट डिमान्ड स्टडी’ का अनुसार, यदि चिनियाँ ब्रान्डका गाडीहरू उपलब्ध भएमा आधाभन्दा बढी अमेरिकीहरू ती गाडी किन्न इच्छुक देखिएका छन् ।
सर्वेक्षणका अनुसार चिनियाँ ब्रान्डप्रतिको जागरूकता र स्वीकार्यता दुवैमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२४ मा चिनियाँ कार ब्रान्डबारे ५२ प्रतिशत अमेरिकीहरू जानकार रहेकामा सन् २०२५ मा यो संख्या बढेर ६५ प्रतिशत पुगेको छ । त्यस्तै, चिनियाँ कार किन्न विचार गर्ने ग्राहकहरूको संख्या पनि ४१ प्रतिशतबाट बढेर ५२ प्रतिशत पुगेको छ । यसले अमेरिकी बजारमा चिनियाँ गाडीहरूको सम्भावित प्रभावलाई थप बलियो बनाएको छ ।
विशेष गरी युवा पुस्तामा चिनियाँ गाडीप्रतिको आकर्षण निकै बढी पाइएको छ । प्रतिवेदनका अनुसार ७१ प्रतिशत ‘जेनजी’ र ६५ प्रतिशत ‘मिलिनियल्स’ ले चिनियाँ कार किन्न आफूहरू तयार रहेको बताएका छन् । यसको मुख्य कारण चिनियाँ गाडीमा हुने आधुनिक प्रविधि, आकर्षक फिचर्स र सस्तो मूल्य हो । अमेरिकामा अहिले एउटा नयाँ कारको औसत मूल्य करिब ४८ हजार डलर (करिब ७० लाख नेपाली रुपैयाँ) पुगेको छ, जसले गर्दा सर्वसाधारणका लागि चिनियाँ गाडीहरू एउटा किफायती विकल्पका रूपमा देखिएका छन्।
उपभोक्ताहरूको रोजाइमा चिनियाँ प्राविधिक कम्पनीहरूका ब्रान्डहरू सबैभन्दा अगाडि देखिएका छन् । सर्वेक्षणमा सहभागीमध्ये २७ प्रतिशतले ‘हुवावे’ र २३ प्रतिशतले ‘शाओमी’ का गाडीप्रति रुचि देखाएका छन् । विद्युतीय सवारी उत्पादक कम्पनी ‘बीवाईडी’ प्रति १९ प्रतिशत ग्राहकको आकर्षण देखिएको छ । त्यसैगरी गिली र नियो जस्ता ब्रान्डहरू पनि अमेरिकीहरूको सूचीमा रहेका छन्।
यद्यपि, चिनियाँ गाडीका लागि अमेरिकी बजारको बाटो पूर्णतः सहज भने छैन । प्रतिवेदनले सुरक्षा र गोपनीयतालाई ठूलो चुनौतीका रूपमा देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ७७ प्रतिशत अमेरिकीहरूले चिनियाँ गाडीहरूले व्यक्तिगत डाटा संकलन वा जासुसी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, करिब ७६ प्रतिशतले यी गाडीहरूमा प्रयोग हुने सफ्टवेयरको माध्यमबाट राष्ट्रिय सुरक्षामा खतरा पुग्न सक्ने आशंका गरेका छन् ।
राजनीतिक र आर्थिक अवरोधहरू पनि चिनियाँ गाडीका लागि अर्को ठूलो पर्खाल बनेका छन् । अमेरिकी सरकारले हालै चिनियाँ विद्युतीय सवारी साधनमा १०० प्रतिशत भन्सार शुल्क लगाएको छ। यो नीतिले चिनियाँ कम्पनीहरूलाई अमेरिकी बजारमा सिधै प्रतिस्पर्धा गर्न निकै कठिन बनाएको छ ।
तर, राजनीतिक तनाव र सुरक्षा चासोका बावजुद अमेरिकी उपभोक्ताहरूको बढ्दो रुचि र चिनियाँ कम्पनीहरूको आक्रामक बजार विस्तारले भविष्यमा अमेरिकी सडकमा चिनियाँ गाडीहरूको उदयलाई नकार्न नसकिने विश्लेषण गरिएको छ । यदि यी कम्पनीहरूले अमेरिकाभित्रै कारखाना खोलेर वा मेक्सिको जस्ता छिमेकी देशहरूबाट उत्पादन गरेर ल्याउन सकेमा, उनीहरूले अमेरिकी अटो बजारको ठूलो हिस्सा ओगट्न सक्ने देखिएको छ।
(मोटर१ डटकमबाट)








प्रतिक्रिया