नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि नेपाली कम्पनीको सहकार्यमा १० विदेशी कम्पनीको प्रतिस्पर्धा

६० दिनपछि सम्झौता हुने

322
Shares

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न आवश्यक पर्ने सर्भिस प्रोभाइडर (सेवा प्रदायक) का लागि नेपाली कम्पनीको सहकार्यमा १० वटा अन्तर्राष्ट्रिय कम्पनी ग्लोबल टेन्डरको प्रतिस्पर्धामा सहभागी भएका छन् ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार बोलपत्रमा सहभागी हुन अन्तिम पटक उपलब्ध गराइएको अवधिसम्ममा नेपाली कम्पनीको सहकार्यमा १० वटा विदेशी कम्पनी प्रतिस्पर्धामा सहभागी भएका छन् ।

बोलपत्रमा ६ वटा चिनियाँ कम्पनी, ३ वटा भारतीय कम्पनी र एउटा टर्कीको कम्पनीले नेपाली कम्पनीको जोइन्ट भेन्चर (जेभी) मा प्रतिस्पर्धामा सहभागी भएका छन् । यो प्रतिस्पर्धामा जापानको तर्फबाट कुनै पनि कम्पनी सहभागी भएका छैनन् ।

आयोजनाले अन्तिम पटक पुस १६ गते १४ दिनको म्याद थप गरी पुस ३० गते बोलपत्र खोल्ने अवधि तोकेको थियो । सर्भिस प्रोभाइडर छनोटका लागि आयोजनाले पुस २ गते बोलपत्र खोल्ने गरी गत कात्तिक १६ गते अन्तर्राष्ट्रिय बोलपत्रको टेन्डर आह्वान गरेको थियो ।

निर्धारित समयमा प्रतिस्पर्धामा थोरै कम्पनी सहभागी भएकाले इच्छुक कम्पनीहरूको आग्रहमा बोलपत्रको अवधि १५ दिन थप गरी पुस १६ गतेसम्मका लागि म्याद थपिएको थियो ।

पन्थीका अनुसार पुस ३० गते खोलिएको टेन्डरको बोलपत्र अनुसार भारतीय कम्पनीतर्फ सेगमेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सहकार्यमा नेपाली कम्पनी स्वच्छन्द निर्माण सेवा प्राइभेट लिमिटेड, टनेलटेक सोलुसन प्राइभेट लिमिटेडको सहकार्यमा नेपाली कम्पनी बाबरी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड र इल्सामेक्स मेन्टिनेन्स सर्भिस लिमिटेडको सहकार्यमा नेपाली कम्पनी पशुपति शिवाजी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड प्रतिस्पर्धामा सहभागी भएका छन् ।

यस्तै चिनियाँ कम्पनीतर्फ गन्सु हेङ्गटङ रोड एण्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी काष्ठमण्डप कन्स्ट्रक्सन प्राइभेट लिमिटेड, सान्सी रोड एण्ड ब्रिज ग्रुप कर्पोरेशन लिमिटेडको सहकार्यमा नेपाली कम्पनी ब्राइट बुल निर्माण सेवा र जियाङ्सी टियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी डाँफे कन्स्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड प्रतिस्पर्धामा ओर्लेका छन् ।

यस्तै चिनियाँ कम्पनीतर्फ चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी समानान्तर निर्माण सेवा प्राइभेट लिमिटेड, चोङ्गक्विङ्ग युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन र रान्केन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनीको सहकार्यमा नेपाली कम्पनी भेदान्सी इन्फ्रास्ट्रक्चर लिमिटेड प्रतिस्पर्धामा सहभागी भएका छन् ।

यस्तै टर्कीको अल्टीनोक कन्सल्टिङ इन्जिनियरिङ कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी कुमार श्रेष्ठ निर्माण सेवा प्राइभेट लिमिटेड र भागेश्वरी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड संयुक्त रूपमा प्रतिस्पर्धामा सहभागी भएको पन्थीले जानकारी दिए ।

जापानका उच्च अधिकारीहरू यो सुरुङमार्गको सञ्चालन तथा मर्मत सम्भारका लागि आवश्यक पर्ने सर्भिस प्रोभाइडरको जिम्मेवारी चिनियाँ कम्पनीले नपाओस् भनेर अधिकतम प्रयासका साथै दबाब दिएका थिए ।

यसका लागि नेपालका लागि जापानी राजदूत म्यादा तोरुले पछिल्लो समयमा सर्भिस प्रोभाइडरको जिम्मेवारी चिनियाँ कम्पनीले नपाऊन् भन्दै अर्थ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च तहका अधिकारीहरूलाई चर्को दबाब दिएका थिए ।

सर्भिस प्रोभाइडरको जिम्मेवारी पाउनका लागि चीनको चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनी र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनले पनि आवेदन हाल्ने चासो देखाएपछि जापानी अधिकारीहरूले सकेसम्म चीन सरकारको स्वामित्वमा भएका सरकारी कम्पनीले जिम्मेवारी नपाऊन् भनेर औपचारिक-अनौपचारिक रूपमा दबाब सिर्जना गर्दै आएका थिए ।

यसका साथै जापानी अधिकारीहरूले विश्व बैंक र एसियाली विकास बैंकको कालो सूचीमा परेका कम्पनीलाई समेत सर्भिस प्रोभाइडरको जिम्मेवारी दिन नहुने धारणा राखेको मन्त्रालयका ती अधिकारीले जानकारी दिएका थिए । जापानको दबाब आए पनि आयोजनाले सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको कानूनी व्यवस्थाअनुसार क्राइटेरियाभित्र रहेर इच्छुक चिनियाँ कम्पनीलाई पनि प्रतिस्पर्धामा सहभागी गराएको छ ।

पन्थीका अनुसार अबको २२ दिनमा प्राप्त भएका १० वटै कम्पनीको आशयपत्र मूल्याङ्कन गर्ने काम हुन्छ । त्यसपछि १५ दिनमा आशयपत्रको टेक्निकल र फाइनान्सियल विवरणको बारेमा अध्ययन हुनेछ । अध्ययनपश्चात् ७ दिने आशयपत्र सम्बन्धी सूचना प्रकाशित गरी अन्तिममा १५ दिने सम्झौता गर्न सूचना प्रकाशित हुनेछ ।

‘यस्ता सम्पूर्ण प्रक्रिया सम्पन्न हुनका लागि कम्तीमा ६० दिनको समय लाग्न सक्छ, त्यसपछि पूर्वाधार निर्माण सम्बन्धी केही बाँकी टुङ्ग्याएर आगामी अप्रिलदेखि उक्त सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा ल्याउने हाम्रो तयारी छ,’ पन्थीले जानकारी दिए।

आयोजनाका अनुसार निर्माणको क्रममा केही संरचनाको निर्माण कार्य बाँकी रहेकाले २०२६ अप्रिलसम्म म्याद थप गरिएको छ । धादिङतर्फको प्रवेशद्वार (सिस्नेखोला) नजिकै पटक-पटक नयाँ पहिरो खसेर प्रवेशद्वारमा क्षति पुर्‍याएको र उक्त स्थानमा टोल गेट प्लाजासहित पहुँचमार्ग समेत निर्माण गर्न बाँकी रहेकाले ६ महिनाको म्याद थप गरिएको हो ।

उनका अनुसार म्याद थप भएको अवधिमा पहिरो नियन्त्रणका लागि आवश्यक पर्ने एङ्करहरू नेपालमा उपलब्ध नभएकाले भारतबाट आउने प्रक्रिया सुरु भएको छ । ती सामानहरू आइसकेपछि पहिरो नियन्त्रणको काम सुरु भएसँगै पश्चिमतर्फको टोल गेटको निर्माण कार्य पनि सम्पन्न गरिनेछ । सुरुङमार्गको पूर्वतर्फको टोल गेटको निर्माण सम्पन्न गरी परीक्षण समेत भइसकेको पन्थीले जानकारी दिए ।

यो सुरुङमार्ग अन्तर्गत दुईवटा टनेल निर्माण भएका छन् । जसअनुसार आपत्कालीन उद्धारमा प्रयोग गर्नका लागि २ हजार ५ सय ५७ मिटर लामो सहायक आपत्कालीन सुरुङमार्ग (इभाक्युसन टनेल) र सवारी साधन ओहोरदोहोर गर्न २ हजार ६ सय ८८ मिटर दूरी र ३.५ मिटर चौडाइ भएको दुई लेनको मुख्य सुरुङमार्ग (मेन टनेल) निर्माण गरिएको छ ।

मुख्य सुरुङमार्गसँगै समानान्तर रूपमा निर्माण भएको आपत्कालीन सुरुङमा ७ वटा क्रस प्यासेज (इन्ट्री गेट) निर्माण भएका छन् । मुख्य सुरुङमार्गमा सवारी साधन ओहोरदोहोर गर्दा हुने भवितव्य दुर्घटना, गाडी बिग्रने र समस्यामा पर्ने यात्रुलाई उद्धार गर्नका लागि समानान्तर रूपमा यो सुरुङ निर्माण गरिएको हो ।

मुख्य सुरुङमार्गभन्दा २० मिटरको दूरीमा देब्रेतर्फ समानान्तर रूपमा निर्माण भएको आपत्कालीन सुरुङमार्ग साढे चार मिटर चौडाइ र ५ मिटर उचाइको छ । यो सुरुङमार्गलाई मुख्य सुरुङमार्गसँग जोड्न ३ सयदेखि ३ सय ५० मिटरको दूरीमा क्रस प्यासेज निर्माण गरिएको छ । सुरुङमार्ग प्रयोग गरी ओहोरदोहोर गर्ने सवारी साधनको हकमा सरकारले टोल गेट (उपभोग दस्तुर) समेत तोकिसकेको छ ।

नागढुंगा सुरुङमार्ग २२ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको छ । यसमध्ये १६ अर्ब रुपैयाँ जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

सडक विभागले हाजमा–एन्डो कर्पोरेशनसँग २०१९ सेप्टेम्बर २३ मा ठेक्का सम्बन्धी सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेक्का पाएको ४२ महिना (२०२३ अप्रिल २५) मा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

पन्थीका अनुसार सरकारले यसअघि दुई पटक म्याद थप गरेको थियो । पहिलो पटक १ वर्ष र दोस्रो पटक १८ महिनाको म्याद थप गरी निर्माण सक्ने अवधि अक्टोबर २५ तारिख (२०८२ कात्तिक ८ गते) तोकेको थियो ।

कोभिडकाल, स्थानीय बासिन्दाको पटक-पटकको अवरोध, अघिल्लो वर्ष क्रसर उद्योग बन्द, भौगोलिक जटिलता लगायतका कारण पहिलो पटक २०८० साउन ४ गते (२०२३ जुलाई २०) मा १ वर्षको र २०८० चैत १२ गते (२०२४ अप्रिल २५) मा दोस्रो पटक १८ महिना म्याद थप भएको थियो ।

अन्तिम पटक थप भएको समयभित्र निर्माण कार्य सकेर, सञ्चालन–व्यवस्थापन कम्पनी छनोट गरी पुसभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने योजना सडक विभागले बनाए पनि थप भएको भेरिएसनका कारण अब भने अप्रिलदेखि सञ्चालन गर्ने गरी सडक विभागले तयारी गरेको छ ।

सञ्चालन गर्न ४० करोड रुपैयाँ लाग्ने
पन्थीका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नियमित रुपमा सञ्चालन गर्न वार्षिक सञ्चालन लागत खर्च करिब ४० करोड रुपैयाँको हाराहारीमा हुनेछ ।

यो लागत खर्चमध्ये अधिकाँश खर्च दक्ष जनशक्ति व्यवस्थापन र बिजुलीमा खर्च हुनेछ । सुरुङ मार्गमा नियमित रुपमा कम्तिमा २ मेगावाट क्षमताको बिजुली खपत हुने आधारमा बिजुलीमा पनि खर्च धेरै हुने उनको भनाइ छ ।

‘अहिले हामीसँग । सुरुङमार्गमा काम गर्ने दक्ष नेपाली जनशक्ति छैनन, यसका लागि हामी अहिले विदेशी जनशक्तिलाई प्राथमिकतामा राखेका छौं, विदेशी जनशक्तिको सहयोगमा नेपाली जनशक्ति तयार गर्छौ,’ पन्थीले भने, ‘विदेशी जनशक्ति राख्नुपर्ने भएकाले सुरुको केही बर्षमा जनशक्ति खर्च केही बढि हुनेछ । नेपाली जनशक्ति तयार भएपनि यो खर्च विस्तारै घट्दै जानेछ ।’