नागढुङ्गा सुरुङ ‘ब्रेक थ्रु’: सवारी कहिलेबाट चल्न पाउँछन्, केके छन् बाँकी काम ?



काठमाडौं । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको आज ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सुरुङ मार्गको ब्रेक थ्रु कार्यक्रममा सहभागी भएका थिए ।

जापानी सहयोग नियोग जाइकाको ऋण सहयोगमा बनिरहेको सुरुङ मार्ग निर्माणको ठेक्का जापानको हाजमा एण्डो कर्पोरेशनले ठेक्का पाएको हो । त्यसैले हिन्दू र जापानी संस्कृति अनुसार विशेष पूजा गरि व्लास्ट गरेर मुख्य सुरुङमार्गको जोडिएको छ ।

सुरुङ मार्गमा करिब १ सय नेपाली इन्जिनिय र २ सय बढी कामदार खटिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ कात्तिकमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु गरिएको थियो ।

ब्रेक थ्रु गर्नका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको थियो । कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ मार्गमध्ये २ हजार ६ सय ८६ मिटर खन्ने काम यसअघि नै सकिएको र २ मिटर मात्रै खन्न बाँकी राखिएको थियो ।

यहि २ मिटर क्षेत्रलाई ब्लास्ट गरेर सुरुङमार्गको पूर्व नागढुंगा र पश्चिम सिस्नेखोलातर्फबाट एकआपसमा मुख जोडिएको हो ।

ब्रेक थ्रु भए पनि तत्कालै सवारी साधनले सुरुङको प्रयोग गर्न भने पाउने छैनन् । सुरुङ र बाहिरी संरचनामा विभिन्न प्रकारका निर्माणको काम सकिए पछि मात्र सवारी साधन चल्न सक्ने हुने छ । त्यसका लागि १ वर्ष भन्दा लामो समय लाग्ने आयोजनाका प्रमुख नविनमान श्रेष्ठ बताउँछन् ।

मुख्य सुरुङमार्गमा छुटेका एक/दुई स्थानमा लाइनिङ्ग कंक्रिट(मुख्य सुरुङमार्ग भित्रको माथिल्लो भाग) काम पनि धमाधम भइरहेको छ । माथिल्लो भागको लाइनिङ्ग कंक्रिटको काम सम्पन्न भएपछि तल्लो भागमा ३० सेन्टिमिटर मोटाइको इनविल्ट (ढलान) गर्ने काम सुरु हुनेछ । यस्तै आपतकालीन सुरुङभित्रको बाटोमा पनि यहि मोटाइको क्रंक्रिट ढलान गरिनेछ ।

मुख्य सुरुङमार्गको भित्री भागमा कालोपत्रेको स्थानमा बाक्लो ढलान हुनेछ । कालोपत्रे चाँडै भत्किने भएकाले ढलान गर्न लागिएको सापकोटाले बताए । ढलानसँगै दायाँ वायाँ भागमा पहिलेदेखि तयार पारिएको ढलसमेत जडान गरिनेछ ।

मुख्य सुरुङमार्गमा अगाडिको भाग (टोलगेट) देखि गुर्जुधारास्थित नेपाल टेलिकमको कार्यालयसम्म जोड्ने गरी सुरुको फ्लाईओभरको भागलाई जोडन करिब ५ किलोमिटर लामो कालोपत्रे सडक निर्माण भइरहेको छ ।

कुल ७ मिटर चौडाई भएको यो सडकमा २० सेन्टिमिटरभन्दा बाक्लो हुने गरी कालोपत्रे ओछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ । यो सडक साढे तीन–साढे तीन मिटरको गरी दुई लेनको निर्माण भइरहेको छ ।

सुरुङमार्ग छेड्ने काम सम्पन्न भएपनि भेन्टिलेसन, लाइटिङ्ग, सेफ्टीका बिषयमा पूर्वाधार निर्माणलगायतका कामहरु क्रमिक रुपमा सम्पन्न हुनेछ ।

त्यसपछि मात्रै यो सुरुङमार्गमार्फत सवारी साधन ओहोरदोहोर गर्न पाउने सुविधा प्राप्त हुनेछ ।

अहिले फ्लाई ओभर, एक्सेस रोड निर्माण तथा कालोपत्रे, लाइनिङ्ग कंक्रिट फिनिसिङ्गको काम तिव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । एउटा रहेको फ्लाई ओभरको काम पनि आगामी ५ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो फ्लाईओभरबाट सुरुङमार्गसम्म पुग्ने २.३० किलोमिटर दूरीको दुई लेनको सडकमा ग्राभेल र कालोपत्रे गर्ने काम पनि सँगसँगै भइरहेको छ ।

यसैगरी वर्किङ्ग अडिट, क्रस प्यासेजको काम सतप्रतिशत सम्पन्न भइसकेको छ । यस्तै लक्ष्यअनुसार ३ वटा अन्डरपास, ४ वटा वक्स कल्भर्ट (माथि गाडी गुड्ने र तल पानी बग्ने संरचना), १ ओभरपास, ३ पुलको निर्माण सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत १२ योजनामध्ये अहिलेसम्म ११ वटा संरचना तयार भएको छ ।

सुरुङमार्ग ब्रेक थ्रु भइसकेपछि सुरुङभित्रको सडक ढलान पनि गर्न पर्नेछ । त्यस्तै सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने उपकरण जडान, रेस्क्यु सेन्टर निर्माण, कन्ट्रोल सिस्टम जडान, टेलिफोन जडान, लाइट जडान, तापक्रम मिलाउने उपकरण जडानलगायतका दर्जनौं प्राविधिक काम गर्न बाँकी छ ।

श्रेष्ठका अनुसार यस्ता सम्पुर्ण निर्माण कार्य सम्पन्न भएपछि बल्ल सुरुङलाई सञ्चालन योग्य (स्टेबल) बनाउन थप न्यूनतम ६ महिना समय लाग्छ ।

उनकाअनुसार मुख्य सुरुङमार्गमा छुटेका एक÷दुई स्थानमा लाइनिङ्ग कंक्रिट(मुख्य सुरुङमार्ग भित्रको माथिल्लो भाग) काम पनि धमाधम भइरहेको छ ।

माथिल्लो भागको लाइनिङ्ग कंक्रिटको काम सम्पन्न भएपछि तल्लो भागमा ३० सेन्टिमिटर मोटाइको इनविल्ट (ढलान) गर्ने काम सुरु हुनेछ । यस्तै आपतकालीन सुरुङभित्रको बाटोमा पनि यहि मोटाइको क्रंक्रिट ढलान गरिनेछ ।

मुख्य सुरुङमार्गको भित्री भागमा कालोपत्रेको स्थानमा बाक्लो ढलान हुनेछ । कालोपत्रे चाँडै भत्किने भएकाले ढलान गर्न लागिएको सापकोटाले बताए । ढलानसँगै दायाँ वायाँ भागमा पहिलेदेखि तयार पारिएको ढलसमेत जडान गरिनेछ ।

मुख्य सुरुङमार्गमा अगाडिको भाग (टोलगेट) देखि गुर्जुधारास्थित नेपाल टेलिकमको कार्यालयसम्म जोड्ने गरी सुरुको फ्लाईओभरको भागलाई जोडन करिब ५ किलोमिटर लामो कालोपत्रे सडक निर्माण भइरहेको छ ।

कुल ७ मिटर चौडाई भएको यो सडकमा २० सेन्टिमिटरभन्दा बाक्लो हुने गरी कालोपत्रे ओछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ । यो सडक साढे तीन–साढे तीन मिटरको गरी दुई लेनको निर्माण भइरहेको छ ।

दुवैतर्फको टनेल अपरेशनल बिल्डिङ्ग नजिकै टोलगेट निर्माण हुनेछ । टोलगेटसँगै २४ सैं घन्टा सुरक्षाकर्मी, आपतकालीन समयको लागि प्राथमिक चिकित्सकको टोली, एम्बुलेन्स, टनेल प्रविधिसम्बन्धी प्राविधिक कर्मचारीलगायतको उपस्थिति रहनेछ ।

मुख्य सुरुङमार्ग भित्र भने ६० किलोमिटरको गतिमा मात्रै सबारी साधन गुडाउन पाइनेछ । यो सुरुङमार्ग पार गर्न ३ मिनेटको समय लाग्नेछ ।

दुई लेनको सुरुङमार्ग पनि वन वे हुनेछ । यसका साथै नागढुङ्गाबाट काठमाडौं आउने अहिलेको बाटो पनि वन वे हुनेछ । काठमाडौंबाट नागढुङ्गा जाने बाटो पनि वन वे बनाइने तयारी भएको छ ।

सम्पूर्ण रुपमा निर्माण सम्पन्न भइसकेपछि १ बर्षसम्म हुने मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी ठेक्केदार कम्पनीले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

सुरुङमार्ग प्रयोग गर्न पैसा तिर्नुपर्ने, दुई पांग्रेलाई प्रवेश निषेध

आयोजनाका अनुसार सर्वसाधारणले मुख्य सुरुङमार्ग निःशुल्क रुपमा प्रयोग गर्न भने पाउने छैनन् ।

काठमाडौं तराई द्रुतमार्ग प्रयोग गरेवापत सर्वसाधारणले केहि शुल्क तिर्नुपर्ने मोडालिटीजस्तै यो सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले भने केहि शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

‘यो सुरुङमार्ग प्रयोग गर्दा प्रयोगकर्ताले निश्चित केहि शुल्क तिर्नु पर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘कति रकम तिर्नुपर्छ भनेर अहिले टुङ्गो लागेको छैन । यो बिषयमा कति तौलसम्मको सबारी साधनबाट कति शुल्क लिने भन्ने बिषयमा विभिन्न मोडालिटीमा अहिले छलफल नै भइरहेको छ । टुङ्गो लागेपछि शुल्क तोकिनेछ ।’

सुरुङमार्गबाट यात्रुवाहक, सामान्य तौलको ट्रक, कार र जीप मात्रै यो सुरुङमार्गमा प्रवेश गर्न पाउनेछ । त्यो पनि सिस्नेखोला र चन्द्रागिरीतर्फको मुखमा निर्माण हुने टोलगेटले सवारी साधनको तौल र उचाँई परीक्षण गरेर तोकिएको निश्चित तौल र उचाँईको आधारमा मात्रै प्रवेश गर्न पाउनेछन् ।

सोहि तौल र उचाइको आधारमा शुल्क निर्धारण गरिनेछ । यो सुरुङमार्गमा पेट्रोल, डिजेल र ग्यास बोकेको ट्याँकर र बुलेट, दुई पाँग्रे सवारी साधनलाई भने प्रवेश गर्न नदिने गरि प्रवेश निषेधको व्यवस्था हुनेछ ।

‘मुख्य सुरुङमार्गबाट बस र सामान्य ट्रक गुडाउनका लागि निश्चित तोल र उचाइको मापदण्ड तोकिनेछ,’ श्रेष्ठले भने, ‘त्यो मापदण्डभित्र पर्ने बस र ट्रक मात्रै सुरुङमार्गबाट ओहोर दोहोर गराउन पाइनेछ । हेभिवेट भएको ट्रकलाई पनि प्रवेश गर्न निषेध गरिनेछ ।’ यसबाहेक सुरक्षालाई ध्यानमा राख्दै यो सुरुङमार्गमा घुम्नका लागि पनि प्रतिबन्ध लगाइने तयारी छ ।

आपातकालीन समयमा उद्दार गर्न यस्तो व्यवस्था

मुख्य नागढुङ्गा सुरुङमार्गसँगै सामानान्तर रुपमा निर्माण भएको आपातकालीन सुरुङमा सातवटा क्रस प्यासेज (इन्ट्री गेट) निर्माण भएको छ ।

मुख्य सुरुङमार्गमा सवारी साधन ओहोरदोहोर गर्दा हुने भवितव्य दुघर्टना, गाडी बिग्रने र समस्यामा पर्ने यात्रुलाई उद्दार गर्नका लागि समानान्तर रुपमा यो सुरुङ निर्माण गरिएको हो ।

मुख्य सुरुङमार्गभन्दा २० मिटरको दूरीमा देब्रेतर्फ सामानान्तर रुपमा निर्माण भएको आपातकालीन सुरुङको कुल लम्बाई २ किलोमिटर ५६ मिटर छ ।

साढे चार मिटर चौडाई र ५ मिटर उचाइ भएको यो सुरुङलाई मुख्य सुरुङमार्गसँग जोड्न ३ सयदेखि ३ सय ५० मिटरको दूरीमा क्रस प्यासेज निर्माण गरिएको छ ।

मुख्य सुरुङमार्गको भित्रि भाग भने १० मिटर चौडाइ र १२ मिटर अग्लो छ । फिनिसिङ्ग भएपछि चौडाई ९ मिटरमा झर्नेछ ।

आपतकालीन सुरुङको दायाँवायाँ र माथिल्लो भागमा पातलो ढलान गरिएको छ भने मुख्य सुरुङमार्गमा भने बाक्लो ढलान गरेर फलामे पाताले छाएकोजस्तै बनाइएको छ ।

मुख्य सुरुङमार्गमा कुनै भवितव्य घटना (दुघर्टना, यात्रु बिरामी, आगलागीलगायतका घटना) भएको अवस्थामा यहि ७ वटा क्रस प्यासेजमार्फत उद्दार टोली भित्र प्रवेश गर्ने छ ।

जोखिममा परेका सवारी साधन र यात्रुलाई उद्दार गर्ने तथा आगलागी भएको अवस्थामा आगो नियन्त्रण गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

सुरुङमार्गमा आगो नियन्त्रण गर्न फायर हाइड्रेन्ट पनि निर्माण भइरहेको छ । फायर हाइड्रेन्ट ओछ्याइएको पाइपको अहिले विभिन्न चरणमा परीक्षण गर्ने काम भइरहेको छ ।

यो भित्र पर्याप्त परिमाणमा अक्सिजन ओहोर दोहोर गर्ने गरी प्राविधिक कामलाई पनि तिव्रता दिइएको सहायक आवासीय इन्जिनियर असिम घिमिरेले जानकारी दिए ।

मुख्य सुरुङ मार्गभित्रमा केही दूरीको फरकमा खानेपानी, बत्ति, टेलिफोनको व्यवस्थाका साथै निगरानी राख्न सीसी क्यामेराको पनि व्यवस्था हुनेछ ।

उपचारको लागि सशस्त्रको अस्पताल

उद्दार गरिने यात्रुलाई तत्कालै सबैभन्दा नजिकको सुविधा सम्पन्न सतुङ्गलस्थित शसस्त्र प्रहरी बलको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ ।

सडक विभागले डेडिकेटेड होस्पिटलको रुपमा उक्त अस्पतालसँग सहकार्य गरेको छ ।

कति छ लगानी ?

आयोजनाका अनुसार सन् २०१६ मा जापानको जाइकासँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो ।

यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । पछिल्लो समयमा स्थानीयबासीको आन्दोलन र कोभिडकालमा अवरुद्ध भएकाले लागत खर्च करिब ४ देखि ५ अर्ब बढ्ने सक्ने औल्याइएको छ ।

जापानको हाजमा एण्डो कर्पोरेशनले ठेक्का पाएको यो आयोजना सम्झौता भएको मितिदेखि ४२ महिनामा (२०२३ अप्रिल २५) मा सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको थियो । तर कोभिड र स्थानीय बासिन्दाको आन्दोलनका कारण यसको निर्माण समय थप भएर अहिले २०२४ अप्रिल २४ तोकिएको छ ।

सडक विभाग र कम्पनीबीच सन् २०१९ सेप्टेम्बर २३ मा ठेक्का सम्झौता भएको थियो ।


राजेश बर्मा